काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन्।
प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै सभापति देउवाले निन्दा र भत्सर्नासमेत जनाए। बिहिवार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै देउवाले आफ्नो पार्टी सो घटनाको खिलाफमा रहेको प्रतिक्रिया दिए। उनले पत्रकारहरुलाई पक्राउ गर्ने जस्तो काम पनि गर्ने हो भनि सरकारलाई प्रश्न पनि गरे।
समाचार प्रकाशित गरेकै आधारमा गत सोमबार विहान पक्राउ परेका बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ। त्यसैगरी सोही घटनामा आवश्यक सोधपुछ गर्न प्रहरीले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पनि उर्दी जारी गरेको थियो। सभापति देउवाले पत्रकारलाई पक्राउ गरिएको सो घटनाको निन्दा गर्दै आफ्नो पार्टीले विरोध गरिरहेको पनि स्मरण गराए।