PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

चिकित्सा शिक्षा विधेयकको संशोधन प्रस्तावमाथि संसद र माथेमा कार्यदलका सदस्यबीच छलफल



चिकित्सा शिक्षा विधेयकको संशोधन प्रस्तावमाथि संसद र माथेमा कार्यदलका सदस्यबीच छलफल

काठमाडौं :  संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि आज माथेमा कार्यदलका सदस्यहरूसँग छलफल गरिरहेको छ। प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमाथि छलफल सुरु गरेको हो। 

संसदको उक्त समितिले छलफल गर्न कार्यदलका सदस्यहरूलाई बैठकमा बोलाएको हो। चिकित्सक गोविन्द केसीको अनशपछि उनको माग पूरा गर्न सरकारले गरेको दोस्रो अभ्यास हो यो। यसअघि सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका स्नातक तहका विद्यार्थी भर्ना गर्न कार्यदल गठन गरिसकेको छ।

गत साउन १० गते चिकित्सक केसीसँग भएका सम्झौताको अनुरूप काम गर्न सरकारले गृहकार्य गरिरहेको छ। 

उपत्यका बाहिर मेडिकल कलेज खोल्न पहल गर्ने र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा छलफल सुरु भए पनि चिकित्सा शिक्षामा अनियमितता गर्ने त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई कारबाही गर्नुपर्ने लगायतका उनका माग पूरा गर्न सरकारले अझै पहल गरेको छैन।

चिकित्सा शिक्षाका विषयमा राष्ट्रिय नीति बनाउन त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति डा केदारभक्त माथेमा संयोजकत्वको कार्यदल गठन भएको थियो। कार्यदलमा केयुका पूर्वउपकुलपति डा सुरेशराज शर्मा, आइओएमका पूर्वडिनहरू डा मदन उपाध्याय र डा रमेशकान्त अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा अर्जुन कार्की, शिक्षण अस्पतालका पूर्व निर्देशक डा भगवान् कोइराला, शिक्षामन्त्रालयका सहसचिव डा हरि लम्साल र स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी सदस्य थिए। 

कार्यदलले करिब ६ महिनामा ३ हजार घण्टा छलफलपछि प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा विधेयक आउनु पर्ने माग डा गोविन्द केसीले राखेका छन्। सरकारले डा केसीसँगको उक्त मागमा सहमति गरिसकेको छ। सोही आधारमा समितिले विधेयकका विषयमा विज्ञहरूसँग छलफल अगाडि बढाएको हो। 

संसदीय समितिले विधेयकमा संशोधन हाल्ने सांसदहरूसँग छलफल गरिसकेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell