PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सर्वोच्च अदालतबाहिर मुसा-बिरालोको खेल, छुटेलगत्तै फेरि पक्राउ परे 'प्रकाण्ड'



सर्वोच्च अदालतबाहिर मुसा-बिरालोको खेल, छुटेलगत्तै फेरि पक्राउ परे 'प्रकाण्ड'

काठमाडौँ : बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतको आदेशले नेत्रविक्रम चन्द विप्लव समूहका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई प्रहरीले पुनः पक्राउ गरेको समाचार आइरहँदा उनी सर्वोच्च अदालतभित्रै थिए। 

रिहाको समाचार सार्वजनिक भएको केही मिनटमै महानगरीय प्रहरी परिसरले उनलाई सर्वोच्च बाहिरबाट फेरि समातेको परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले बताए। तर त्यतिञ्जेल उनी पक्राउ परिसकेका थिएनन्। 

प्रहरीको पक्राउबाट बच्न उनी करिब पाँच घण्टा अदालतभित्र बसेका थिए। बाहिर प्रहरी उनलाई पुनः पक्राउ गर्न ढुकेर बसेको थियो। 

सर्वोच्चको आदेशपछि पनि बन्दी छुट्न नसकेको खबर पाएपछि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले आफ्नो गाडीमा राखेर विश्वकर्मालाई निकाल्न प्रयास गर्दा प्रहरीले अवरोध गरेको थियो।

पाठकको गाडीलाई घेरेर प्रहरीले अघि बढ्न दिएको थिएन। अदालतको मूलगेटमा करिब एक घण्टाको रस्साकसी पछि अन्ततः विश्वकर्मा आफै गाडीबाट ओर्लेर प्रहरीलाई पक्राउ दिएका थिए।

'सरकार यस्तो छ जो सर्वोच्चको अादेश पनि मान्दैन। म जान्छु। तपार्इँले जहाँ लगे पनि जान्छाैँ' भन्दै उनी प्रहरीको गाडीमा चढेका थिए।

पुनः पक्राउ परेका विश्वकर्मालाई  काभ्रेमा एनसेलको टावरमा आगजनी गरेको अभियोग रहेको प्रहरीले बताएको छ। काठमाडौँ प्रहरीले विश्वकर्मालाई काभ्रे प्रहरीको जिम्मा लगाउनलाई काभ्रे लैजाने परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले बताए। 

चन्दा असुली गरेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्र बहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सो रिटमाथि सुनुवाई गर्दै सर्वोच्चको फैसलामा भनिएको छ “चन्दा ऐन २०३० को कसुरजन्य कार्य गरेको भन्ने देखिने कुनै उजुरी, जाहेरी वा प्रतिवेदन परेको भन्ने तथ्ययुक्त प्रमाण लिखित जवाफका साथ विपक्षीहरुले पेश गर्न सकेको देखिएन । निवेदकहरुलाई थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कार्यविधिहरु पालना नगरिएको, थुनामा राख्न अनुमति दिंदा के कुन प्रयोजनका निमित्त थुनामा राख्नुपर्ने हो  सो को कुनै आधार र कारण खोली आदेश गरेको नपाइएको समेतका आधार र कारणबाट यी रिट निवेदकहरुलाई काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरी थुनामा राख्नेगरी भएका सम्पूर्ण काम कारवाहीहरु कानून अनुरुप भएको नदेखिंदा निवेदकहरु खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड, हरिचन्द्र आचार्य र मन बहादुर श्रेष्ठलाई थुनामा राख्नेगरि भएका आदेश समेत गैह कानूनी रहेको देखिंदा बन्दप्रत्यक्षीकरणको आदेश हुने ठहर्छ। बन्दी प्रत्यक्षीकरणको आदेश जारी भई आजै गैर कानूनी थुनाबाट रिट निवेदकहरु थुनामुक्त हुने हुँदा निजहरुलाई सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजप्रसाद भट्राईको रोहवरमा छाडी सो को निस्सा समेत राख्नू।”

शुक्रबार न्यायाधीशहरु चोलेन्द्र शम्शेर जबरा र तेज बहादुर केसीको संयुक्त इजलासले खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई छाड्न आदेश दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell