काठमाडौं: १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डमा विवादित जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानमा केही त्रुटि गरेको भेटिएको छ।
गृह मन्त्रालयमा शनिबार बसेको सुरक्षा समितिको बैठकले एसपी विष्टलाई निलम्बन गर्ने निर्णय समेत गरिसकेको छ।
सरकारले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठन गरेको पाँच सदस्य छानबिन समितिको प्रारम्भिक अनुसन्धानमा एसपी विष्टले अनुसन्धान केही लापरबाही गरेको भेटिएको गृहलाई जानकारी दिएको थियो।
समितिको टोली कञ्चनपुर पुगेर अनुसन्धान शुरु गरिसकेको छ। प्रारम्भिक अनुसन्धान समितिले एसपी विष्टले केही बेवास्ता गरेको देखिन आएको संयोजक मैनालीले बताए।
पहिलोपोस्टसँगको कुराकानीमा मैनालीले भने,' स्थानीयवासी र केही अनुसन्धानबाट शुरुमा नै एसपीले अनुसन्धानमा प्रभावकारी नगरेको भेटिएको हो।'
आफ्नी छोरी हराएको भन्दै प्रहरीकोमा उजुरी दिन जाँदासम्म प्रहरी तत्काल खोजी कार्यमा नजुट्नु, शंकाको घेरामा रहेका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न स्थानीयले दबाब दिँदासमेत प्रहरी मौन बस्नु, घटनालाई तोडमोड गर्ने गलत व्यक्तिलाई अभियुक्त बनाएर सार्वजनिक गर्नु एसपी विष्टको कमजोरी देखिएको छ।
विष्टले गरेको अनुसन्धानमा त्रुटि देखिएकाले थप घटना तोडमोड नहोस् भने उनलाई निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो।
प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दीलिप सिंह विष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै स्थानीय अझ आन्दोलित बनेका थिए।
निर्मला हत्या प्रकरणमा भीमदत्त नगरपालिका वडा नम्बर १८ का दुई दिदी बहिनीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिसकेको छ। संयोजक मैनालीले भने,' उनीहरुसँग बयान भएपछि थप केही कुरा आउला। हामी उनीहरुसँग सोधपूछको तयारीमा छौं।'
गएको साउन १० गते १३ वर्षीया निर्मला पन्त खाना खाएर आफ्नै कक्षाकी साथी रोशनी भन्ने आँचल बमको घरमा सँगै पढ्नको लागि गएकी थिइन्। त्यसपछि भोलिपल्ट उनको शव नजिकैको उखुबारीमा भेटिएको थियो।
शुक्रबार प्रहरीको गोली लागि एक किशोरको मृत्यु भएपछि महेन्द्रनगर तनावग्रस्त बनेको थियो। शुक्रबार साँझ ८ बजेदेखि लगाइएको कर्फ्यू आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मको लागि खुलाए पनि आज जनैपूर्णिमाको दिन पनि कर्फ्यू कायम छ।