PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गुगलले चीनका लागि सेन्सर-मैत्री सर्च इन्जिन विकास गर्दै, मानव अधिकारवादीहरुको विरोध



गुगलले चीनका लागि सेन्सर-मैत्री सर्च इन्जिन विकास गर्दै, मानव अधिकारवादीहरुको विरोध
फोटो: AP

बेइजिङ : गुगलले चीनको कठोर सेन्सरसीप नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन्। तर मानव अधिकारवादीहरुले भने गुगलको उक्त कदमको  विरोध गरेका छन्। 

सेन्सरसीप र ह्याकिङ गरिएको भन्दै आठ वर्षअघि चीनबाट गुगल बाहिरिएको थियो। तर नाम नबताउने शर्तमा ती कर्मचारीले “ड्रागनफ्लाई” गोप्य नाम राखिएको परियोजनामा अहिले काम भइरहेको बताएका छन्। 

मानिसले खोजेका कतिपय विषयलाई फिल्टर गर्नेगरी यो परियोजनामा काम हुँदैछ। उक्त इन्जिनलाई कम्पनीको आन्तरिक नेटवर्कमा परीक्षण गर्ने तयारी भइरहेको छ। 

 अमेरिकी सञ्चार माध्यमले बुधबार यससम्बन्धी समाचार प्रकाशन गरेलगत्तै कम्पनीभित्रै चिन्ता व्यक्त गरिएको छ। प्रविधि क्षेत्रमा सफल मानिएको यस कम्पनीले यसै वर्ष अमेरिकी सैनिकसँग सूचना आदानप्रदान गर्नेसम्बन्धी एक करोड डलरको सम्झौतामा हस्ताक्षर गरेको थियो। त्यस सम्झौतालार्इ लिएर कम्पनीमा कार्यरत हजारौं कर्मचारी क्रुद्ध बनेका थिए। तर यस सम्झौतालाई नवीकरण भने गरिएन। 

“कम्पनीभित्र कर्मचारीले चिन्ता व्यक्त गरेका छन्। कतिपय मानिसहरु ज्यादै पागल हुँदैछन्,” एक अधिकारीले बताए। 

गुगलका एकजना प्रवक्ताले यस्तो परियोजना रहे नरहेको बारेमा बताउन चाहेनन्। 'हामीले चीनमा धेरैवटा मोबाइल एप्स बनाइरहेका छौं, जस्तै गुगल ट्रान्सलेट र फाइल्स गो। हामीले चीनका निर्माताहरुलाई मद्दत पनि गरिरहेका छौं र जेडी डट कमजस्ता चीनका कम्पनीमा राम्रै लगानी गरेका छौं। तर हामी भावी योजनाका बारेमा कुनै अनुमान लगाएर टिप्पणी गर्ने स्थितिमा छैनौं।'  प्रवक्ता ताज मिडोजले बताए। 

द इन्टरसेप्ट वेबसाइटले सबैभन्दा पहिले गुगलको यस परियोजनाका बारेमा समाचार प्रकाशन गरेको थियो। यस परियोजना मार्फत गुगलको सहयोग रहेको मोबाइलमा प्रयोग हुने एन्ड्रोइड अपरेटिङ सिस्टम सर्च एप्समा आबद्ध भएको छ। 

इन्टरसेप्टका अनुसार उक्त इन्जिनले मानव अधिकार, लोकतन्त्र, धार्मिक तथा शान्तिपूर्ण प्रदर्शनजस्ता शब्दावलीहरु कालोसूची मा राख्नेछ। चीनको ग्रेट फायरवालले अबरुद्ध गरेका वेबसाइटहरु यो एपले पहिचान र फिल्टर गर्दछ। 

यस योजनाका बारेमा जानकार दुई व्यक्तिको हवाला दिँदै न्यूयोर्क टाइम्सले कम्पनीको प्रस्ताव चीनका अधिकारीहरुले हेरेकै आधारमा गुगलको सेवा चीनमा शुरु हुन लाग्यो भन्न नमिल्ने जनाएको छ। 

एम्नेस्टी इन्टरनेसनलले भने गुगललाई आफ्नो धारणा सच्याउन आग्रह गरेको छ। 'चीनको कठोर सेन्सरसीप नियमलाई यदि गुगलले स्वीकार गर्ने हो भने यो इन्टरनेट स्वतन्त्रतामा कालो दिन ठहरिने छ,' प्याट्रिक पूनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

चीनमा हाल ट्वीटर, फेसबुक र द न्यूयोर्क टाइम्स अखबारका वेबसाइटहरु प्रतिबन्धित छन्। 

सन् २०१० मा गुगलले सेन्सरसीप र ह्याकिङको विवाद पश्चात् चीनबाट आफ्नो सर्च इन्जिन बन्द गरेको थियो । तथापी, चीनमा गुगलको अन्य परियोजनामा ७०० मानिस कार्यरत छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell