PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बिम्स्टेक सफल, हाम्रो बिजुली थाइल्यान्डसम्म निर्यात गर्न सकिने भयो : प्रम ओली 



बिम्स्टेक सफल, हाम्रो बिजुली थाइल्यान्डसम्म निर्यात गर्न सकिने भयो : प्रम ओली 

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेक राष्ट्रहरुको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवैका दृष्टिले फलदायी भएको बताएका छन्। 

आज सिंहदरबारमा आयोजित बिम्स्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले भने, “नेपालमा उत्पादित विद्युत अन्य देशहरुलाई बिक्री गर्न हामीलाई विद्युतीय ग्रीड चाहिएको थियो। त्यस विषयमा काम गर्न जल उर्जाको क्षेत्रमा सहयोगको आदान प्रदान गर्ने निर्णय गरेका छौं।” 

प्रधानमन्त्रीले थपे, 'त्यस विषयमा भारत र बंगलादेशसँग विशेष रुपमा केन्द्रीत भएर कुराकानी गरेका छौं, जसबाट हामी भारत, बंगलादेश र म्यानमारमात्र होइन सूदुर भविष्यमा थाइल्यान्डसम्म बिजुली निर्यात गर्न सक्छौं।' 

नेपाल र नेपालीको हितलाई सर्वोपरी ठानेर बिम्स्टेकमा छलफल गरी घोषणापत्र जारी गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले ओलीले भने, “बिम्स्टेक होस वा अन्य क्षेत्रीय वा अन्तराष्ट्रिय मञ्च होस हामी न्यायोचित राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर काम गर्छौं।”

प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनको सफलताका लागि अहोरात्र मेहनत गर्ने परराष्ट्र मन्त्रालय, गृह र सुरक्षा मन्त्रालय अन्तरगतका सुरक्षा निकायलगायत सकारका सबै निकायप्रति धन्यवाद ज्ञापन गरे। 

ओलीले नेपाली जनता खासगरी सवारी आवागमन सहेर पनि शिखर सम्मेलन सफल पार्न योगदान गर्ने उपत्यकावासीप्रति आभार प्रकट गरे। भने, “आमसञ्चार माध्यम, वौद्धिक जगत र आमरुपमा सबैप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।”



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell