PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

साझाले सुरु गर्‍यो अनलाइन टिकट बुकिङ



साझाले सुरु गर्‍यो अनलाइन टिकट बुकिङ

काठमाडौँ : लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था सुरु भएको छ। 

अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जनाएको छ। यात्रुहरूले अबदेखि 'साझा यातायात डटकम डट एनपी', 'बससेवा डटकम', 'इसेवा डटकम डट एनपी'बाट सहजै टिकट काट्न सक्नेछन्। 

'ई-सेवा एकाउन्ट' भएका यात्रुले सहजै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने नभएका ग्राहकले नजिकैका ई-सेवा अंकित साइबर कम्यूनिकेसनबाट टिकट लिन सक्नेछन्। 

यसै गरी यात्रुले अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङ तथा अन्य विभिन्न तरिकाबाट रकम भुक्तानी गरेर पनि बस टिकट काट्न सक्नेछन्। अनलाइन टिकटिङ सम्बन्धी सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजी प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पिआर खनालले हस्ताक्षर गरेका छन्। 

साझा यातायातले दियालो टेक्नोलोजीले प्रवर्द्धन गरेको 'बस सेवा डटकम'सँगको सहकार्यमा काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसमा अनलाइनबाट टिकट काट्न सकिने छ। साझा यातायातका बस काठमाडौँदेखि रूपन्देहीको भैरहवा र बागलुङका लागि सञ्चालनमा छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell