PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

धर्म निरपेक्षताका क्रिश्चियन अभियन्ता किन माग्दैछन् हिन्दु अधिराज्य? यस्तो छ कारण



धर्म निरपेक्षताका क्रिश्चियन अभियन्ता किन माग्दैछन् हिन्दु अधिराज्य? यस्तो छ कारण

जाजरकोटको दुर्गम गाउँमा पुजारीको परिवारमा जन्मिएका केबी रोकायालाई समयको ठक्करले आस्तिकबाट नास्तिक बनायो। नास्तिकबाट फेरि आस्तिक बनायो। नास्तिक मात्र बनाएन, प्रभु येशुको चरणमा पुर्‍यायो। धर्मगुरुको रुपमा स्थापित नै गरायो। कुनै बेला गणतन्त्रको नारामा समाहित भए। माओवादी आन्दोलनसँगै नजिक भए। धर्मनिरपेक्षताको माग गर्दै अभियानमा सरिक भए। विभिन्न सभा सम्मेलनमा यसैको वकालत गरे। देशमा संविधान आयो। धर्मनिरपेक्षता, संघीय गणतन्त्र स्थापना भयो। तर अहिले उनै रोकाया धर्मसापेक्षतासहित हिन्दु सनातन गणराज्यको माग गर्दै अभियानमा जुटेका छन्। उनै केबी रोकायासँग धर्मपरिवर्तन, हिन्दु अधिराज्यसहितका विषयमा गरिएको कुराकानीमा आधारित रहेर विधुर ढकालरिना मोक्तानले गरेको कुराकानीको सम्पादित अंशः 



म हिन्दु परिवारमै जन्मिएको हुँ जाजरकोटमा। बुबा त्यहीँकै स्थानीय मन्दिरमा पुजारी हुनुहुन्थ्यो। म पनि हिन्दु नै थिए। परिवार सबै हिन्दु नै हो। म कक्षा ९ सम्म जाजरकोट र जुम्लामा पढेँ। २०२६ सालमा १० कक्षा पढ्न काठमाडौँ आएँ। काठमाडौंको पद्यमोदय स्कूलबाट एसएलसी दिएँ। मेरो एसएलसी बाबुराम भट्टराईको व्याच हो। उहाँ बोर्ड फस्ट हुँदा म बोर्ड टेन्थ भएको थिएँ। घरमा आमा बिरामी हुनुभयो। म एसएलसीको परीक्षा दिएपछि घरमा गएँ। आमाको अनेक उपचार गरियो। अस्पताल थिएन। औषधी थिएन। गाउँमा धामीझाँक्री लाइयो। पूजा हवन लगाइयो। तर निको भएन। आमा बित्नुभयो। आमा बितेपछि म नास्तिक बनेँ। मलाई यो आस्था, धर्म भन्ने सबै झुटो हो जस्तो लाग्यो। अनि म नास्तिक भएँ। धर्म र भगवान प्रतिको आस्था मर्‍यो।

नास्तिक रोकाया येशुको शरणमा

त्रिचन्द्र कलेजमा आइएस्सी पढेँ। त्यसपछि सरकारी छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न कोलकाता गएँ। एक वर्षसम्म म नास्तिक नै थिएँ। त्यहाँ पुगेको केही समयमा नै ‘फ्रस्टेड’ भइसकेको थिएँ। मलाई जिन्दगीदेखि विरक्त लाग्न थालेको थियो। यो जीवन केही पनि होइन जस्तो लाग्न थाल्यो। आत्महत्या गरुँ जस्तै लाग्थ्यो। पढ्न भनेर आएको मलाई पढाइमा पनि इन्ट्रेस्ट घट्यो। 

एक दिन साथीले मलाई चर्चमा लिएर गयो। त्यतिबेलासम्म मलाई जिसस क्राइस्ट, चर्च, बाइबल भन्ने केही थाहा थिएन। चर्चमा पुगेपछि मेरो जीवनप्रतिको सोचमा परिवर्तन भयो। निरन्तर रुपमा एक वर्ष चर्चमा जान थालेपछि जीवनप्रति सकरात्मक सोच आउन थाल्यो। जीवनमा केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो। विस्तारै पढाईतिर ध्यान जान थाल्यो। मैले राम्रोसँग पनि पढ्न थालेँ। मेरो जीवनमा ‘क्राइसिस’ आयो, त्यही क्राइसिसले मलाई चर्चमा पुरायो। त्यही चर्चले मलाई बदल्यो। 

सरकारी जागिरेदेखि पास्टरसम्म

पाँच वर्ष कोलकातामा अध्ययन गरेर म फर्किएँ। त्यसपछि त्यतिबेलाको जलस्रोत मन्त्रालयमा जागिरे बनेँ। त्यहाँ पनि मलाई त्यति रुचि लागेन। त्यसपछि पुल्चोक इञ्जिनियरिङ कलेजमा अध्यापन थालेँ। त्यहाँ म क्याम्पस प्रमुखसम्म भएर स्वेच्छिक अवकाश लिएको हुँ। यसबीच मैले बेलायत सरकारको छात्रवृत्तिमा बेलायतमा इञ्जिनियरमा मास्टर्स गरेँ। त्यसपछि फिलिपिन्समा पीएचडी गरे। मेरो धार्मिक आस्था कोलकातामा रहँदा नै जागृत भएको हो। काठमाडौँमा आएपछि म यहाँका चर्चहरुमा जान थालेँ। यसबीच २६ वर्ष अगाडि म आफैले चर्च स्थापना गरेर सञ्चालन गरेँ। केही साथीहरुसँग मिलेर यसलाई चलाइरहेका छौँ। अहिले म यहाँ पास्टरको रुपमा छु। पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा काम गर्दै पनि थिएँ, यता पनि भोलिन्टरको रुपमा चर्चमा पनि काम गर्दै आएँ। 

रिटायर्ड भएपछि मैले नेपालमा युनाइटेड मिसन टु नेपाल भन्ने ‘मिसिनरी’ संस्थामा दुई वर्ष कन्ट्री डाइरेक्टरको रुपमा काम गरेँ। प्राक्टिकल एक्सन नामको बेलायती आइएनजीओमा कन्ट्री डाइरेक्टरको रुपमा चार वर्ष काम गरेँ। यति हुँदाहुँदै पनि म धार्मिक कार्यक्रमहरुमा निरन्तर रुपमा संलग्न भए। निरन्तर रुपमा चर्चका कार्यक्रमहरुमा सहभागी भएँ। 

माओवादी द्वन्द्व र धर्मनिरपेक्षतासँगको सम्बन्ध

यसबीच माओवादीले २०५२ सालबाट सशस्त्र संघर्ष सुरु गरे। म त्यो संघर्षमा पनि नजिक रहेर काम गरेँ। बुझ्दै जाँदा मलाई उनीहरुका एजेण्डाहरु मलाई मन पर्‍यो। मलाई त्यतिबेला माओवादी नै भनियो। माओवादीका एजेण्डा र माओवादीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम मैले गरेँ। पश्चिमा राष्ट्रहरु, युरोपमा माओवादीहरुप्रति भ्रम थियो। उनीहरुलाई थाहा थिएन माओवादीहरु को हुन्, के हुन? युरोप, अमेरिकालाई माओवादी के हो भनेर बुझाउन मैले सहयोग गरेँ। 

पछि शान्ति प्रक्रियामा आउँदा पनि मैले केही मौका पाएँ। नेपाल सरकार र माओवादीबीच वार्ताको अवसर सिर्जना गर्ने कुरामा पनि मेरो केही भूमिका रह्यो। सन् २००४ सालमा अन्तर धार्मिक सञ्जाल सञ्चालन गर्ने कुरामा मेरो पनि भूमिका रह्यो। म धर्म निरपेक्षताको एजेण्डा र गणतन्त्रको नारामा म समाहित भएर अगाडि बढेको हुँ। 

धर्मनिरपेक्षताका अभियन्ता हिन्दु अधिराज्यमा कसरी?

म माओवादीले उठान गरेको धर्मनिरपेक्षता र गणतन्त्रसहितका नारामा राम्रो लागेर त्यसमा अगाडि बढेको हुँ। २०७२ सालमा संविधान जारी हुनु भन्दाअगाडि नै वैशाख १२ गते एउटा कार्यक्रमको आयोजना गरिएको थियो। त्यस कार्यक्रममा मलाई धर्मनिरपेक्षताको विषयमा कार्यपत्र प्रस्तुत गर्ने जिम्मा दिइयो। कार्यपत्र तयार गर्नका लागि मैले धर्मनिरपेक्षताबारे अध्ययन थालेँ। अंग्रेजीमा ‘सेकुलारिज्म’को बारेमा अध्ययन गर्दा मैले धर्मनिरपेक्षताको बारेमा बुझ्ने मौका पाएँ। यो कार्यपत्र प्रस्तुत गर्दै गर्दा म धर्मनिरपेक्षताको कट्टर विरोधी भएँ। 

धर्मनिरपेक्षताको विरोध किन?

धर्मनिरपेक्षताको नेपालका लागि मात्र होइन, यो संसारकै लागि खराब छ। धर्मनिरपेक्षतामा सरकार सञ्चालन, कानुन निर्माण लगायतमा धर्मको कुनै पनि भूमिका हुँदैन। धर्म राज्यबाट अलग हुने हुन्छ। धर्मनिरपेक्षताले सार्वजनिक जीवनमा धार्मिक पहिचान दिनसमेत रोक लगाउने रहेछ। अहिलेसम्म त्यो नेपालमा आएको छैन। हामीले अझै पनि धार्मिक पहिचान दिन्छौँ। क्रिष्टियन भएकोले मैले जिसस लभ्स यु लेखेको टिर्सट लगाएर हिँडौँला। हिन्दुले गेरु वस्त्र लगाएर हिँड्नुहोला। तर धर्म निरपेक्षता लागू भएपछि यो पहिचान तपाईँले देखाउन पाउनुहुन्न।

फ्रान्समा यसको प्रयोग भएको छ। फ्रान्स नै धर्मनिरपेक्षताको जननी हो। यहाँ स्कुल कलेजहरु, विश्वविद्यालयहरु रेलिजन फ्रि जोनको रुपमा रहेका छन्। त्यहाँसमेत धर्मको कुनै पहिचान देखाउन पाउँदैनन्। यहाँ मुस्लिम महिलाहरुलाई समस्या भएको छ। त्यहाँ उनीहरुले बुर्का लगाउन पाउँदैनन्। यसको विरोधमा आवाज पनि उठिरहेको छ। मुस्लिम समुदाय राज्यसँगको संघर्षमा छ। 

यसले राज्यलाई विखण्डनमा लैजाने भयो। समाजको मूल्य मान्यताहरुलाई खण्डित गराउँदै लैजाने भयो। यसले मानवीय मूल्य मान्यताहरु विस्तारै हराउँदै जाने भयो। हामीले देख्न सक्छौँ पश्चिमा समाजहरुमा परिवारहरु कसरी खण्डित भइरहेका छन् भन्ने उदाहरण। नेपाल बहुसंख्यक धार्मिक आस्था भएकाहरुको देश हो। यसले नेपाललाई खण्डित बनाउने खतरा बढेको छ। जनसंख्या भएको देशमा धर्म निरपेक्षतालाई यसले नेपालको परम्परागत मूल्य मान्यताहरु सही हुनुहुँदैन। त्यसैले नेपाल धर्मसापेक्ष राज्य हुनुपर्छ भन्ने मेरो मान्यता हो। 
संविधानमै धर्मको स्थान हुनु पर्‍यो। संविधानले धर्मको अस्तित्व स्वीकार गरोस्। विभिन्न कानुन बनाउँदा विभिन्न धार्मिक अगुवाहरुसँग छलफल सल्लाह गर्नुपर्‍यो। संविधानमा नै धार्मिक आयोग बन्नुपर्‍यो। यो आयोगमा विभिन्न धर्मका मानिसहरुलाई राख्नुपर्‍यो। राज्य सञ्चालनमा सुझाव लिन पर्‍यो। 

नेपालको पहिचान तीन वटा कुरामा छ। शाहवंशीय राजा, हिन्दु धर्म र नेपाली सैनिक। नेपालको पहिचान खोज्दै गर्दा नेपालको सन्दर्भमा भन्नुपर्दा हिन्दु धर्मसहितको अधिराज्य हुनुपर्छ। अहिले नेपालको पहिचान राष्ट्रियता संकटमा छ। स्वाभिमान संकटमा छ। 

नेपालको राष्ट्रियतालाई जोगाउनका लागि हामीलाई शाहवंशीय राजसंस्था आवश्यक छ। शाहवंशीय राजा भनेको एउटा संस्था हो जसलाई सबै नेपालीले स्वीकार गर्छन्। अहिले राष्ट्रपति हुनुहुन्छ। उहाँलाई सबै नेपालीले स्वीकार गर्दैनौँ। उहाँ एउटा राजनीतिक दलबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ। त्यसैले पनि हिन्दु राज्यसहितको राजतन्त्र हुनुपर्छ। राजसंस्था बिना नेपालको पहिचान र अस्तित्व जोगिन सक्दैन। अर्को भनेको धर्मको रक्षाका लागि पनि शाहवंशको आवश्यक छ। 

नेपालमा क्रिष्टियानिटी बढ्नुका चार कारण


गोर्खा सैनिक
नेपालबाट बेलायत र भारतमा भर्ती भई गएका गोरखा सैनिकका कारण क्रिष्टियानिटी बढेको हो। पहिलो कुरा भनेको नै यही हो। नेपालबाट भर्ती भएर बेलायत र भारतीय सेनामा भएका नेपालीहरु त्यहाँ रहँदा उनीहरुले बाइबलको सम्पर्क, चर्चको सम्पर्कमा पुग्छन्। उनीहरुले यसको राम्रो पक्षलाई अध्ययन गरेर उनीहरु क्रिष्टियन हुन्छन्। धरानतिर बेलायती सेनाका कारण क्रिष्टियानिटीलाई अबलम्बन गर्ने संख्या बढी छ। त्यस्तै पोखरामा भारतीय सेनामा सैनिकहरुबाट क्रिष्टियन बनेका छन्। नेपालको पहिलो चर्च रामघाट चर्च पहिलो चर्च भनिन्छ। यो इण्डियन सेनामा काम गर्ने नेपालीहरुका कारणले स्थापना भएको हो। गोरखा सेनाका कारण नेपालमा चर्च खुल्न थालेका हुन्। 

विदेशमा अध्ययन
पहिला पहिला नेपालमा विश्वविद्यालय थिएनन्। विद्यार्थीहरु पढ्नका लागि बाहिर जानुपर्ने बाध्यता थियो। उनीहरु विदेश जाँदा त्यहाँ क्रिष्टियानिटी आस्थाको नजिक पुग्छन्। उनीहरु फर्केर आएपछि आफन्त छरछिमेकलाई यसको बारेमा भन्छन्। अनि आस्था बढ्छ। मेरै उदाहरण पनि त्यही हो। म पढ्न कोलकाता गएर म चर्च जान थालेँ। म फर्केर मैले अरुलाई पनि भने। मेरो बुबा जो पुजारी हुनुहुन्थ्यो, उहाँ पनि क्रिष्टियन हुनु भयो। 

चंगाई र मानव सेवा
अहिले प्रार्थनाद्वारा बिरामी निको हुने कुरा अहिले प्रचारप्रसारमा छ। त्यस्ता घटनाहरु धेरै छन्। केही नलागेर अस्पताल जाँदा पनि निको नभएकाहरु चर्चमा पुगेर प्रार्थना गरेपछि निको हुन्छ। सबै निको हुन्छन् भन्ने छैन तर बिरामीहरु निको हुन्छन्। यसरी बिरामी निको भएर क्रिष्टियन भएको उदाहरण धादिङमा बढी छ। 

त्यस्तै क्रिष्टियनहरु मानव सेवामा समर्पित छन्। शिक्षा र स्वास्थ्यमा बढी छ। गाउँमा गाउँमा सेवा पुर्‍याएका छन्। जहाँ अरु पुग्दैनन् त्यहाँ क्रिष्टियनहरु पुगेर सेवा गरेका छन्। सेवा पाएपछि उनीहरु क्रिष्टियनतिर मानिसहरु आउँछन्। यस कारणले क्रिष्टियनप्रति मानिसहरुको आस्था बढ्दै गएको छ। जबरजस्ती धर्म परिवर्तन हुने भन्ने नै हुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell