PahiloPost

Nov 19, 2018 | ३ मंसिर २०७५


कथा : चट्टान


कथा : चट्टान

  • लिलाराज खतिवडा -

सागरले घरको माइक्रोओभन बेचेर दुई डोज ब्राउन सुगर किन्यो। कहिले ऊ लगाएको जुत्ता समेत डिक गरेर सामानको जोगाड गर्थ्यो भने कहिले बहिनीको पर्स ज्याक हानेर। लगातार एघार वर्षदेखि ऊ लागू औषधको चपेटामा थियो।

मुम्बईको बान्द्रामा जन्मिएको सागरलाई घरमा कुनै कुराको कमी थिएन। तर, शहरको नामी स्कूलमा पठनपाठन भए पनि उसले पढाइमा कहिल्यै राम्रो गर्न सकेन। अरु विद्यार्थी कमसल स्कूलबाट गुणात्मक शिक्षा प्रदान गर्ने स्कूलतर्फ चढ्थे भने सागर महँगो स्कूलबाट कमसलतर्फ ओर्लिएको हुन्थ्यो।

आठ कक्षामा फेल भएपछि उसले देखाएको उदण्डताका कारण सान्टाक्रूजको स्याक्रेड हार्ट स्कूलले रेस्टिकेट गरेपछि सागरलाई मुम्बई शहरभन्दा अलिक बाहिर, दानूको एउटा सामान्य स्कूलमा भर्ना गरियो। तर, यसबेलासम्ममा ऊ गाँजा, चरेस, रक्सी हुँदै साइकिडेलिक र अन्य कडा लागू औषधको चक्करमा परिसकेको थियो। दानूको त्यो सरकारी स्कूलले पनि एक वर्ष बित्दा नबित्दै सागरलाई उसको झगडालू स्वाभाव र असामान्य व्यवहारका कारण रेस्टिकेट गरिदियो।

अब सागरले स्कूल जान परेन। घरमा किचकिच पर्न थालेपछि घर पनि छाडिदियो। र, सडकछाप ग्याङमा सामेल भयो। जेहनमा लागू पदार्थको झट्का आपूर्ति गर्न शुरुमा छोटेमोटे क्राइम गर्नु सामान्य हुँदै गयो। पाकेट मार्नु, लूटपाट गर्नु, पैदल यात्रुका गरगहना तथा मनीब्याग छिन्नु र परिआए मर्डर वा हाफ मर्डर गर्नु सडकछाप ग्याङका सदस्यहरुका लागि खेल सरह हुन्थ्यो। मुम्बईमा यो खतरनाक खेललाई भाइगिरी भनिन्छ। डोंग्रीमा जन्मिएका मुम्बई अण्डरवर्ल्डका बेताज बादशाह दाऊद इब्राहिमको उदयको इतिहास पनि त्यहाँ लामो समयदेखि ब्याप्त यस्तै भाइगिरीबाट भएको थियो। त्यसो त मुम्बईको एउटा बादशाही बिन्दास स्टाइल त्यहाँका बच्चाबच्चामा हाबी छ। जस्तो कि सानासाना केटाकेटीहरु पनि डन स्टाइलले भारी आवाजमा ‘ओय, अपून से पंगा नहीं लेनेका, नहीं तो खल्लास् कर दुंगा। सम्झा क्या?’ भनिरहेका भेटिन्छन्। यसलाई त्यहाँ टपोरी भाषा भनिन्छ। बलिउड नायक संजय दत्त ठेट् टपोरी बोल्छन्।

मुम्बई अण्डरवर्ल्डप्रतिको एउटा गुमनाम आकर्षणले पनि त्यहाँका युवाहरु खतराका भयानक पहराहरुमा यात्रा गर्न ताम्सिन्छन्। लघारिन्छन्। अरुलाई मार्छन् वा आफू मारिन्छन्। तर, कोहीकोही अपराध र लागू औषधको रकबटम चुमेर पनि कुनै न कुनै दिन सुध्रिन्छन् र साधु हुन्छन्। भएका छन्। जो जति धेरै बिग्रिएको छ, ऊ त्यति नै चाँडो रुपान्तरित भैदिएका दृष्टान्तहरु दुनियाँमा भेटिन्छन्।

तर, यो र यस्तै आत्म—जागृतिको अनुभूतिबाट बेखबर थियो सागर। उसको एडिक्सनको पारो मध्यबिन्दुमा थियो। उसले त अझै कैयन मस्तीका पराकाष्ठाहरु भोग्नै बाँकी थियो। घनघोर अन्धकारको लामो नीरबता छिचोल्न बाँकी नै थियो।

हमेशा उसलाई उसको झगडालु र शंकालु स्वाभाव तथा असामान्य व्यवहारले धोका दियो। ग्याङमा उसको धेरैसँग झगडा हुन थाल्यो। एक किसिमको बहुलठ्ठीपना उसमा सवार भएको थियो। ऊ अरुको कुरा सुन्दैन थियो। आफ्नो कुरा अरुमा लाद्नमात्रै खोज्थ्यो। जता पनि हैकम चलाउन खोज्थ्यो, ऊ। बडा अदवसाथ भन्थ्यो, ‘इधर अपूनका चल्ता है। अपून से पूछे बीना इधर का एक पंछी भी पर नहीं मार सकता, तु कौन है रे बे?’

नशाले धुत्त भएका बेला ऊ भन्ने गर्थ्यो, ‘अपूनका कन्टैक्ट सिधा ‘डि’ से है। कूछ ज्यास्ति बोला न, तो सिधा ठोक्दुंगा! समझा क्या?’

तर ग्याङमा पनि ऊ धेरै दिन टिक्न सकेन। अनि घर फर्कियो।

केही दिन उसको हर्कत हेरेपछि बाबुचाहिँले भने, ‘निकल्जा मेरे घर से, कमिने । तु अब मेरे लीए मर गया।’

तर आमाको स्नेहले काम गर्यो, जस्तो कि प्रायः घरहरुमा हुने गर्दछ। आमाले भनिन्, ‘सुधर जाएगा न, मेरे लाल? बच्चे को एक मौका और देना चाहिए।’

‘हाँ न माँ, बिल्कूल।’आमाको स्नेहको गर्मी महसूस गरेपछि सागरले चेब्रे पार्यो।

अब ऊ घरका विभिन्न सामानहरु सुटुकसुटुक लगेर आफ्नो डोजको झोहल गर्न थाल्यो। कुनै पनि तिकडम रचेर तलतलको आगो निभाउन एडिक्टले जोहो गर्ने पैसालाई मुम्बईको टपोरी भाषामा झोहल भनिन्छ।

महिना दिन बित्दा नबित्दै सागरलाई अनेक क्राइसिसहरुले दर्फर्याउन थाले। बिहान उठेदेखि उसको टाउकोमा एउटै टेन्सन हुन्थ्यो- सिरिन्जमा हाल्ने झोलको झोहल कसरी गर्ने?

एक दिन ऊसँग जाकटी राख्ने वा बेच्ने केही पनि भएन। सब सकियो। सारा ढोकाहरु बन्द भए। कसैले पत्याउँदैन थियो। चिनजानको दुनियाँमा उसको एउटा फुटेको कौडी जति पनि भ्यालु थिएन।

तरै पनि झिनो आश लिएर ऊ चिनिराखेको झम्बे डिलरकहाँ पुग्यो। झुपडपट्टीको अलिक एकान्त कुनामा बस्थ्यो, झम्बे। लागू औषधको कारोबारमा ऊ त्यहाँ वषौंदेखि सक्रिय थियो।

सागरलाई देख्ने बित्तिकै झम्बे उम्लियो, ‘नको। माल नको। पुराना हिसाब किताब चुक्ता कर् और कितना पिना है पी ले। पन, अभी नको।’

सागर थुचुक्कै बस्यो र गिड्गिडायो, ‘ऐसा मत बोल मेरे आका, बस एक डोज रहम कर।’

‘नको। नको।’

‘तु जो मागेगा अपून देने को तयार है। मुम्बई का पैदाइश हुँ, कभी भी तेरा काम आ सकता हुँ।’

‘तु क्या काम आएगा मेरा? अपने माँ बापका तु काम नहीं आ सका।’

‘बात छोड्। मेरी को एक डोज माल रहम कर। और तु कुछ भी बोल्, अपून करनेको तैयार है।’

‘कूछ भी?’

‘हाँ, कूछ भी।’

‘तेरी बहन को यहाँ ला सकता है ?’

‘पर, वो तो...’ सागर अक्मकियो।

अनि चूप लाग्यो। आँखी भौंमा जोर दिएर केही सोच्यो। अनि हड्बडाएर भन्यो, ‘तुम कहीँ मत जाना। अपून ले के आएगा, बहन को। अभी के अभी।’

यत्ति भनेर लागू औषधको कुहिरोमा हराइरहेको त्यो केटो त्यहाँबाट बिजुली गतिमा बाहिरियो।

झम्बे डिलर ट्वाँ पर्यो।

सागरकी बहिनी प्रभा नजिकैको कलेजमा बाह्र कक्षामा पढ्थी। सागर उसकै कलेजतर्फ हान्नियो। कलेज छुट्टी हुन अझै केहीबेर बाँकी थियो। ऊ एक ठाउँमा कुरेर बस्यो। बेलाबेला ऊ आफ्नो टाउको र घाँटी कन्याउँथ्यो भने कहिले दाहिने हातको चोरी औंला नाकमा हल्का रगडेर सिँगान पुछ्थ्यो।

कलेज छुटेपछि उसले सडकमा बहिनीलाई केहीबेर पिछा गर्यो। आफ्ना सहेलीहरुसँग छुटेर घरतर्फ लाग्ने मोडमा पुगेपछि हठात सागर उसको अगाडि टप्कियो।

अनि भन्यो, ‘माँ को एक्सिडेन्ट हो गया। अपून हस्पताल से सिधा तेरी को लेने आएला है। चल मेर साथ।’

आफ्नो दाजुको स्वाभावबाट राम्रैसँग परिचित बहिनीले प्रश्नवाचक चिन्हको आकार बढाउँदै लगी। ऊ आफ्नै दाजुले भनिरहेको त्यति भयानक खबर पत्याउने कि नपत्याउने दुविधामा थिई। ऊ निकै भयभीत पनि देखिन्थी।

तर, सागरले उसलाई तान्दैतान्दै झम्बे डिलरको अखाडामा पुर्याएरै छाड्यो।

‘अरे, इस ने तो सचमूच अपनी बहन को घसिट के ले आया,’ झम्बे डिलरले आफ्नो कोठाको ढोका उघारेपछि बाहिर देखा परेका दुई मानव आकृतिलाई नियाल्दै भन्यो।

‘तो क्या तेरीको मजाक सूझ रहा था? माल निकाल मेरा,’बहिनीका हातमा च्याप्प अँठ्याएर हठात् डिलरको ढोकामा पेश भएको सागरले भन्यो।

बहिनी चाहिँ ‘नहीं भैया, नहीं’ भनेर आफ्नो हात फुत्काउने चेष्टा गरिरहेकी थिई।

झम्बे डिलरले एकछिन विचार गरेपछि युवतीका नतोन्नत बक्षस्थलमा केन्द्रित भएर भन्यो, ‘सुन रे बन्ठेइ, अब न लाना तु ला चूका है। तेरी बहन को अन्दर करे बीना यहाँ से घर भेजना उचित नहीं है।’

सागरले एक झट्कामा बहिनीलाई भित्र खँदार्यो र आफू पनि ढुन्मुनिँदै भित्र घुस्यो।

झम्बेले भित्रबाट ड्याम्म ढोका लगायो।

बहिनीको आर्तनाद जारी थियो। ऊ रुँदै बिलौना गरिरहेकी थिई, ‘भैया, आप बाँकी जो भी बोलो मैं करुंगी। लेकिन इस दरिन्दे के हात में मुझे मत फेंको। प्लिज!’

‘माफ कर दो, बहन। आज अपून मजबूर है,’सागरले स्याँकस्याँक गर्दै भन्यो। बारबार ऊ आफ्नो नाकको सिँगान सटको बाहुलाले पुछिरहेको थियो।

‘देख सागर, मैंने तो मजाक में ही वह सब कहा था। पन, तुँ ने तो तेरी बहनको ऐसे यहाँ लाया जैसे कि यह एक धन्देवाली है,’ झम्बेले अट्टहास लगाएर भन्यो।

‘ज्यास्ति बोला न, तो अभी के अभी तेरा खोपडी निकाल लुंगा। कबूल का माल दे। बात खत्तम।’

‘बात तो अब शुरु हुवा। सब कूछ खल्लास करके मेरे जैसे डिलरको अपनी सगी बहिन सौंपता है, साला, तुँ एक नालायक है।’

‘डायलग बाजी छोड् रे। इतने साल अपून ने तेरा माल खरीद के पीया। आज तो तु ने मेरी बहन को ही लानेको कह के हद कर दी। पन, याद रख, मैं भी एक एडिक्ट हुँ; एक डोज माल के लीए खून भी कर सकता हुँ। चल, माल निकाल्।’

उता प्रभाको आर्तनादको पराकाष्ठा नाघेको थियो। ऊ कहालिएर चिच्याइरहेकी थिई। उसको चिच्याहटले त्यस् झुपडीको छानो नै उडाउला जस्तो लागिरहेको थियो।

झम्बेले एउटा पुरिया झिक्यो र सागरका हातमा थमायो। अनि त्यसरी चिच्याइरहेकी प्रभाको हात समाएर उसलाई कुनातर्फ तान्यो। केटी थच्क्कै बसी र भुँइ समाएर प्रतिरोध गर्न थाली। ऊ झन्—झन् जोडले उसैगरी किल्कारी छाडेर रोइरहेकी थिई। झम्बेले प्रभाको मुख थुन्यो र कुनामा पुर्याएर उसलाई खोतलखातल पार्न थाल्यो।

त्यो स्यानो पुरिया लिएर सागर ढोका छेऊमा पुग्यो। भित्तामा अडेस लागेर बस्यो। कमिजको खल्तीबाट इन्जेक्सन, लाइटर र एउटा चम्चा पनि झिक्यो। पुरियाबाट अलिकती धुलो चम्चामा हाल्यो। थोरै पानी मिसायो। अनि तलबाट आगो लगायो। क्षणभरमा नै चम्चाको सामान उम्लिन थाल्यो। लाइटर निभाउँदै बाल्दै गरिरहेको त्यस् केटाले त्यसपछि इन्जेक्सनमा त्यो झोल लोड गर्यो। समय नगुमाइ उसले देब्रे नलीखुट्टाको एउटा नसामा त्यो झोल इन्जेक्ट गर्यो। बिँडी सल्कायो। गहिरो कश लिएर सास रोक्दै बिस्तारै आँखा बन्द गर्यो। अनि केहीबेर रोकेको सास उसले वायुमण्डलमा मन्द मन्द छाड्यो।

उता...

जतिबेला सागर चम्चामा सामान उमाल्दै थियो, त्यतिबेलादेखि नै उसकी बहिनी ‘नाईं दादा, नाईं’ भनेर चिच्याइरहेकी थिई। ऊ हातखुट्टा फँयाकेर भर्याकभर्याक गरिरहेकी थिई। झम्बे डिलर ऊमाथि घोप्टिएर उसलाई पाशविक तवरले घोटिरहेको थियो। सागरले आफ्नो नलीखुट्टामा इन्जेक्शन घोपिरहँदा र ठीक त्यसैबेला प्रभालाई बलात्कार गरिरहेको झम्बे स्खलित हुँदा त्यस् कोठाको आभामा चट्यांग परेर आगो लागेजस्तो भएको थियो।

इन्जेक्शन र अन्य सरदाम खल्तीमा कोचेर सागर पछाडि नहेरी फुत्त बाहिरियो।

झम्बे पाइन्टको फस्नर लगाउँदै उठ्यो भने प्रभा लाश जस्तो लम्पसार परिरही।

आफू सम्हालिएपछि झम्बेले प्रभाका लुगाहरु मिलाइदियो। अनि भन्यो, ‘तुम्हारा दानव भाइ का प्यास जो बुझ गया। और मेरा भी। चुपचाप घर जाओ। नहा धो लो। और यहाँ जो हुवा, एक बूरा सपना समझ कर इसे भूल जाओ।’

प्रभा केही बोल्न सक्ने अवस्थामा थिइन। झम्बेले उसलाई ढोकाबाट बाहिर निकालिदियो। अनि भित्रबाट बिस्तारै ढोका लगायो र लामो सास फेर्यो।

दाँयाबाँया नहेरी प्रभा आफ्नो घरतर्फ लागी। ऊ लड्खडाएर हिँडिरहेकी थिई। उसका आँखाहरु बिष्फारित थिए र ऊ लगातार शून्यमा टोल्हाइरहेकी थिई।

केही बेरपछि सागर कताबाट फनक्कै फर्किएर झम्बेको झुपडीमा टप्कियो। ढोकामा एक लात्ती हान्यो। बड्याङ्ग ढोका खुल्यो। बाघले जसरी उसले भित्र खाजा खाइरहेको झम्बेमाथि आक्रमण गर्यो। केहीबेर घम्साघम्सी पर्यो। सागरको अनुहार उत्तेजित गोमन साप सरह फुलेको थियो। अनि उसका आँखामा मृत्यु सवार भएजस्तो लागिरहेको थियो। मार्ने नै उद्देश्यले भित्र पसेको सागरले झम्बेको टाउको एकातिर खड्याक पारिदियो। केहीबेर ख्ँवार्रख्वाँर्र गरेर झम्बे लुढ्कीयो। सागरले चक्कु निकाल्यो र त्यस ड्रग डिलरको घाँटी रेटीरेटी छिनायो। जगटामा समाएर उठाएको त्यो टाउको उसले सामुन्नेको भित्तामा झट्टी हान्यो। भित्तामा रगतको छिर्काको डरलाग्दो दाग बनाउँदै टाउको भुइँमा खस्यो।

एउटा कपडाले हात पुछ्दै सागर बाहिरियो। डिलरको कोठाको ढोकामा उसले बाहिरबाट हेण्डिल लगाइदियो। त्यसपछि ऊ हान्नियो सिधै माहिम। जो उसको प्रिय स्थान थियो।

मुम्बईको माहिमस्थित समुद्री किनारमा बसेर सागर बिँडीको गहिरो गहिरो कश लगाइरहेको थियो। झमक्कै साँझ परिसकेको थियो।

अचानक, उसको मोबाइल बज्यो। एउटा साथीले फोन गरेको रहेछ। सागरले रिसिभ गर्यो।  साथीले अत्तालिएर एकै सासमा भन्यो, ‘तेरी बहन प्रभा ने खूदकूशी किया। किधर है तु? घर के लोग तेरा राह देख्ते होंगे। जल्दी पहुँच।’

निकै बेर उसले किंकर्तव्यविमूढ भावमा गोता खाइरह्यो। घर जाने कि नजाने भनेर तत्काल उसले तय गर्न सकेन। अनि अघि बचेको माल आफ्नो गुप्तांग छेउमा इन्जेक्ट गर्यो र बिँडी जलायो।

अनि ऊ जुरुक्कै उठ्यो र घरतर्फ हान्नियो। एकै छिनमा ऊ घर पुग्यो। त्यहाँको माहौल वर्णन गर्नै परेन। ‘हाय राम, सब वर्वाद हो गया। हमारी बेटी ने ना जाने क्यों खूदकूशी करली?’ बगैरा बगैरा।

सागर धेरैबेर त्यहाँ टिक्नै सकेन। पुलिसहरु अनुसन्धानमा सक्रिय थिए। ऊ पूर्णरुपमा प्यारानोइड भइसकेको थियो।

बहिनीले सुसाइड नोटमा ‘मेरे मौत के लीए मैं खूद जीम्मेवार हुँ,’ लेखेको कुरा थाहा पाएपछि ऊ केही आश्वस्त त भएको थियो। तर, ऊ त्यहाँ उभिनै नसक्ने भयो।

अनि चुपचाप घर छाड्यो र स्टेशन पुगेर बिना टिकट एउटा रेल समात्यो।

रेल अगाडि बढ्दै जाँदा सागरले मनमनै केही दृढ संकल्प लियो। नयाँ दिल्ली पुगेर उसले एउटा मान्छेलाई भेट्यो। नवाब भाइ भन्ने उनी त्यहाँ एउटा लागू औषध पुर्नस्थापना केन्द्र चलाएर बसेका थिए। नवाव भाइ पनि मुम्बईकै थिए र उनले पहिले नै कैयन पटक सागरलाई उपचारमा आउन आग्रह समेत गरेका थिए। बरु राँगो उड्ला तर एउटा एडिक्ट सुध्रिन त्यति गाह्रो हुन्छ। खास गरी तबसम्म जबसम्म उसकै भित्रबाट कुनै पनि कारणले रियलाइजेसन आउँदैन।

सागरले नवाव भाइसमक्ष उपचारमा बस्ने प्रतिज्ञा ब्यक्त गर्यो। नवाव भाइले उसलाई केही कडा शर्त राखेर उपचारमा सामेल गराए। हेर्दाहेर्दै हप्ता, महिना बिते। सागरले उपचारमा राम्रो गर्दै गयो। नशा बिनाको जीवन उसलाई कुनै हालतमा पनि जरुरत थियो। ऊ लागू औषध सेवनको विकराल दलदलबाट हमेशाका लागि निस्किन चाहन्थ्यो।

सागर पश्चातापको आगोले पग्लिँदै गयो। आफ्ना जघन्य गल्ती र अपराधहरुको उसलाई क्रमशः बोध हुन थाल्यो र ऊ डाँको छाडेर रुने गर्न थाल्यो।

नवाव भाइको सल्लाहमा पाँच महिनाको उपचार सकेर पनि ऊ त्यसै केन्द्रमा स्वयं सेवकका रुपमा काम गर्न थाल्यो। अब ऊ अन्य एडिक्टहरुलाई बाह्र पाइलाको नार्कोटिक्स एनानिमस प्रोग्राम सिकाउने पनि भइसकेको थियो।

नवाव भाइमार्फत् छोरो सुध्रिएको खबर सुनेर सागरका बाबुआमा खुशी नै भए। तर, उनीहरु आफ्नी तरुनी छोरी प्रभाको आत्महत्याले मर्माहत थिए। शोक अझै उनीहरुका चेहरामा झुण्डिरहेको थियो।

दुई वर्ष लगातार बिते, पुर्नस्थापना केन्द्रमा सागरका। एक डोज नशाको लागि कसरी उसले आफ्नी बहिनीलाई कुर्वान गर्नु पर्यो र पछि नशाको चार्जमा कसरी उसले त्यो झम्बे डिलरको हत्या गरेको थियो भनेर शुरुमै उसले नवाव भाइलाई बेली-बिस्तार लगाइसकेको थियो।

एक दिन नवाव भाइले सागरलाई एकान्तमा डाके र भने, ‘अब तुम इस ट्वेल्भ स्टेप स्प्रिचुअल पोग्राम के मुताविक उन लोगों के सामने जा के माफी माँगोगे जिन्हे तुम ने क्षति पहुँचाया है। मैं तुम को ट्रिटमेण्ट में मजबूत होते हुवे देखना चाहता था, सो तुम अब हो गये हो। अपने घर जाओ और माँ बाप को सब कूछ बता दो। इस के बाद ही तुम्हारी बहन की आत्मा को शान्ति मिलेगी।’

सागर चुपचाप घर पुग्यो। आमाबुबालाई ढोगिदियो। नशा परित्याग गरेर हट्टाकट्टा र भलाद्मी नजर आइरहेको छोरालाई सामुन्ने देखेर उनीहरुको मुहार अलिकति भए पनि उज्यालियो।

सागरको एउटा दाजु थियो। ऊ ब्यापार गर्ने गर्थ्यो। साँझ ऊ पनि घर आएपछि खाना खानेबेलामा सागरले सबैको ध्यानाकर्षित गरेर बहिनीको आत्महत्याको रहस्य खोल्यो। टाऊको झुकाएर ऊ त्यो सब बयान गरिरहेको थियो।

सुनेर सब तिल्मिलाए। तिल्मिलाउने नै भए।

आमाबाबुले उसको मुखमा थुकिदिए र भने, ‘निकल जा हमारे घर से। अभी के अभी। और फिर कभी मत आना इधर!’

दाजु चाहिँले उसलाई दुईचार थप्पड लगायो र गलहत्याएर मूलढोकाबाट बाहिर निकालिदियो।

यसपाली आमा चाहिँले उसलाई पहिले जस्तो रोकिनन्। सागर अगाडि बढ्यो र अँध्यारोमा अलप भयो।

रेल चढेर ऊ वापस दिल्ली पुग्यो र नवाव भाइलाई सब कुरा सुनायो। ध्यानपूर्वक सागरको कुरा सुनेर नवाव भाइले भने, ‘माँबाप और बडे भाइ ने तुम्हारे साथ जो किया, वही तुम्हारा आशिर्वाद है। ठान लो कि उन्होने तुम्हें उस तरह से माफ कर दिया। उनका भाषा अलग है। मगर बात एक ही है। अब उस् बोझ से जरुर तुम हल्का हो गये हो। तुहारा दुसरा इर्पोटेन्ट अमेन्ड् बाँकी है। तुम ने उस डिलर का गला घोंट के खून किया है। तुम्हारे लीए उस अपराध का सजा भुगत्ना एक धरम है। जाओ और पुलिस के यहाँ आत्मसमर्पण कर दो।’

सुनेर सागरका आँखा फराकिला भए। तत्काल उसले केही पनि सोच्न सकेन। नवाव भाइले अगाडि भने, ‘जेल में भी तुम्हे दो तरह के लोग मिलेंगे। एक नशा करने वाले। और दुसरे, नशा नहीं करने वाले। च्वाइस तुम्हारे हात मे छोड्ता हुँ। खूदा हाफिस्!’

सागरले प्रहरी कार्यालयमा गएर आत्मसमर्पण गर्यो।

यसबीच उसले कुनै पनि नशा सेवन गरेन। जेल जाने बेलासम्ममा त उसले बिँडी पनि छाडिसकेको थियो।

समाप्त।



कथा : चट्टान को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट