PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालले खेल्ने ऐतिहासिक एकदिवसीय क्रिकेटको बारेमा थाहा पाउनुस् सम्पूर्ण जानकारी



गोविन्दराज नेपाल

नेपालले खेल्ने ऐतिहासिक एकदिवसीय क्रिकेटको बारेमा थाहा पाउनुस् सम्पूर्ण जानकारी

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको २२ वर्षपछि नेपालले पहिलो पटक आइसीसीको मान्यता प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्दैछ।

नेपालको लागि धेरै अर्थमा यो ऐतिहासिक हुनेछ। गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकपमा एसोसिएटतर्फ उत्कृष्ट तीनभित्र पर्दै नेपालले आगामी चार वर्षको लागि एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको हो।

त्यसको साढे दुई महिनापछि नेपालले युरोपियन राष्ट्र नेदरल्याण्ड्ससँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने अवसर पाएको हो। अब नेपाल त्यसको नजिकै पुगेको छ।

उता सन् २०१४ मा भएको एकदिवसीय विश्वकप छनोटमा सातौँ भएपछि एकदिवसीय मान्यता गुमाएको नेदरल्याण्ड्सले २०१५-१७ को विश्व क्रिकेट लिग चेयाम्पियनसीपको उपाधि जित्दै पुन: एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो।

सन् २०१४ जनवरी २८ मा क्यानडासँग खेलेपछि नेदरल्याण्ड्सका लागि पनि यो पहिलो एकदिवसीय खेल हुनेछ। नेदरल्याण्ड्सले साढे ४ वर्षपछि नेपाल विरुद्धको खेलमार्फत् नै एकदिवसीय अन्तर्राष्ट्रियमा पुनरागमन गर्दैछ।

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुअघि नेपालले बेलायत भ्रमण गर्दै चार अभ्यास म्याच सहित क्रिकेटको मक्का मानिने लर्ड्स क्रिकेट मैदानमा समेत खेलिसकेको छ।

लर्ड्समा नेपाल, एमसीसी र नेदरल्याण्ड्सबीच एमसीसी टी-२० त्रिकोणात्मक श्रृखंला भएको थियो। जहाँ आइसीसीको टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल र नेदरल्याण्ड्सबीचको खेल भने वर्षाका कारण पूरा हुन पाएन। नेदरल्याण्ड्सले १६.४ ओभरमा १७४/४ रन बनाउँदा पानी परेपछि खेल रद्ध भएको हो।

एकदिवसीय खेल खेल्नुअघि दुवै टिमले एकआपसमा खेल्ने अवसर पाएकोले विपक्षी टिमबारे बुझ्न समेत सजिलो भएको छ।

 

नेपाल टुर अफ नेदरल्याण्ड्स २०१८ : ऐतिहासिक एकदिवसीय श्रृखंला

नेपाल विरुद्ध नेदरल्याण्ड्स

मिति : २०१८ अगष्ट १ र ३ बुधवार र शुक्रवार

समय : नेपाली समयअनुसार दिउसो २:२४ बजे

स्थान : भिआरए ग्राउण्ड, आम्सटलभिन, नेदरल्याण्ड्स

 

नेपाल र नेदरल्याण्ड्सबीचको खेलको प्रत्यक्ष प्रसारण कसरी हेर्ने?

नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय श्रृखंला नेपाली क्रिकेट समर्थक र दर्शकले घरमै बसेर टेलिभिजनमा प्रत्यक्ष हेर्न पाउने भएका छन्। नेपालको कान्तिपुर टिभीले नेदरल्याण्ड्समा हुने दुवै खेल प्रत्यक्ष प्रसारण गर्ने जनाइसकेको छ।

यस्तै लाइभब्रोडकास्ट डट एनएलबाट खेल अनलाइनमा लाइभ स्ट्रिमिङ हेर्न सकिने क्रिकेट नेदरल्याण्ड्सले जनाएको छ।

 

हेड टु हेडमा को अगाडि?

चार पटक एकदिवसीय विश्वकप खेलिसकेको नेदरल्याण्ड्ससँग नेपालले ५० ओभरको क्रिकेटमा ५ खेल खेलेको छ। जसमा नेदरल्याण्ड्सले ३ खेल जित्दा नेपालले २ खेल जितेको छ। नेपालले नेदरल्याण्ड्सलाई पछिल्लो पटक २०१५-१७ को विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उसैको मैदानमा पराजित गरेको थियो।

 

२०१४ वर्ल्डकप क्वालिफायर

नेपाल १७१/९ (५० ओभर) नेदरल्याण्ड्स १७२/३ (३१.५ ओभर)

नेदरल्याण्ड्स ७ विकेटले विजयी

 

२०१५ डिभिजन-२

नेदरल्याण्ड्स १५८/१० (४९.५ ओभर) नेपाल १५९/८ (४९.३ ओभर)

नेपाल २ विकेटले विजयी

 

२०१६ डब्लुसिएल

नेपाल ९४/१० (३८.१ ओभर) ९६/३ (१६.५ ओभर)

नेदरल्याण्ड्स ७ विकेटले विजयी

 

२०१६ डब्लुसिएल

नेपाल २१७/९ (५० ओभर) १९८/१० (४८.३ ओभर)

नेपाल १९ रनले विजयी

 

२०१८ वर्ल्डकप क्वालिफायर

नेदरल्याण्ड्स १८९/९ (५० ओभर) १४४/१० (४४.४ ओभर)

नेदरल्याण्ड्स ४५ रनले विजयी

 

प्रभाव पार्न सक्ने खेलाडी

वेस्ले बारेसी (नेदरल्याण्ड्स) : लर्ड्समा भएको टी-२० अन्तर्राष्ट्रिय खेलमा बारेसीले नेदरल्याण्ड्सका लागि सर्वाधिक ४४ रन बनाएका थिए। वर्षाका कारण रद्ध भएको उक्त खेलमा डच टोलीले १६.४ ओभरमा १७४ रन बनाएको थियो। नेदरल्याण्ड्सका लागि २८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका बारेसी अनुभवी खेलाडी समेत हुन्। नेदरल्याण्ड्सका लागि नेपाल विरुद्ध खेल्दा उनी मुख्य खेलाडीको रुपमा रहनेछन्। नेपाली बलरहरु भने उनको विकेट चाँडै लिने योजनामा हुनेछन्।
 

सन्दीप लामिछाने (नेपाल) : नेपाली टोलीमा रहेका युवा खेलाडी। स्टार लेगस्पिनर। १७ वर्षीय सन्दीप आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन्। उनले क्यानडाको ग्लोबल टी-२० लिग समेत खेले। अब क्यारेवियन सुपर लिग (सिपीएल) पनि खेल्नेछन्। सन्दीपले गत जुनमा लर्ड्समै वेष्टइन्डिज विरुद्ध आइसीसी विश्व-११ बाट खेल्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

नामिबियामा भएको डिभिजन ६ र जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा सन्दीपले नेपालको लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। युवा उमेरमै यति धेरै सफलता हात पारिसकेको सन्दीप डच ब्याट्सम्यानका लागि चुनौती बन्न सक्छन्। नेपाली टोली चाहिएको बेला विकेट दिलाउन माहिर छन्। बलिङमा विविधता रहेको सन्दीपलाई अष्ट्रेलियन महान लेगस्पीनर शेन वार्नसँग समेत तुलना गरिएको थियो।

 

नेपाली टोली:

पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, मोहम्मद आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषावकर, सोमपाल कामी, सुवास खकुरेल

डच टोली:

पिटर सिलर (कप्तान), वेस्ले बारेसी, बेन कुपर, बास डे लिड, स्कट एडवार्डस, फ्रेड क्लासेन, स्टेफन माइवर्ग, म्याक्स ओ'डोवड, हिडे ओभरजिक, माइकल रिप्पोन, शेन स्नाटर, डानिएल टेर आराक, पउल भान मिकरेन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell