PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

किड्नीको बिरामी प्रम ओलीलाई किन लगियो मुटु अस्पताल? यस्तो छ ओलीले मनमोहन सेन्टरलाई विश्वास गर्नुको कारण



किड्नीको बिरामी प्रम ओलीलाई किन लगियो मुटु अस्पताल? यस्तो छ ओलीले मनमोहन सेन्टरलाई विश्वास गर्नुको कारण

प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चार दिनदेखि उपचाररत छन्। अस्पतालले दिएको जानकारी अनुसार उनी स्वस्थ छन्। प्रम ओली अस्पताल भर्ना भएदेखि उनको बारेमा चिन्ता र चासो बढिरहेको छ। 

डाक्टर उत्तमकृष्ण श्रेष्ठ सेन्टरका कार्यकारी निर्देशक हुन्। ९ वर्षअघि स्थापना भएको अस्पतालको नेतृत्व तीन वर्षअघिदेखि उनले गरेका हुन्। यसबीचमा अस्पतालले निकै ठूलो फड्को मारिसकेको छ। यो उपलब्धि हात पर्नुमा अस्पतालका सबै कर्मचारीको महत्वपूर्ण भूमिका रहेको उनी बताउँछन्।

काभ्रेको नालामा जन्मिएका उनी काठमाडौंमा हुर्किए। २०३५ सालको एसएलसीमा बोर्ड टपर हुन् उनी। अघिल्लो वर्ष उनका दाजु विजयप्रकाश श्रेष्ठ एसएलसी टपर थिए। कीर्तिपुरको ल्याबरोटरी स्कूलबाट एसएलसी गरेका उनले अमृत साइन्स कलेजबाट आइएस्सी गरे। इन्स्टिच्युट अफ मेडिसिन महाराजगञ्जबाट (आइओएम) एमबीबीएस गरे। आइओएमबाटै मास्टर इन सर्जरीको (एमएस सर्जरी) कोर्स सकाएका हुन् उनले। त्यस्तै उनले मलेसियाको प्रतिष्ठित नेशनल हर्ट इन्स्टिच्युटबाट २ वर्षको फेलोसिप पूरा गरेका छन्। 'इन्डोभास्कुलर (रक्तनली) को सर्जरी कोर्स इटालीमा पूरा गरे।

केही वर्षअघिसम्म उनी मुटु, फोक्सो र रक्तनलीको सर्जरी गर्थे। अहिले भास्कुलर सर्जरी स्पेसलिस्ट हुन्। 

सन् १९९९ देखि शिक्षण अस्पतालमा कार्यरत छन् उनी। सर्जरी स्पेसलिस्ट अहिले उनी मनमोहन सेन्टरको प्रशासनिक कामको पनि नेतृत्व गरिरहेका छन्। उनलाई मनमोहन सेन्टर महाराजगञ्जको आरोह अवरोहको साक्षी भन्दा फरक पर्दैन। भास्कुलर सर्जरीको देशभर विकास गर्नुपर्छ भनेर 'भास्कुलर सोसाइटी अफ नेपाल' नामक संस्था गठन गरेका छन् उनले, जसको संस्थापक अध्यक्ष हुन् उनी।

श्रेष्ठसँग प्रधानमन्त्री ओलीको अहिलेको स्वास्थ्य अवस्था, मनमोहन सेन्टरमा नै ल्याउनुपर्ने कारण र मनमोहन सेन्टरको अहिलेसम्मको यात्रा बारे सागर बुढाथोकीले गरेको कुराकानी


प्रम ओली किन यही अस्पतालमा आए? 
उहाँ अन्य अस्पतालमा किन  जानुभएन, किन विश्वास गर्नुभएन, त्यो मलाई थाहा भएन। यो अस्पतालमा मुटु, फोक्सो र रगतको नशासँग सम्बन्धित सबै 'ग्याजेट' छ। स्पेसलिस्ट डाक्टरहरु छन्। फार्मेसी र काउन्सिलिङको सेवा राम्रो छ। हामीले गरेको कामको 'रिजल्ट'लाई प्रश्न गर्ने ठाउँ छैन। उद्योगपतिदेखि मन्त्रीहरु आएर राम्रोसँग उपचार गरेर गएका छन्। विश्वविद्यालयको अस्पताल भए पनि माउथ पब्लिसिटीको कारण 'पपुलर' छ।

स्थापना भएको नौ वर्षको अन्तरालमा 'सक्सेस इन्डिकेटर' राम्रो छ। सोही कारण प्रधानमन्त्रीले यही अस्पताल नै रोज्नुभएको हुनुपर्छ। यो उहाँको व्यक्तिगत निर्णय हो।

उहाँले यही अस्पताल रोज्नुपर्ने कारण त्यति मात्रै हो त?
सक्सेसको सामान्य 'इण्डिकेटर' देखेरमात्रै पक्कै पनि उहाँ हाम्रो अस्पताल आउनुभएको होइन। उहाँ आउनुको मुख्य कारण नै हाम्रो 'रिजल्ट' हो। ८० बेडको अस्पतालमा एक वर्षमै १ हजार ९ सय अपरेसन भए। कतैबाट गुनासो आएन। गत वर्ष ८० हजार बिरामी ओपिडीमा हेर्यौं । पिएचडी लेभलका स्पेसलिस्ट डाक्टर उत्पादन गर्‍यौँ। 

अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान धेरै भएका छन् यहाँ। यस्ता गतिविधिले अस्पतालको 'स्ट्रेन्थ' थाहा हुन्छ। यही कारण यो अस्पताललाई रोज्ने जमात धेरै छ। प्रम ओलीले पनि त्यही गर्नुभयो।

विदेश र यहीँका निजी अस्पताल नगई प्रम ओली उपचार गर्न यहाँ आउनुको कारण तपाईँहरुको जस्तो अरु कुनै अस्पताल नभएर हो त? 
म 'नेगेटिभ' कुरा गर्दिनँ। नेपालका निजी अस्पताल राम्रो नभएको कारणले उहाँ यहाँ आउनु भएको हैन। अरु अस्पताल पनि 'क्यापेबल' छन्। र, यो अस्पताल अरु कुनै निजी अस्पताल भन्दा कम छैन भन्ने कुरा पनि प्रधानमन्त्रीलाई जानकारी छ।

हामीले देशको 'हेल्थ स्टाटस'लाई बढाउने हो भने हाम्रो जस्तो सरकारी अस्पताललाई 'प्रमोट' गर्नुपर्छ। स्तर सुधार्नुपर्छ। अनि मात्र 'देशको हेल्थ स्टाटस' सुध्रन्छ। यसको अर्थ निजी अस्पताल हुनुहुन्न भनेको होइन। हामी कसैको प्रतिस्पर्धी होइन, सहयोगी हुनुपर्छ। यो भयो भने मात्र नेपालको 'हेल्थ स्टाटस' सुध्रन्छ। 

अरु नेता विदेश गएर उहाँ मात्र यहाँ आउनुभएको होइन। अरुले पनि उपचार गराइरहेका छन्। उहाँ आउनु नेपाली अस्पताल र डाक्टरलाई गरेको विश्वास हो। उहाँको आत्मविश्वास देखेर जो कोही छक्क पर्ने गर्छन्। जस्तोसुकै अवस्थामा मुस्कुराइरहने, गफ गर्ने। उहाँलाई देख्दा उहाँ बिरामी हुनुहुन्छ जस्तो नै लाग्दैन।

त्यस्तै उहाँ स्वास्थ्यमा सधैँ सचेत हुनुहुन्छ। अस्ति भारत र चीन भ्रमण जानुअघि यहाँ सबै चेकअप गराएर  जानुभयो। 'म स्वस्थ छु' भन्ने आत्मविश्वास लिएर मात्र हिँड्नुहुन्छ उहाँ।
 
उहाँले यही अस्पताल रोज्नुको अर्को कारण डाक्टर दिव्या सिंह पनि हो। अन्य अस्पतालमा भन्दा 'कम्फर्ट' हुनुहुन्छ यहाँ। सरसफाई र 'इन्भायरोमेन्ट' सबै राम्रो छ। अरु निजी अस्पतालले सेवा सुविधा र अन्य कुराहरुमा हामीलाई भेट्न सक्दैनन्। त्यस्तै उहाँ डाक्टरले भनेको सुन्नुहुन्छ। मान्नुहुन्छ। कुनै कुरामा 'इन्टरफियर' पनि गर्नुहुन्न।

उहाँ किड्नीको बिरामी, किड्नी अस्पतालमा नगएर यता आउँदा गलत सन्देश गयो भन्ने कुरा पनि आएका छन् नि?
हो, यो कुरा सत्य हो। उहाँलाई टिचिङमा लैजानुपर्ने हो। तर, त्यहाँ 'कम्फर्ट' हुन्न'थ्यो। उहाँको फोक्सोमा संक्रमण भएको थियो। किड्नीको बिरामीलाई मुटुको खतरा पनि हुन्थ्यो। त्यस्तो खतरा आइपरेमा सजिलो हुन्छ भन्ने पूर्व तयारीका साथ यहाँ ल्याइएको हो। 

त्यसो भए उहाँलाई सामान्य संक्रमणको कारण मात्रै अस्पताल ल्याइएको थिएन?
हो। यहाँ ल्याउँदा हामीले भनेजस्तो सामान्य र बाहिर भनिए जस्तो गम्भीर पनि थिएन उहाँको अवस्था। मिर्गौला प्रत्यारोपण गरेको मानिसलाई फोक्सोमा संक्रमण हुनु जटिल अवस्था नै हो। 

त्यस्तै रगतमा चिनीको मात्रा बढेको थियो। 'एन्टिबायोटिक' चलाउनुपर्ने भएकाले पनि बालुवाटारमा राखेर सम्भव थिएन। त्यहाँ संक्रमण हुन्थ्यो र आराम पुग्दैनथ्यो। खोकी बढेकाले पनि हामीले बालुवाटारमा राख्दा 'रिस्क' हुने डर थियो। मुटुदेखि अन्य उपचार यहीँ हुनाले हामीले कहीँ लानुपर्दैनथ्यो। हामीले 'रिस्क'बाट बच्न पूर्वतयारी र 'रेस्ट'को लागि यहाँ राखेका हौं।

तर, अत्तालिनुपर्ने अवस्था भने थिएन। उहाँ धेरै काम गर्ने मान्छे हुनुहुँदो रहेछ। यहाँ पनि मन्त्रीसँग छलफल गर्न सुरु गरिसक्नुभयो। भेटघाट धेरै गर्नुपर्ने उहाँलाई। राति अबेरसम्म व्यस्त हुनुपर्ने। देशमा के के भइराछ छिनछिनमा अपडेट लिनुपर्ने। तर, यहाँ आराम गर्न 'फोकस' गरेका छौं हामीले।

उहाँ स्वस्थ भनिए पनि धेरै दिनसम्म 'डिस्चार्ज' नगर्दा शंका उब्जिएको कुरा पनि छ नि त?
हो, यो कुरामा जानकार छौं हामी। उहाँ लगभग स्वस्थ हुनहुन्छ। आजै डिस्चार्ज गर्दा फरक पर्दैन थियो। तर, अझै 'रेस्ट' गर्दा पछिसम्म उहाँलाई नै फाइदा हुन्छ। 'डिस्चार्ज' गर्ने कुरामा हामीले भनेको मान्नुहुन्छ उहाँ। 'डिस्चार्ज' हुन मन भए पनि उहाँ हाम्रो कुरा सुनेपछि 'कन्भिन्स' हुनुहुन्छ। आज नभए भोलि हामी डिस्चार्ज गर्छौँ। तर, यसमा दुवै पक्षको सल्लाह हुन बाँकी छ।

अन्य बिरामीको तुलनामा के अन्तर देख्नुहुन्छ उहाँमा?
उहाँको स्मरण शक्ति। रोग प्रतिरोधात्मक क्षमता। सेन्स अफ ह्युमर। पोजेटिभ एटिट्च्युड र आत्मविश्वास। यी कुरामा अरु बिरामीभन्दा अब्बल हुनुहुन्छ। डाक्टरहरुलाई धेरै विश्वास गर्नुहुन्छ। बारम्बार भन्नुहुन्छ, 'डाक्टरहरु भएपछि के हुन्छ र मलाई? जसरी पनि बचाउनुहुन्छ।'

प्रम ओली यहाँ भर्ना भएपछि तपाईँहरुले पाएको प्रतिक्रिया के हो?
कुन अस्पताल जाने? कुन डाक्टरलाई देखाउने? यो मान्छेको व्यक्तिगत अधिकार हो। हामी त काम गर्दै जाने हो। काम देखेपछि, राम्रो रिजल्ट देखेपछि जो पनि आउन बाध्य हुन्छन्। हामी हाम्रो अस्पतालमा ल्याउन लागि कुनै अभ्यास गर्दैनौं। विज्ञापनमा विश्वास छैन हामीलाई। 

उहाँ यहाँ भर्ना भएपछि, 'नेपाली डाक्टर र अस्पताललाई प्रधानमन्त्रीले विश्वास गरे। नेपाली अस्पताल पनि सक्षम रहेछन्' भन्ने मैलै सुनिरहेको छु। नेपाली भनेपछि तल्लो स्तरको हुन्छ भन्ने हाम्रो मानसिकता छ। हामी डाक्टरहरु पनि त्यही समाजकै हौं। तर, वास्तवमा हामी कोहीभन्दा कम छैनौं। बिरामी हुनु राम्रो त होइन तर प्रम ओलीले यहाँ भर्ना भएर नेपाली मानसिकता परिवर्तन गर्न केही योगदान दिएको जस्तो लाग्छ। तर, हामी उहाँ आउनुभन्दा अघि पनि राम्रै उचाइमा थियौं र अहिले पनि राम्रै उचाइ छ। हाम्रो स्तरमा केही फरक छैन।

उहाँलाई अस्पताल ल्याउँदा र अहिले के कस्तो परिवर्तन भएको छ?
अघि नै भनेँ मैले, सुरुदेखि अहिलेसम्म उहाँको आत्मविश्वासमा अलिकति पनि कमि आएको छैन। डाक्टरहरुले मर्न दिँदैनन् भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ। उहाँको अनुहारमा निराशा अलिकति पनि देखिन्नँ।

देशको प्रधानमन्त्री यहाँ उपचार गर्न आउँदा तपाईँहरुलाई डर लागेको थियो कि थिएन?
इमान्दारीपूर्वक भन्दा डर थियो हामीमा। किनकि, सामान्य मान्छेलाई 'इन्फेक्सन' हुँदा त तलमाथि भएर ज्यान जाने खतरा हुन्छ। उहाँ त मिर्गौला प्रत्यारोपण गरेको मान्छे। त्यसमाथि उहाँको सुगर असन्तुलित र ज्वरो आएको थियो। खोकी उस्तै थियो। फोक्सोमा संक्रमण थियो। स्वासप्रस्वासमा समस्या थियो। प्रधानमन्त्री जस्तो मान्छे तलमाथि हुने हो कि भन्ने दबाब त थियो नै। तर, पोजेटिभ डर थियो त्यो।
 
'ओभरकन्फिडेण्ट'ले 'एक्सिडेण्ट' गराउँछ भन्ने कुरामा हामी सधैँ सचेत छौं। अहिले खुशी छौं। स्वस्थ बनाएका छौं उहाँलाई। डिस्चार्ज गर्ने अवस्थामा पुर्‍याएका छौं। सन्तुष्ट  छौँ।

अब अस्पतालको कुरा गरौं। स्वास्थ्य मन्त्रालयदेखि त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरेर काम गर्नुपर्दा कत्तिको गाह्रो छ?
काम गर्न के गाह्रो हुने? पैसा ल्याएर काम नगरे पो गाह्रो त। रिजल्ट दिएका छौं, राम्रो। ८० बेडको अस्पतालले फार्मेसीबाट राम्रो आम्दानी गरेको छ। अस्पतालको आम्दानीबाट वार्षिक १८ करोड बराबरको विपन्न वर्गलाई 'फ्रि सर्भिस' दिएका छौँ। यसरी काम गरेपछि के गाह्रो हुनु। 

यो रिजल्टले नै हामीलाई 'नम्बर वान' बनाएको हो। हाम्रो 'स्ट्रेन्थ' हाम्रो कामबाट जो कोहीले अन्दाज गर्न सक्छन्।   सरकारी संस्थामा काम गर्न गाह्रो छ भन्नु नै काम गर्न नसक्नेले गर्ने बहाना हो। काम गर्न चाहनेलाई कसैले बाधा गर्दैन। योजना बनाएर गएपछि कसैले काम नगर भन्दैन। म त कहीँ केही गाह्रो देख्दिनँ।

तपाईँको अस्पतालबाट अरु अस्पतालले के सिक्ने त?
धेरै कुरा नसिकौँ। हरेक कर्मचारी आफ्नो अस्पताल छिर्दा आफ्नो अस्पताललाई कसरी राम्रो गर्ने भनेर मात्र छिरौँ। धेरै कुरा गर्नै पर्दैन, संस्थालाई नचुसे मात्र सबै संस्था माथि पुग्छ। तर, सबै संस्थामा भ्रष्टाचार भएर माथि नपुगेको भन्ने आशय हैन मेरो। आफूसँग भएको स्रोत साधनलाई प्रयोग गरेर कसरी 'डबल' आम्दानी गर्न सकिन्छ भन्ने बारे सोचौँ। सबैको स्तर माथि पुग्छ।

अबको 'ड्रिम प्रोजेक्ट' के छ त ?
'पब्लिसिटी' नगर्दा नगर्दै हाम्रो 'पपुलारिटी' बढी भयो। हाम्रो अस्पतालको शुद्ध नाम अब त मिडियाले पनि बोल्न सक्ने भएका छन्। 'माउथ पब्लिसिटी' ले राम्रो काम गरेको छ। पहिलाभन्दा अहिले बिरामीको चाप 'डबल' बढेको छ। यो 'च्यालेन्ज' हो हाम्रो लागि। अनि हामी 'च्यालेन्ज फेस' गर्न तयार छौँ। हामी 'कम्प्रोमाइज' गर्दैनौँ। सर्भिस राम्रै दिएका छौँ। अब अलि पर एउटा भवन बन्दैछ। त्यो बनेपछि मात्र हाम्रो 'ड्रिम प्रोजेक्ट' सुरु हुन्छ। 

हाम्रो देशमै यो स्तरको अस्पताल भएको धेरै मानिसहरुले थाहा नपाएको जस्तो लाग्दैन तपाईँलाई?
हो, हामी विज्ञापन गर्नतिर लागेनौँ। 'एक्सन स्पिक मोर द्यान वर्डस्' भन्ने सिद्धान्तमा लागेर विज्ञापन गर्नबाट भाग्यौँ। तर, अहिले सोच्दा थाहा नपाएका मानिसहरुलाई थाहा दिनुपर्ने जस्तो लागेको छ। प्रम ओली यहाँ आएपछि यो स्तरको सरकारी अस्पताल छ भन्ने कुरा धेरैलाई थाहा भयो। उहाँ बिरामी हुनु नराम्रो हो तर, उहाँ यहाँ भर्ना भएकै कारण हाम्रो अस्पतालमा अझै बिरामी बढ्ने छन्। च्यालेन्ज बढ्दै गएको छ हाम्रो।

एक शब्दमा भन्दा तपाईँहरुको अस्पतालको सबल पक्ष के हो? 
हामी कसैको प्रतिस्पर्धी हैनौँ, सहयोगी हौँ। हामी अरुमा निर्भर छैनौँ। प्रधानमन्त्रीजस्तो मानिसले हाम्रो अस्पताललाई विस्वाश गरेका छन्। यही नै सबल पक्ष हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell