PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नक्कली सुनमा सक्कली ठगी



नक्कली सुनमा सक्कली ठगी

काठमाडौं: राजधानीमा केही समयदेखि नक्कली सुन देखाई ठगी गर्ने गिरोह सक्रिय भएको खुल्न आएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंले बिहिवार नक्कली सुन देखाई ठगी गर्ने तीन जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका २३ वर्षीय राज लामा तामाङ, नुवाकोटका २६ वर्षीय म्लाङसिङ लामा र सोलुखुम्बुका टासी लाक्पा शेर्पा रहेका छन्।

उनीहरुले विभिन्न व्यक्तिलाई बजार भाउभन्दा निकै नै सस्तोमा सुन दिने भन्दै विक्री गरि ठगी गरेर हिड्ने गरेको महाशाखाका एसएसपी विश्वराज पोखरेलले बताए। एसएसपी पोखरेलले भने, 'मानिसलाई सस्तोमा सुन दिन्छु तर चाँडो गर्नु र कतै हल्ला नगर्नु होला भन्दै झुक्कियाएर सुन बेच्ने गरेका छन्। उनीहरुले एक किलो सुन २० लाख देखि ३० लाखसम्म बेच्ने गरेको खुलेको छ। 

बजारमा एक किलो सुनको मूल्य ४५ लाख रुपैयाँ भन्दा बढी पर्छ। प्रहरी नियन्त्रणमा रहेका लामा पहिले पनि कैद सजाय भुक्तान गरेर निस्किएका हुन्। उनीहरुले काठमाडौं अन्यलाई समेत ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

गत वैशाख २८ गते अपराध महाशाखाबाट खटिएको टोलीले रामेछापका २५ वर्षीय दीपेन्द्र बराइली र सिन्धुपाल्चोकका २७ वर्षीय रमेश बैजुलाई नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा पक्राउ गरेको थियो।

उनीहरूले सात किलो सुन ८० लाख रुपैयाँ दिने भन्दै एक व्यक्तिलाई ठगी गर्ने योजना बनाएका थिए। जबकि सक्कली सात किलो सुनको बजार मूल्य ३ करोड भन्दा बढी हुन आउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell