काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक खारेजलगायतका माग गर्दै प्रदेश ३ को प्रदेश सभामा विरोध जनाएपछि प्रदेश सभा बैठक स्थगित भएको छ। डा गोविन्द केसीको मागलाई सम्बोधन गर्नुपर्ने, हालको चिकित्सा शिक्षा विधेयक खारेज गरी देउवा सरकारले ल्याएको विधेयक जस्ताको तस्तै पारित गर्नुपर्नेलगायतका माग राख्दै कांग्रेसले संसद अवरुद्ध गरेको प्रदेश सभा सदस्य निमा लामाले जानकारी दिए।
प्रदेश सभा सदस्य लामाका अनुसार विहिबार दिउँसो २ बजे बैठक शुरु भएलगतै विशेष समय लिएर प्रमुख प्रतिपक्षी दल संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले संघीय र प्रदेश सरकार अधिनायकवादी प्रवृतितर्फ उन्मुख भएकोले संसद चल्न नसक्ने बताएका थिए। उनले ३ नम्बर प्रदेश भुकम्प प्रभावित प्रदेश भएपनि प्रदेश सरकारले केही सम्बोधन गर्न नसकेको, संविधान विपरित सभामुख र उपसभामुख एकै दलको भएको, महंगी बढ्दा पनि सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै सदन अवरुद्ध हुने बताएका थिए।
कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालालाई क्यानडामा जान नदिएको र डा भोजराज अधिकारीलाई अपहरणशैलीमा मन्त्रालय लगिएकोप्रति तीव्र विरोध जनाएको थियो।
त्यस लगतै कांग्रेसका प्रदेश सभा सदस्यहरू उठेर अवरुद्ध गरेपछि सभामुख सानूकुमार श्रेष्ठले प्रदेश सभा भोलि ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे। बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दिपक निरौलाले अध्ययन प्रतिवेदन सभामा प्रस्तुत गर्ने, मूख्यमन्त्री तथा मन्त्रिपरिषदको सेवा तथा सुविधासम्बन्धी विधेयकमा प्रदेश मामिला समितिले बनाएको प्रतिवेदन समितिका सभापति माधवप्रसाद पौडेलले सभामा प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो।