मेलम्ची: सिन्धुपाल्चोक क्षेत्र २ – २ का प्रदेश सभा सदस्य निमा लामाले पिछडिएका माझी समूदायलाई कम्प्युटर उपहार दिएर तिहारको शुभकामना दिएका छन्।
आज मेलम्ची नगरपालिकाको १२ नम्बर वडामा रहेको बाँसबारीमा एक कार्यक्रम आयोजना गरी प्रदेश सभा सदस्य लामाले ८ वटा कम्प्युटर र एक प्रिन्टर हस्तान्तरण गरेका हुन्।
नवज्योति जनजागरण साँस्कृतिक परिवारका प्रतिनिधिलाई उक्त कम्प्युटर र प्रिन्टर सदस्य लामा र प्रमुख अतिथि एवं नेपाली कांग्रेसका जिल्ला सभापति विकास लामाले हस्तान्तरण गरे।
माझी युवाले पढाइ सकाएपनि उच्च शिक्षा अध्ययनका क्रममा ‘कम्प्युटर लिटरेसी’मा अरुभन्दा कमजोर महसुस गरेको पाइएकोले आफूले सहयोग गरेको लामाले जानकारी दिए। ‘माझी समूदायका युवाहरु पढाइमा अब्बल हुँदै आएका छन्। तर अभावका कारण उच्च शिक्षा लिन राजधानी जाने क्रममा कम्प्युटर लिटरेसीमा अरुभन्दा आफू कमजोर ठान्ने अनुभव गरेको पाएँ’ लामाले भने, ‘यसरी कमजोर फिल नहोस भनेर सहयोग गरेको हुँ।’
स्थानीय विद्यालयका कम्प्युटर शिक्षक अमृत माझीको संयोजनमा युवाहरुलाई दैनिक कम्प्युटर शिक्षा दिइने नवज्योति क्लबले जनाएको छ। कम्प्युटर पाएसँगै इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकामा रहेका युवा माझीहरुले आइटीमार्फत विश्वसँग जोडिने अवसर पाउने माझीले बताए।