काठमाडौँ: ट्याक्सी चालकहरूले यात्रुलाई ठगी गरेको गुनासो आउन थालेपछि ट्राफिक प्रहरीले कारबाहीमा तीव्रता दिएको छ।
आइतवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र कार्यरत ट्राफिक प्रहरीलाई यात्रुको गुनासो आउने बित्तिकै कारबाही गर्न निर्देशन दिएको हो। एसएपी पन्त भन्छन् 'यात्रुको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने भनेको छु। ट्याक्सी चालकले भनेको ठाउँमा जान नमाने, मनलाग्दी भाडा असुले तत्काल कारवाही गर्छौ।'
ट्राफिक प्रहरीले यात्रुहरूलाई नजिकैको ट्राफिक, कार्यालय वा ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गर्न समेत अनुरोध गरेको छ। सेवाग्राही आफू ठगिए पनि प्रहरीमा खबर नगर्ने बानी भएकाले कारबाही गर्न समेत समस्या परेको एसएसपी पन्थले बताए। उनले भने,' यात्रु ठगिएको भन्दै उजुरी आए अब तत्काल कारबाही गर्छौँ।'
विमानस्थलमा सिभिल प्रहरी परिचालन
त्रिभुवन विमानस्थलमा ट्याक्सीहरूले विदेशबाट आएका व्यक्तिलाई ठगी गर्ने गरेको देखिएपछि विमानस्थलमा सिभिल ट्राफिक प्रहरी परिचालन गरिएको छ। विमानस्थलमा ट्याक्सी चालकहरूले मिटरमा जान नमान्ने र बढी भाडा उठाउने गरेको छन्।
सिभिल प्रहरीले दैनिक ५ देखि ८ जना ट्याक्सी चालकलाई कारबाही गरिरहेको एसएसपी पन्तले बताए। उनले भने,' एयरपोर्ट, हस्पिटल लगायतका क्षेत्रमा विशेष प्रहरी परिचालन गरेका छौँ।'