PahiloPost

Sep 23, 2018 | ७ असोज २०७५

बिहेविनै १५ सन्तानकी आमा दीपा, भन्छिन् : अरुसँग मागेर समाजसेवा गर्दिन


स्वेच्छा राउत

बिहेविनै १५ सन्तानकी आमा दीपा, भन्छिन् : अरुसँग मागेर समाजसेवा गर्दिन

कलाकार तथा निर्देशक दीपाश्री निरौलाकी आमाले सधैं भन्ने गर्थिन्- 'छोरी धेरै पढेर सुब्बा बन्छे'।

पढे राम्रो जागिर पाइन्छ भन्ने आशा आमाको जस्तै दीपाको पनि थियो।

सन् १९९० तिरको कुरा हो, दीपाश्री निरौलाले खबर सुनिन्- ‘स्नातक तह दोस्रो* वर्षको परीक्षा आउन लाग्यो। कलाकारितामा केही गर्छु भन्ने अठोट लिएर काठमाडौंमा रहेकी उनी काम थाँती राखेर बिराटनगर पुगिन्, परीक्षाको फर्म भर्न। तर, दुर्भाग्यबस् उनले परीक्षा दिन नपाउने भइन्। कारण थियो, कलेजको मासिक  शुल्क नतिर्नु।  

'कलेजमा तिर्नका लागि मसँग पैसा पनि थिएन। किनकि मैले पैसा कमाएको नै थिइनँ। संघर्ष गर्दै थिएँ। त्यतिखेर आफूसँग केही सय रकम हुनु भनेको ठूलो कुरा थियो। लाग्यो - मैले पढ्नु यतिनै रहेछ,' दीपा अभावका ती दिन सम्झिँदै भन्छिन्, 'काठमाडौंमा काम गर्न बसेकी छोरी। घरमा बुवासँग माग्न पनि मनले मानेन।' 

पैसाको अभावमा परीक्षा दिन नपाएपछि भने उनी महेन्द्र मोरङ कलेज कहिले पनि फर्किनन्। बरु पैसाको महत्व महसुस गरिन्। अभावले निम्त्याउने बाध्यता बुझिन्। फेरि फर्किइन् काठमाडौं।

लगत्तै उनलाई टेलिफिल्म 'अग्निपथ'मा अभिनय गर्ने अवसर आयो। 'हिरोइन' बन्नका लागि काठमाडौं आएकी उनले आँखा चिम्लेर स्वीकार गरिन्। त्यसअघि अवसर पाएकी थिइनन्। सोचिन्- अब भने अभिनय क्षेत्रमै करियर बन्ने भयो, पढ्न नपाएर के भयो त? 

'मैले गलत सोचेकी रहेछु। पढ्न त पर्ने रहेछ। हरेक घटनालाई आफ्नो दृष्टिकोणले हेर्नसक्ने हुन पनि पढ्न पर्ने रहेछ। जिम्मेवारी र अवसरहरु बारे बुझ्न पनि पढ्न पर्नेरहेछ,' दीपा आफ्नो बुझाइ सुनाउँछिन्, ’त्यसैले आजको युगमा कसैले पनि अभावका कारण पढाइबाट वञ्चित हुन नपरोस् जस्तो लाग्छ।‘ 
*** 
दीपालाई आमा सम्बोधन गर्ने १५ जना बालबालिका छन्। उनीहरुलाई पढ्नका लागि आर्थिक सहयोग गर्छिन् दीपा। भन्छिन्, 'मैले उनीहरुलाई आर्थिक मात्र नभएर भावनात्मक साथ पनि दिन कोसिस गरेकी छु। सायद केही हदमा सफल पनि छु। त्यसैले त म आज विवाह नगरी आमा भएकी छु।' 

पहिले पहिले छोरीलाई विवाहका लागि दवाव दिने बुवा तुलसीप्रसाद निरौला पनि भन्न थालेका छन्- विहे गरेको भए मेरी छोरीले एउटा, दुईटा सन्तान जन्माउँथी होला। विहे नगरेर १५ जनाको आमा भई।

आफूले गरेको कामबाट आफ्नाहरु खुशी हुनुले दीपालाई थप उर्जा मिलेको छ। एक दुईजना पढाउन थाल्दा पाएको सकारात्मक प्रतिक्रियापछि त उनले कमाएको कुल रकमबाट कम्तिमा १० प्रतिशत र नियमित बाहेकका कार्यक्रमहरुबाट प्राप्त हुने सबै रकम तिनै छोराछोरीको लागि खर्च गर्ने घोषणा गरिन्। काठमाडौंका अनामनगर, काँडाघारी, सामाखुशी, कलङ्की, बालकुमारी लगायतका विभिन्न ठाउँका फरक फरक स्कूलमा अध्ययनरत छन् उनका छोराछोरी। असल कर्मका लागि सबैको साथ सहयोग मिल्ने उनको विश्वास चरितार्थमा भोगेको बताउँछिन्। ‘अनामनगरस्थित अक्सिडेन्टल स्कूलले त मेरो छोरालाई नि: शुल्क पढाउँदै आएको छ,‘ फुर्तीसाथ उनले सुनाइन्।

*** 
एक समय थियो दीपालाई काठमाडौंमा टिक्न धौंधौं थियो। दाम नकमाउनु फरक कुरा, नाम समेत गुमनाम। 

‘बाच्नै गाह्रो भएपछि अग्निपथमा ससुरा बन्नु भएका मोहनदाश श्रेष्ठलाई फोन गरेर रुँदै व्यथा सुनाएँ,‘ उनले भनिन्।

श्रेष्ठले बोलाएर रेडियो नेपालमा रेडियो नाटक ‘पाहुना’मा काम दिलाइदिए। केही समयपछि बासुदेव मुनालको बाल कार्यक्रममा पनि काम गर्ने मौका पाइन् उनले। ‘रेडियो नाटकबाट ३०० र बाल कार्यक्रमबाट २०० रुपैयाँ नियमित आउन थाल्यो। त्यसपछि त लागेको थियो- अब त काठमाडौं नै किन्दिन्छु।’

उनी फिचर्ड गाउँले फिल्मको ‘गोली सिसाको…’ बोलको गीत नम्बर वानमा आयो भन्ने चर्चा चुलिँदा उनीसँग हेर्नका लागि आफ्नै टिभी थिएन। आफूलाई हेर्न छिमेककोमा धाउनुपर्थ्यो। जब उनले टिभी किनिन् तबसम्म नम्बर वान गीत रिप्लेस भइसकेको थियो। 

दीपाको जीवनमा संघर्षको प्लट केही धिमा चलेको छ। त्यो समाजसँग उनी लडिन्- जसले कलाकारितामा लाग्ने छोरी मान्छेलाई बिग्रेको भन्दिन्थ्यो। त्यसमाथि पनि एक्लै काठमाडौंमा बसेर डट्नु सानो आँट थिएन। एकपटक अभावले सीमा नाघ्दा उनले पलायन हुने बाटो पनि नरोजेकी होइनन्। 

उनले डकुमेन्ट बनाइन् पलायनका लागि।

'नाच्नका लागि दुबई जानेले राम्रो रकम कमाएका थिए। यहाँ कलाकारिता गरेर जीवन बिताउन मुस्किल भइसकेको थियो। त्यसैले विदेशिने निश्चित भयो, ' विगतलाई व्युताउँदा उनका आँखा भरिएका थिए।

तर, उनलाई बुवाले केही वर्ष अझै यही मिहेनत गर्न हौसला दिए। त्यसमाथि फिल्म क्षेत्रकै केहीले दिएको आड भरोसाले साथ दियो। दीपा पनि आशाले हो या आत्मविश्वासले नेपालमै टिकिन्। मेहनत गरिन्, कति कुरा त्यागिन् पनि। त्यागमा पहिलो प्रेम पनि पर्योि। प्रेम टुट्यो, उनी टुटिनन्। 

संघर्षका लागि सानोतिनो भूमिका नभनी फिल्ममा काम गरिन्, रेडियो नाटक गरिन्। स्टेज कार्यक्रम र रङ्गमञ्चमा समेत देखिइन्। रेडियो नाटक ‘रामबिलास धनियाँ’बाट केही मान्छेले चिनेका थिए। उनी धनियाँको भूमिकामा रेडियोबाट ख्याती जोड्न सफल रहिन्। २०६० साल भदौबाट सुरु भएको तीतो सत्यले भने उनको चर्चा चुलाइदियो।

त्यसपछि दीपाश्री निरौला विभिन्न कार्यक्रमको पाहुना बन्न थालिन्। विशेषगरी विद्यालयमा आयोजना हुने कार्यक्रममा उनलाई डाकिन्थ्यो। निमन्त्रणा स्वीकारेर जान्थिन्, मन्तव्य दिन्थिन् र दिनभर कुर्सीमा गमक्क परेर बस्थिन्। एकदिन त्यस्तै कार्यक्रममा प्रमुख अतिथि बनेर बसेको दिन उनले सोचिन्- केही उपलब्धी नहुने कार्यक्रममा म किन बसिरहेकी छु? प्रश्नको जवाफ थिएन। 

अर्कोपटक उस्तैगरी निमन्त्रणा आउँदा उनले उक्त स्कूलको प्रिन्सिपलसँग आफू कार्यक्रममा आए बापत् एकजना विद्यार्थी नि:शूल्क पढाउनुपर्ने प्रस्ताव राखिन्। त्यही स्कूलमा पढ्दै गरेका एक कम असाय र जेहेन्दार विद्यार्थीको मासिक शूल्क छुट हुनेभयो। र, दीपाश्रीको अभिभावकत्व ग्रहणको क्रम सुरु भयो।

सुरुवात भएको पनि ८ वर्ष भयो। कतिको दु:ख, अभाव आफै देखिन् त कति चिनेकाहरु मार्फत् आफ्नो छोराछोरी बन्न आए। ती सबैलाई उनी आफ्नो मान्छिन्। र, सबैले उनलाई ‘ममी’ सम्बोधन गर्छन्। 

‘कुनै दिन मसँगकेही सय रकम हुन्थ्यो भने सायद म पनि आज कुनै डिग्री होल्डर हुन्थेँ होला,' दीपालाई आज पनि धेरै पढ्न नपाउनुको धकधकी छ। 

एकदिन उनी कवि शैलेन्द्र सिम्खडाको घरमा पुगेकी थिइन्। त्यहाँ घरेलु काम गर्ने दिदीसँगै आएकी थिइन् सञ्जु महर्जन। ती आमाछोरीले केही भनेनन् तर कवि सिम्खडाले उनीहरुको दु:खको कथा सुनाए। दीपालाई मनमा ऐठन भयो। र, उनले सञ्जुलाई त्यसै दिनदेखि काम गर्ने घरमा होइन स्कूल जाने वातावरण सिर्जना गराइदिइन्। 

केही साता अघि मात्र, सञ्जुले आफूलाई दिएको खुशी साट्छिन् दीपा। फिल्म ‘छक्का पञ्जा ३’ को तयारीमा व्यस्त थिइन्। तनाव साथसाथै दिनभरको थकान पनि। एक्कासी भाइबरमा सञ्जु महर्जनको मेसेज आयो 

“मम्मी आज मेरो रिजल्ट आयो। सबै सब्जेक्टमा ए प्लस आएको छ।“

‘म खुशीले रोएँ,’ दीपाले भनिन्, ‘लाग्यो मप्रतिको सम्मान हो उसको रिजल्ट।’ सञ्जुजस्ता सबै बालबालिकाप्रति दया नभइ माया रहेको सुनाउँछिन् उनी।
 
यी सबैलाई दीपाले सधैं भन्ने गरेकी छिन्- जतिसम्म पढ्न चाहन्छौ म बलबुताले भ्याएसम्म सहयोग गर्छु तर तिमीहरु पलायन हुन पाउँदैनौं।
‘मेरो पनि स्वार्थ छ नि। आज आमा सम्बोधन गर्नेले भोलl मलाई पनि हेर्लान् भन्ने। ठूलो मान्छे बनेँ मैले पनि गर्व गर्ने ठाउँ रहँला भन्ने आशा पनि छ,’ उनले स्वार्थ सेयर गरिन्। 

आज दीपाश्री सफल फिल्म ब्रान्ड  'छक्का पञ्जा'का निर्देशकको रुपमा चिनिन्छिन्। उनले निर्देशन गरेको फिल्मले सर्वाधिक ग्रस कलेक्सन गरेको रेकर्ड राख्यो। दोस्रो संस्करण पनि व्यवसायिक रुपमा सफल बन्यो। उत्तिकै लोकप्रिय पनि। हाल फिल्मको तेस्रो संस्करण दशैंमा रिलिजको तयारी भइरहेको छ।

'आफ्नो फिल्म सफल हुँदा मैले तिनै अभावका दिन सम्झिएँ। रोएर संघर्ष गरेको दिन सम्झिएँ। खुशी पनि भएँ, लाग्यो अब म अभावमा भएकालाई अझ सहयोग गर्न सक्छु,' उनले भनिन्।

त्यसैले उनले आश्रम निर्माणको योजना बनाएकी छिन्। जहाँ अनाथ तथा असहाय बालबालिकादेखि वृद्धवृद्धासमेत हुन्छन्। आफ्नो योजनाको सानो प्लट छक्का पञ्जा २ मा पनि प्रस्तुत गरेकी थिइन् उनले। 

‘तर केही समय लाग्छ। म आर्थिक रुपमा अझै सबल हुनुछ,’ उनी आफ्नो सपनाको आश्रममा पूर्णतया आफ्नै खर्च गर्न चाहन्छिन्, ‘आफू दिएको पैसा लगानी हुनसक्छ। तर मागेर बनाउँन सक्दिन।’ 
(* स्नातक तह दोस्रो वर्ष हुनुपर्नेमा तेस्रो भएकाले सच्याइएको छ। सं)



बिहेविनै १५ सन्तानकी आमा दीपा, भन्छिन् : अरुसँग मागेर समाजसेवा गर्दिन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट