(सोमबार बिहान थापाथलीस्थित आफ्नै निवासमा मृत भेटिएका पूर्व राजदूत केशवराज झाले सन् २०११ को नोभेम्बर २४ मा त्यतिबेलाको समसामयिक अवस्थाको बारेमा पत्रकार लेखनाथ अधिकारीसँग गरेको कुराकानीमा आधारित)
नेपालको परराष्ट्र मामिलाको छवि पछिल्ला दिनमा आएर धुमिल बन्दै गइरहेको आभास भइरहेको छ। मैले ‘करियर डिप्लोम्याट’का रुपमा ३३ वर्षसम्म यस मामिलालाई नजिकबाट नियालिरहेको छु। अहिलेको जस्तो जटिलता पहिला महसूस गरेको थिइनँ। कहिले चीनसँग नजिक हुन खोज्ने र भारतलाई तर्साउने अनि कहिले भारततिर नजिक हुन खोजे जस्तो गरेर चीनलाई तर्साउन खोज्ने ‘महेन्द्रकालीन परराष्ट्र नीति’ अवलम्बन गर्न खोजिएको जस्तो भान परिरहेको छ।
माओवादीको परराष्ट्र मामिलाको कुरा गर्दा प्रचण्डजीले एक पटक नेपाल दुई तरुलबीचको डाइनामाइट हो भनेर धम्क्याउन खोजेजस्तो पनि गर्नुभएको थियो। फेरि प्रम हुनासाथ चीन जानुभयो र फर्कने क्रममा ओलम्पिकका लागि चीन गएको पहिलो औपचारिक भ्रमण त भारतबाट नै हुन्छ पनि भन्नुभयो। उहाँहरुको परराष्ट्र मामिला सञ्चालन गर्ने शैलीमा निरन्तरता देखिएको छैन। कहिले के भनेको छ कहिले के भनेको छ। यसो गर्दा विश्वसनीयता आर्जन गर्न सकिँदैन। जुन परिस्थिति अहिलेसम्म विद्यमान छ। यिनीहरुको परराष्ट्र नीति के हो भन्ने कुरामा अन्तर्राष्ट्रिय जगत अहिले अन्यौलमा रहेको छ। खाली ढुलमुले नीति लिएर कसरी चल्छ? शान्ति प्रक्रियामा व्यक्त प्रतिबद्धता पूरा नहुँदा पनि यो परिस्थिति सिर्जना भएको छ।
परराष्ट्र नीतिमा प्रष्टताका लागि सरकारमा बस्नेहरु पहिला प्रष्ट हुनुपर्दछ। परराष्ट्र मन्त्रालयको संरचनालाई पनि हेरफेर गरी चुस्त —दुरुस्त बनाउनुपर्दछ। अहिले त के देखिएको छ भने राजदूत नियुक्त गर्दा भागबण्डाबाट गर्ने गरिएको छ। अहिले भारतका लागि राजदूत सिफारिस गरिएका (तर उनको एग्रिमो आएन) राम कार्कीको योग्यता के रे भने उहाँले भारतमा थुप्रै मजदूरहरुलाई चिन्नु भएको छ रे। अनि के राजदूत भएर भारतमा गएर मजदूर जुलुस निकाल्ने? नियुक्ति गर्नेको तर्कमा कुनै दम देखिदैन।
उता चीनमा मेडिकल डाक्टरलाई राजदूत बनाउन लागिएको छ। कुटनीति सञ्चालनको दैनन्दिन प्रक्रिया र अभ्यास नभएका मानिसलाई राजदूत बनाएर के गर्ने? सिक्दासिक्दै फर्कने बेला हुन्छ। जबकि त्यही कामको लागि वर्षौदेखि तालिम लिएका कुटनीतिक सेवाका कर्मचारी आवश्यक काम गर्न पाइरहेका हुँदैनन्। यसरी कसरी हुन्छ? कार्यकर्तालाई राजदूत बनाएर के मैले यति वटा बम पड्काएको थिएँ ,यतिवटा रेलिङ्ग भाँचेको थिएँ भनेर भन्ने ? यस्तो काइदाले राम्रो नतिजा ल्याउँदैन। अर्कोतर्फ परराष्ट्र सेवाकाहरु पनि राम्रो पोष्टिङमा कसरी जाने, कसरी कमाई गर्ने भन्नेतर्फ लागेको पनि अहिले कुरा आइरहेका छन्। त्यसैले त्यहाँ पनि सुधारको आवश्यकता रहेको छ। हाम्रो पालामा परराष्ट्र सेवाको जुन छवि थियो त्यो छवि अहिले धूमिल भएको देख्दा दुःख लाग्छ। राजनीति नै खराब भएर त्यो अवस्था उत्पन्न भएको होला सायद।
परिवर्तनको समयमा परराष्ट्र मामिलालाई पनि सोही मुताविक पुनर्परिभाषित गरेर अघि बढ्नुपर्नेमा कता कता अलमलिएको अवस्था देखिएको छ। जस्तो २०४६ सालको परिवर्तनपछि त्यतिबेलाका नेताहरुले प्रजातन्त्रको आवाजलाई संसारभरी फैलाएर नेपालको उपस्थिति बलियो बनाउन सकिन्थ्यो तर त्यतिबेला त्यसो हुन सकेन। अहिले पनि गणतन्त्र आएपछि विशेष गृहकार्य गरेर अघि बढ्नुपर्दथ्यो तर त्यसो पनि हुन सकेन र अहिले त लथालिंग अवस्था नै रहेको छ। सत्तामा हुनेले न यसबारेमा बुझेका मानिसको राय सल्लाह लिन खोजे वा दिइएका सल्लाह माने। न त आफूले नै जाने ।
कुनैपनि मुलुकको बल कि हातहतियार हुन्छ कि त बोली हुन्छ। धनी मुलुकको बल हातहतियार होला हामी जस्ता विपन्न मुलुकको बल भनेको बोली हो। त्यसैले त्यो बोलीलाई हामीले भाँती पुराएर प्रयोग गर्न जान्नु पर्दछ। त्यो जानेको भए हामीले सफलता हासिल गर्न सक्दथ्यौं। पहिला संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा जितेको वा युनेस्कोको कार्यकारी सदस्यमा जितेको बोलीरुपी बललाई भाँती पुराएर प्रयोग गरेर नै हो। तर, अहिले न हाँसको चाल न कुखुराको चालको अवस्था उत्पन्न भएको छ। हामी निकै तल पुगेको अवस्था रहेको छ। पछिल्लो पटक त संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा लज्जाजनक पराजय व्यहोर्नु परयो। पछि संयुक्त राष्ट्रसंघको साधारणसभाको अध्यक्ष पदमा कतारसँग पनि त्यसैगरी पराजित हुनुपरयो। बिना कुनै तयारी जे मनलाग्यो त्यही गर्दै जाँदा नै यो परिणाम व्यहोर्नु परेको हो। यसले गर्दा नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा झन्—झन् नराम्रो हुँदै गएको छ।
नेपालको छवि खाली अन्तर्राष्ट्रिय सहयोग माग्ने राष्ट्रका रुपमा मात्रै सीमित हुन पुगेको छ। सहयोग माग्ने तर त्यो सहयोग के भइरहेको छ भनेर प्रष्टसँग जानकारी नगराउने मुलुकको रुपमा नेपाल चिनिएको छ। जुन उद्देश्यको लागि सहयोग लिइएको हो त्यो सहयोग सम्बद्ध क्षेत्रमा पुगे नपुगेको भन्ने समेत दातालाई जानकारी हुँदैन।
अघि पनि भनियो कि संयुक्त राष्ट्रसंघमा विगतमा नेपालको निकै राम्रो छवि थियो। तर अहिले धूमिल बन्न पुगेकै कारण राष्ट्रसंघीय कतिपय निर्वाचनमा नेपाल नराम्रोसँग पराजित भएको छ। शान्तिसेनामा नेपालले पुराएको योगदानका कारण विगतमा नेपालको छवि निकै उज्यालो रहेको थियो। तर अहिले सुडान घोटाला प्रकरण र हैटीमा नेपाली शान्ति सेनाका कारण हैजा फैलिएको प्रचारका कारण पनि नेपालको छविलाई असर गरिरहेको छ। हामीसँग लविङ्गका लागि पैसा नहोला तर भाँती पुराएर बोल्ने हो भने अन्तर्राष्ट्रिय जगतलाई प्रभावित पार्न सकिन्छ। त्यो नै अहिले भइरहेको छैन। भाँती पुराएर पनि बोल्दैनौं त्यसले गर्दा अन्तर्राष्ट्रिय जगत चिढिने अवस्था आएको छ।
प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा गएर प्यालेस्टाइनको पक्षमा आवाज उठाउनुभयो। अहिलेसम्म नबोल्दा केही फरक परेको थिएन तर अहिले बोल्दा अमेरिका लगायतका राष्ट्र चिढिएको आभास भइरहेको छ। तिब्बती शरणार्थीलाई फर्काए सहयोग रोकिन्छ भनेर अमेरिकी सांसदले काठमाडौंमा आएर चेतावनी दिनु सायद त्यसैको परिणाम हुन सक्छ। अरु के के हुन्छ त्यो देखिदै जाने नै छ। साथै संयुक्त राष्ट्रसंघको पुरानो सदस्य भएको नाताले यसले त्यहाँ सुधारका लागि पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ। राष्ट्रसंघको संरचना बदल्न पनि पहल गर्नुपर्दछ। किनकि अहिलेको संरचना दोस्रो विश्वयुद्धताकाको परिस्थिती अनुरुप बनेको हो। अहिले भारत, ब्राजिल, दक्षिण अफ्रिका, जापान, जर्मनी लगायतका मुलुक पनि हरहिसाबले अगाडि आइरहेकोले उनीहरुलाई पनि समेट्ने गरी सुरक्षा परिषदको व्यवस्था गर्नुपर्दछ। अहिले विद्यमान ५ स्थायी सदस्य र १० अस्थायी सदस्यको संरचनालाई बदल्नु पर्दछ। त्यसकालागि नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसका लागि खेल्ने भूमिकाले पनि नेपालको छवि माथि पुराउन भूमिका खेल्नेछ।
परराष्ट्र नीतिलाई आन्तरिक मामिलाको विस्तृतीकरणको रुपमा पनि बुझिन्छ। त्यो हिसाबले हेर्दा हामीले आन्तरिक परिस्थितीलाई पनि सुधार्दै लग्नु पर्दछ। आफ्नै घरभित्र समस्या परिरहेको बेलामा बाहिरका कुरागर्दै हिंड्ने अवस्था नै आउँदैन। त्यसैले आगामी दिनमा नेपालको कुटनीतिक छवि सुधार्नकालागि सबै दलहरुले स्पष्ट खाका बनाउनुपर्दछ र त्यसलाई राज्यको मूल नीतिको रुपमा पुनर्परिभाषित गर्नुपर्दछ। अहिले त जसलाई जे मन लाग्यो त्यही गर्ने अवस्था रहेको छ। यसरी मुलुकको कुटनीति चल्न सक्दैन। हाम्रो कुटनीति सञ्चालन अहिलेको जस्तै भयो भने हामी त्यसै तल छौं झन् तल पुग्नेछौं। त्यसैले सुधारका लागि तत्काल कदम चाल्नुपर्दछ। नत्र अन्तर्राष्ट्रिय जगतको हाँसोको पात्र मात्र बनिनेछ ।