PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

महाधिवेशनको तयारीमा जुट्यो राजपा : दशैंदेखि छठसम्म सक्रिय सदस्यता बाँड्दै



महाधिवेशनको तयारीमा जुट्यो राजपा : दशैंदेखि छठसम्म सक्रिय सदस्यता बाँड्दै

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल महाधिवेशनको तयारीमा जुटेको छ। वैशाख ७ देखि ९ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको राजपाले सक्रिय सदस्यता वितरण सुरु गरेको छ।

राजपा अध्यक्ष मण्डलको हालै बसेको बैठकले पार्टीको अन्तरिम विधानलाई अन्तिम रुप दिइ निर्वाचन आयोगलाई बुझाएको छ। पार्टी गठन गर्दा एक वर्षभित्र महाधिवेशन गर्ने भनिए पनि स्थानीय निकाय र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुँदा तोकिएको समयमा महाधिवेशन गर्न राजपा असफल रहेको थियो।

उक्त विषयमा निर्वाचन आयोगले ताकेता गर्दा राजपाले सुधारसहितको विधान आयोगलाई बुझाएको छ। तर विधान अहिलेसम्म राजपाका अन्य नेता तथा कार्यकर्ताहरुले पाउन सकेका छैनन्।

राजपाका सचिव एवं प्रदेश सभा सदस्य उपेन्द्र महतोले महाधिवेशन तयारीका लागि वडा तहसम्मको जिम्मेवारी बाँडफाँड गरी सकिएको बताए।

‘दशैंदेखि नै सक्रिय सदस्यता वितरण भइरहेको छ। छठसम्म सक्रिय सदस्यता वितरणसहितका कार्यक्रमहरु हुनेछ। प्रदेशदेखि वडा तहसम्म जिम्मेवारी तोकिएको छ। स्थानीय तहमा जोडतोडका साथ काम अगाडि बढेको छ,’ सचिव महतोले भने,‘केन्द्रको सर्कुलरअनुसार सबैले काम गर्दैछ।’

२०७४ वैशाख ७ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ वटा दल मिलेर राजपा गठन भएको थियो। राजपाको एकता घोषणा कार्यक्रममै एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने जनाइएको थियो।

अध्यक्ष मण्डलीय प्रक्रियाबाट अगाडि बढेको राजपामा अहिले पनि ६ जना अध्यक्ष छन्। राजपाको विधानबाट अध्यक्ष मण्डलीय प्रणली हटाउन माग भएपनि अहिलेसम्म सोही व्यवस्था कायम रहेको छ।

रोचक कुरा के छ भने राजपाले निर्वाचन आयोगमा बुझाएको अन्तरिम विधानमा पनि अध्यक्ष मण्डल रहने कि अध्यक्षमात्र रहनेबारे स्पष्ट पारिएको छैन। राजपा अध्यक्ष मण्डलका एक सदस्यका अनुसार पार्टीभित्र छलफल जारी रहेकोले अहिले नै टुंगोमा पुग्न सकेको छैन।

नेतृत्व प्रणाली तथा अधिकार बाँडफाँडका विषयमा टुंगो लाग्न नसकेको उनले बताए। विधान छलफलमै रहेकोले सार्वजनिक नगरिएको जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell