काठमाडौं: एसिया प्यासिफिक क्षेत्रका २३ देशका सेनाका गुप्तचर विभागका अधिकारीहरु काठमाडौंमा छलफलमा जुटेका छन्।
नेपाली सेना र अमेरिकाको इन्डो-प्यासिफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टिलिजेन्सको आयोजनामा भएको एसिया प्यासिफिक इन्टिलिजेन्स चिफ कन्फेरेन्समा यस क्षेत्रका सेनाका गुप्तचर विभागका अधिकारीहरु भेला भएका हुन्।
नेपालमा पहिलो पटक आयोजना भएको सम्मेलनमा २३ देशका ८३ जना उच्च तहका सैनिक अधिकृतहरु ८३ र नेपाली सेनाको तर्फबाट २० जना गरी जम्मा १०३ जनाको सहभागिता रहेको छ नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ। सम्मेलन २० गतेसम्म चल्ने छ।
सम्मेलनले वर्तमान र भविष्यमा उत्पन्न हुन सक्ने रणनैतिक सुरक्षा चुनौतिको समाधानको लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदान-प्रदानमा जोड दिइने बताइएको छ। साथै सैनिकहरुको गुप्तचर क्षमता अभिवृद्धिका लागि अनुभवको आदान प्रदान गरिने नेपाली सेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ।