PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कञ्चनपुरमा मारिएका बालक सहिद घोषित, निर्मलाको परिवारलाई १० लाख रुपैयाँ राहत



कञ्चनपुरमा मारिएका बालक सहिद घोषित, निर्मलाको परिवारलाई १० लाख रुपैयाँ राहत

काठमाडौँ : नेपाल सरकारले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा भइरहेको प्रदर्शनका क्रममा मारिएका बालक सनी खुनालाई सहिद घोषणा गरेको छ। 

शनिबार राति बसेको मन्त्रिपरिषद्को बैठक कञ्चनपुर घटनामा केन्द्रित रह्यो।  सरकारले घटनाको भत्सर्ना गरेको छ। 

हिजो भएको घटनामा मृत्यु भएको घटनाप्रति सरकारले गहिरो दुःख प्रकट गरी मृतकको परिवारप्रति समवेदना व्यक्त गरेको छ। 

स्वर्गीय सनी खुनाको परिवारलाई १० लाख रुपैयाँ र निर्मला पन्तको परिवारलाई पनि राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ। 
घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा अंगभंग भएकालाई आर्थिक सहायता उपलब्ध गराउने पनि निर्णय सरकारको छ। 

प्रहरी उपरीक्षक डिल्ली विष्टलाई निलम्बन गरी छानबिनको दायरामा ल्याइएको जानकारी पनि सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले दिए। 

विवादित जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ। प्रहरी नायव उपरिक्षक र मुद्धा शाखाकाका प्रहरी निरिक्षकलाई पनि जिम्मेवारीबाट हटाइ फिर्ता बोलाइएको जानकारी उनले दिए।

आजै कंचनपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले गरेका निर्णयहरुलाई सरकारले सकारात्मक रुपमा लिने निर्णय गरको छ ।

घटना लगत्तै गृहमन्त्रालयबाट गठन गरिएको उच्चस्तरीय छानविन समितिलाई छिटो भन्दा छिटो घटनाको सत्य तथ्य पत्ता लगाई दोषीउपर कडा कारवाहीको सिफारिस गर्न र यसरी सिफारिस गर्दा समिति गठन भईसकेपछि भएका घटनालाई समेत समावेश गर्ने अधिकार दिइएको छ ।

शनिबार गृह मन्त्रालयमा बसेको बैठकले छानविन अवधिभर एसपी बिष्टलाई निलम्वन गर्नका लागि प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेखेको थियो। आजको बैठकमा गृहमन्त्रीसँगै तीनवटै सुरक्षा निकायका प्रमुखहरु संलग्न थिए।

प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलिपसिंह बिष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए। 

घटनाले उग्ररुप लिएपछि गृहमन्त्रीले प्रहरी प्रमुख बिष्टलाई हटाएर एसपी कुवेरबहादुर कठायतलाई पठाएका थिए। त्यस्तै गृह मन्त्रालयले कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठी र मुद्दामा खटिएका प्रहरी निरीक्षक योगेन्द्र  खड्कालाई पनि फिर्ता बोलाएको हो। 

दिदीबहिनी नियन्त्रणमा

निर्मला हत्या प्रकरणमा प्रहरीले दुई जनालाई आवश्यक सोधपुछको लागि पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका वडा नम्बर १८ का दुई दिदी बहिनीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेरबहादुर कठयातले बताए। एसपी कठयातले पहिलोपोस्टसँग भने, 'उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भइसकेको छ।'

गएको साउन १० गते १३ वर्षीया निर्मला पन्त खाना खाएर आफ्नै कक्षाकी साथी रोशनी भन्ने आँचल बमको घरमा सँगै पढ्नको लागि गएकी थिइन्। त्यसपछि  भोलिपल्ट उनको शव नजिकैको उखुवारिमा भेटिएको थियो।

प्रहरीले यसअघि पनि दुवै जनलाई बोलाएर आवश्यक सोधपुछ गरेको थियो। तर, नियन्त्रणमा भने लिएको थिएन। उनीहरूका बुबा आमा जागिरको सिलसिलामा दार्चुलामा बस्दै आएकाले दुई तले घरमा उनीहरू एक्लै बस्दै आएका थिए।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell