इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्समा नेपालले पदकको आशा गरिएको खेलमध्ये एक हो, प्याराग्लाइडिङ। कूल ६ स्वर्णका लागि स्पर्धा भएको यस खेलको ४ विधा सकिसकेको छ। तर नेपालले कुनै पदक जित्न सकेन।
४ वटामा पदक जित्न नसकेपनि नेपालले पदक आश गरेकोमध्ये क्रस कन्ट्री विधा शनिवारबाट सुरु भएको छ।
पहिलो दिन नेपालको पुरुष टिम तेस्रो र महिला टिम चौथो दिनमा थियो।
दोस्रो दिन पनि नेपालको पुरुष टिमले उक्त प्रदर्शनलाई कायम राख्दै दोस्रो राउण्डमा पनि तेस्रो स्थान हासिल गरेको छ।
उता महिलातर्फ भने आइतवार नेपाली टिमको प्रदर्शनमा सुधार हुन सकेन। पहिलो दिन चौथो भएको नेपाली महिला टोली दोस्रो राउण्डमा पाँचौ भएको छ।
क्रस कन्ट्री टिम विधातर्फ सोमवार तेस्रो राउण्डको खेल हुनेछ भने मंगलावर चौथो राउण्डको खेल हुनेछ। बुधवार पाँचौ राउण्डको खेल हुनेछ र उक्त राउण्डपछि नै शीर्ष स्थानमा हुने टिमले मेडल पाउनेछ।
१८औँ एसियामा नेपालले अहिलेसम्मकै धेरै २९ खेलमा सहभागिता जनाएपनि कुनै पदक जित्न सकेको छैन। इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा भएरहेको एसियाडमा नेपालले भाग लिएको मध्ये करिब एक दर्जन खेलमा नेपालको चुनौति समाप्त भइसकेको छ। नेपालले पदकको आशा गरेको तेक्वान्दो, स्पोर्ट्स क्लाइम्बिङ लगायत अन्य खेलमा पनि प्रदर्शन राम्रो हुन सकेन।
यसबाहेक नेपालले पदकको आशा गरेको कराते र बक्सिङमा पनि नेपाली खेलाडीको सुरुवात राम्रो हुन सकेन। यसबाहेक नेपालले पदकको आशा गरेको अर्को खेल जुडो र कुराँसको प्रतिस्पर्धा भने शुरु हुन बाँकी छ। यसैगरी नेपालले भाग लिएको स्केटबोर्डको प्रतिस्पर्धा पनि हुन बाँकी छ।