PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

भारत र चीन भ्रमण विकासका एजेण्डामा केन्द्रित, तत्काल अर्थमन्त्रीको विकल्प सोचेका छैनौँ- प्रचण्ड



भारत र चीन भ्रमण विकासका एजेण्डामा केन्द्रित, तत्काल अर्थमन्त्रीको विकल्प सोचेका छैनौँ- प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो आसन्न भारत र चीन भ्रमण विकास निर्माणमा केन्द्रित हुने बताएका छन्। भरतपुरस्थित विमानस्थलमा शनिवार पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। 

'अहिले देशको दिशामा केन्द्रित छ। मेरो भारत र चीन भ्रमण पनि यसैमा केन्द्रित हुने छ,' उनले भने,  'विकास निर्माणका गति दिने उद्देश्यले त्यसको निम्ति दुवै छिमेकीबाट अझ राम्रो सकारात्मक ढंगबाट सहयोग जुटाउन तिर नै मेरो भ्रमण केन्द्रित हुने छ।'  

पूर्वप्रधानमन्त्रीसमेत रहेका सत्तारुढ दलका अध्यक्ष प्रचण्डले सरकारको विप्लवहरूलाई दमन गर्ने नीतिमा नरहेको समेत बताए। उनले सरकारले सबैलाई वार्ता र संवादबाट समस्याको समाधानका लागि वार्ता र संवादमा आउन आग्रह गरिरहेको बताए।

'अहिलेको सरकार र पार्टी सबै प्रति उदारताका साथ संवादको बाटो जाने सहमतिको बाटो जाने कुरा अपिल गरिरहेको छ,' उनले भने, 'पार्टी अध्यक्षको हैसियतले के भन्छु भने अहिले वामपन्थी कम्युनिस्टको सरकार छ। सबैसँग सहमति र सहकार्य गर्ने बाटो राखेको छ। सुशासनको विकासलाई मुख्य नारा बनाएको छ। यो अवस्थामा अरू कुनै वितण्डा तिर लाग्नु भन्दा सबै पक्ष खुलस्त ढंगले वार्ता गर्ने संवाद गर्ने सहमति गर्ने तिर आउनुपर्योट। वितण्डा मच्चाएर मान्छेलाई आतंकित पारेर अहिलेको बदलिएको परिस्थितिमा केही हुन्छ भनेर सोच्नु सारै ठूलो अज्ञानता बाहेक केही होइन। 

तत्काल अर्थमन्त्रीको विकल्प खोजेका छैनौँ

यसैबीच अध्यक्ष प्रचण्डले तत्काल अर्थमन्त्रीको विकल्पको बारेमा नसोचिएको बताए। उनले कर वृद्धि, मूल्यवृद्धिका विषयमा जनता र सांसदको चासो भएको भए पनि त्यसलाई सम्बोधन गर्ने उपाय खोजरहेका छौँ। 

'अहिले नै यस विषयमा सोचेका छैनौँ। तर जनताको चासोको सन्दर्भमा चाहे करसँग सम्बन्धित कुरा होस चाहे मूल्यवृद्धिसँग सम्बन्धित कुरा होस। जनताको चिन्ता हामीले सुनेका छौँ,' अर्थमन्त्रीले राम्रोसँग काम गर्न नसकेको भन्दै अर्थमन्त्रीको विकल्प खोजिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले अगाडि भने, 'त्यसलाई सम्बोधन गर्ने उपायहरूको खोजी भइराखेको छ। पार्टी नेतृत्व पनि जनताको सांसदको गुनासो चिन्ता प्रति गम्भीर रूपले समीक्षा गरिराखेका छौँ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell