PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

सानेपामा नगर प्रमुख उपप्रमुखको गुनासो : कांग्रेसबाट निर्वाचित तहलाई सरकारले बजेट कम दियो



सानेपामा नगर प्रमुख उपप्रमुखको गुनासो : कांग्रेसबाट निर्वाचित तहलाई सरकारले बजेट कम दियो

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेतृत्व लिएको स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई सास्ती दिने गरी कर नलिएको स्पष्टिकरण दिएका छन्। 

नेपाली काँग्रेसले सोमबार काठमाडौंका आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई सेवा दिने तर सास्ती नदिने नीतिका साथ कर उठाउने काम सूरु गरिएको स्पष्टिकरण दिएका हुन्। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई न्यून बजेटको व्यवस्था गरिएको भन्दै सरकारको चर्को आलोचना पनि गरे। उनले जनतालाई मारमा पार्ने गरी कर नलिएको पनि स्पष्ट पारे। मेयर महर्जनले स्थानीय घरभाडा कर स्थानीय तहले लिने व्यवस्था भएपनि सरकारले गत वर्षको साउनदेखिको घरभाडा कर स्थानीय तहलाई हस्तान्तरण नगरेको गुनासो पनि गरे।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले जनतालाई दुःख दिने गरी कर लिने काम काठमाडौं महानगरपालिकाले नगरेको बताइन्। उनले जनतालाई सेवा दिएर कर लिने व्यवस्था गर्न आफूहरु केन्द्रित रहेको पनि स्पष्ट पारिन्।

काँग्रेसबाट निर्वाचित वालिङ नगरपालिकाकी उपमेयर कल्पना तिवारीले जनतालाई सास्ती हुने गरी कर नलिने प्रतिवद्धता व्यक्त गरिन्। उनले जनतालाई सेवा, सुविधा दिएर कर लिने नीति आफ्नो नगरपालिकाले लिएको पनि पार्टी नेतृत्वलाई जानकारी गराइन्।

काँग्रेसबाट निर्वाचित रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले स्थानीय सरकार संचालन ऐन अनुसार कर लिइएको दावी गरे। उनले जनताले दिएको सुझावको आधारमा कर सम्बन्धि कार्यविधिलाई परिमार्जन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रशिक्षण कार्यक्रममा काँग्रेस नेताहरुले जनतालाई सास्ती दिने गरी कर नलिन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराएका थिए।

स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा काँग्रेसबाट निर्वाचित १८९ नगर प्रमुख र उपप्रमुख छन्। 

कार्यक्रमको प्रथम सत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शङ्कर शर्माले स्थानीय तहमा आर्थिक नीति र विकास योजना विषयमा, द्वितीय सत्रमा नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले नगरपालिकाको काम र कर्तव्य: न्यायिक र कानूनी पक्षमा, तृतीय सत्रमा पूर्वसचिव कृष्ण ज्ञवालीले स्थानीय पार्टीसँगको समन्वय र सम्बन्धमा प्रस्तुति दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell