नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरको झोलामा एउटा आइप्याड कतै जाँदा पनि छुट्दैन। उनी अति धेरै खुशी हुँदा होस् या धेरै दु:खी हुँदा त्यो आइप्याड निकाल्छन्, हेर्छन्। त्यसमा उनकी बहिनीको फोटोहरु छन्, बहिनीलाई मनपर्ने गीतहरु छन्।
तिहार नजिकिँदै गर्दा फेसबुकमा अरुका दाजु बहिनीले एक अर्कालाई ट्याग गर्ने पोस्टहरु देखिन थाले। भाइले दिदीको खुट्टा ढोगेको, टीका लगाएको, दक्षिणा वा उपहार मागेको पोस्ट देख्दा उनलाई आफ्नी बहिनीको निकै याद आउँछ। आइप्याड निकाल्छन् र त्यहीसँग समय बिताउँछन्।
विमल घर्ती मगर बेल्जियममा थिए। बेल्जियमको फुटबल क्लब आरएससी एण्डरलेक्टले २०१४ को जुलाई देखि एक वर्षका लागि प्रशिक्षणका लागि अनुबन्धन गरेको थियो।
त्यहाँ रहनु उनको लागि खुशीको कुरा थियो। तर, जब-जब चाड पर्व आउँथ्यो तब-तब उनलाई घरको यादले सताउँथ्यो। दशैं तिहारमा त झन् धेरै। त्यो वर्ष पनि तिहारको बेलामा अरुको दाजु बहिनीले टिका लगाएको फोटो फेसबुकमा पोस्ट गर्दा उनलाई डाहा भयो। मन थाम्न सकेनन् र त्यसदिन बहिनीसँग फोनमा धेरैबेर कुरा गरे।
बहिनीसँगको त्यो संवाद अझै सम्झन्छन् उनी।
‘दाइ मलाई भाइटीकाको गिफ्ट के ल्याइ दिन्छस्?’
- ‘तँलाई के चाहिन्छ त्यो चाहिं भन् न। जे भन्छस् त्यही ल्याइदिन्छु।’
‘मलाई त आइप्याड चाहिएको छ।’
सन् २०१५ को मे महिनामा विमल बहिनीले मगाएको आइप्याड लिएर आए।
‘चाड पर्व भनेको मलाई घर जाने र मम्मी र बहिनीलाई भेट्ने बिदा हो जस्तो लाग्छ। सानैदेखि होस्टल बसें। त्यसैले फेस्टिभलमा मात्र घर जान्थें’, उनी सुनाउँछन्।
मम्मीका लागि आफ्नो खुशीले किनेको र बहिनीका लागि उसले रोजेको उपहार लिएर बेल्जियमबाट फर्किएको दिन विमलको परिवारको लागि अर्को उत्सव बन्यो।
प्रशिक्षण सकेर आएको तीन महिनापछि उनी पहिलो साफ अण्डर १९ फुटबल च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको कप्तान घोषित भए। उनको कप्तानीमा नेपालले साफ च्याम्पियनसिप खेल्यो। ‘धेरै खुशी थिएँ। त्यो सब मेरा प्रशिक्षक, परिवार र मेरो मिहेनतका कारण सम्भव भएको थियो’, विमल खुशीको श्रेय दिन्छन्।
२०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध गोल गरेसँगै उनको चर्चा चुलियो। उनी अन्तर्राष्ट्रिय फुटबलमा गोल गर्ने विश्वकै छैटौँ कान्छा फुटबलर बने। मिडिया र सामाजिक सञ्जालमा विमलको खेलको तारिफ हुन थाल्यो।
यो सब भइरहँदा उनलाई बहिनीले पठाउने ‘अल द बेस्ट’ मेसेजको बानी लागेको थियो। हरेक पटक खेल हुनुअघि उनललाई बहिनीले मेसेज गर्थिन्। विमललाई पनि उनको मेसेजले लक लगाउँछ भन्ने विश्वास थियो। ‘कतिपटक उसले मेसेज नपठाउँदा हारेका थियौं। त्यसैले पनि त्यसको मेसेज पर्खन्थें’, उनी सुनाउँछन्।
२०१६ मा विमलको घुँडामा समस्या देखियो। खुट्टाका कारण खेल्न समेत गाह्रो भएपछि उनी उपचारका लागि पुन: एकपटक बेल्जियम पुगे।
त्यही बेला नवलपरासीकी मनीषा घर्ती मगरको रहस्यमय मृत्युको खबर सार्वजनिक भयो। केहीबेरमै सामाजिक सञ्जाल र मिडियाहरुमा उक्त घटनाको खबरसँगै अर्को फुर्को थपियो- मनीषा राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी हुन्।
उपचार सकिएको थिएन। त्यसैले विमलले बहिनी र आमाका लागि सपिङ गर्न समेत भ्याएका थिएनन्। सपिङ अनिवार्यजस्तै थियो किनकि केही गिफ्ट नपाउँदा बहिनीले घुर्की लगाउथिन्, आमाले केही भनेपनि उपहार पाउँदा खुशी भएको मुहार उनले देखेका थिए।
आमासित विमल। फाइल फोटो
२७ मेका दिन विमल बहिनीको अन्त्येष्टिका लागि नेपाल आउनु पर्यो, रित्तो हात र रित्तो मन लिएर। ‘यो पटक केही गिफ्ट ल्याएको छैन भन्दा उसले सहन्थी होली। तर, तेरो बहिनी नै छैनभन्दा मलाई सम्हालिन गाह्रो भयो’, रसाएका आँखा एकपटक चिम्म गर्छन्, थामिन्छन् र बोल्छन्,’तर आमाको लागि भएपनि म सम्हालिनु थियो।‘
समय र अवस्थाले विमललाई मैदानमाजस्तै बलियो भएर उभिन दिएन। जब आमा उनको नजिक आएर अंगालो हालिन् उनका रसाएका आँखा थामिएनन्। ‘बुवा बित्नु भएपछि आमाबुवा दुबैको भुमिका निभाउनु भएकी मम्मीलाई मैले त्यो अवस्थामा देखेको थिइनँ। उहाँलाई देखेर म गलें’, उनी पीडाको त्यो समय सम्झन्छन्।
मनीषा नवलपरासी बर्दघाटस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकि थिइन्। सुरुमा उनकै साथी रुद्रनारायण चौधरीले उनको हत्या गरेको आशङ्का थियो। तर, उनी निर्दोष सावित भए। विमलकी बहिनीले आत्महत्या नै गरेको पुष्टि भयो।
र, त्यसपछि विमलको तिहार कहिले पनि खुशी बोकेर आएन। ‘पहिले जस्तो दशैं आयो, तिहार आयो, न्यू एयर आयो भन्ने उत्साह छैन। आउँछ जान्छ।’
अघिल्लो वर्ष दशैंको टीका लगाए तर आमा एकपटक पनि नहाँसी दशैं सक्कियो। तिहारमा ठूलोबुवाको छोरी शान्ती घर्तीको हातबाट टीका थापे। भाइटिकाकै दिन बहिनीको यादले सबैभन्दा बढी सतायो। आफूभन्दा दुई वर्ष कान्छी बहिनी नै उनको मिल्ने साथी थिइन्। सबैकुरा उनीसँगै साट्थे।
‘हामी सधैं झगडा गर्थ्यौं। सबैभन्दा बढी मिल्थ्यौं पनि। मेरो बदमासीको पोल आमालाई लगाउथी तर कुन कुरा भन्न हुन्छ कुन हुँदैन उसलाई थाहा थियो’, उनलाई बोल्न गाह्रो हुन्छ।
बहिनी रहुन्जेल उसको जुन बानीले रिस उठाउथ्यो अहिले त्यही बानी धेरै सम्झन्छन्। ‘उसले घुर्काएको, सताएको, मसँग पैसा हुँदा गिफ्ट किन्न पसलसम्म तानेर लगेको खुब याद आउँछ।’
विमलकी बहिनीले खिचेको सेल्फी।
सानैमा दुर्घटनाका कारण बुवा गुमाएका उनले आमाको साथी बनेकी बहिनी पनि गुमाए। उनको हृदयमा लागेको घाउ आलै छ। योपटक दशैंमा पनि घर गएका थिए। कतिपटक आमाको अनुहार हेर्थे तर बोल्न सक्थेनन्। किनकि आमा मनलाई भारी बनाएर बसेकी छिन्, आड पाए भक्कानिन्छिन् भन्ने उनलाई थाहा हुन्थ्यो। फोनमा कुरा हुँदा भने विमललाई सम्झाउँछिन्, मनोबल उच्च राख्न सुझाव दिन्छिन्। छोरालाई देख्दा सम्हाल्न सक्दिनन्।
अहिले विमल शहिद स्मारक ए डिभिजन लिगका लागि च्यासल युथ क्लबबाट खेल्ने तयारीमा जुटेका छन्। दैनिक प्रशिक्षणका लागि व्यस्त हुन्छन्। खेल वा प्रशिक्षण हुँदा उनी साथीहरुसँग भुल्छन्, खेल राम्रो बनाउन मिहेनत गर्छन्। तर एक्लो हुँदा कतिपटक कसैले नदेख्ने गरी रोएका छन्, कतिपटक आफैलाई थुम्थुमाएका छन्, बहिनीको यादमा।
मनीषाका लागि अन्तिम गिफ्ट बनेको आइप्याड नै उनको साथी हो। ‘बहिनी र उसको साथीहरुको फोटो छ। उ हाँसेको सेल्फी देख्दा उ हामीसँग छैन जस्तो लाग्दैन’, बोल्दै गर्दा उनी निराश देखिन्छन्।
सबैकुरा सुनिदिने बहिनी नरहेपछि विमल आजभोली कसैसँग आफ्नो दु:ख सुनाउन खोज्दैनन्। धेरै खुशी होस् वा अत्याधिका पीडा हरेक अवस्थाबाट आफै बाहिर निस्किन कोशिश गर्छन्।
मैदानमा खेल्नको लागि हरेकपटक नयाँ टिम बन्छ, नयाँ साथीहरु भेट्छन्। तर, जिन्दगीको मैदानमा त टिमको दुईजना नफर्कनेगरी गुमाइसके। त्यसैले जिन्दगीमा नहार्नेगरी खेल्ने तयारी गर्दैछन्।
‘अब मेरो साथी मम्मी, मम्मीको साथी म। दु:ख, आक्रोश, चिन्ता एकअर्कासँग नै हो साट्ने। खुशी पो सबैसँग हुन सकिन्छ त रुन सकिदैन रहेछ’, विमल परिपक्व सुनिन्छन्।