PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इपीएलमा विदेशी खेलाडी नै हावी



गोविन्दराज नेपाल

इपीएलमा विदेशी खेलाडी नै हावी
पोखरा राइनोजका खेलाडी रिचर्ड लेभी

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को उद्घाटन खेलमै साविक विजेता विराटनगर वारियर्सलाई जित दिलाउन नेपालका करण केसीले अलराउण्ड प्रदर्शन गरे।

पोखरा खराइनोज विरुद्ध सुपर ओभरमा पुगेको खेलमा करणले सुपर ओभरमा २० रन प्रहार गर्दा विराटनगरले लगातार दोस्रो जित हात पार्‍यो। करण दुवै खेलमा म्यान अफ दि म्याच घोषित भए।

ललितपुर प्याट्रिओट्स विरुद्धको उद्घाटन खेलमा करणले १९ बलमा नटआउट ३६ रन बनाएका थिए। २ विकेट समेत लिएका थिए।

काठमाडौँको टीयू मैदानमा भइरहेको इपीएलमा नेपाली खेलाडीको प्रदर्शन सम्झँदा यही नाम सबैभन्दा अगाडी आउँछ। यस्तै चितवनलाई शुक्रवार पहिलो खेल जिताउन नेपाली बलरद्वय ललितसिंह भण्डारी र सागर ढकालले पनि उत्कष्ट बलिङ गरे। ललितले ४ विकेट लिँदै म्यान अफ दि म्याच बने। ललितपुरका लागि सुरुवात दुई खेलमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे भने पछिल्लो दुई खेलमा पवन सराफले ३-३ विकेट लिए। अभिनास बोहरा,विपिन खत्री र विक्रम सोबको बलिङले पनि आशा जगाएको छ। तर ठूला नाम चलेको नेपाली खेलाडीले सोचे अनुरुप राम्रो प्रदर्शन गर्न सकिकरहेको छैनन्।

राष्ट्रिय टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसँगै सोमपाल कामी, शरद भेषावकर, दीपेन्द्र सिंह भरी, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, रोहित कुमार पौडेल, ललित राजवंशी, बसन्त रेग्मी लगायत सबै खेलाडी अहिले इपीएल खेलिरहेका छन्। तर प्रदर्शन भने राम्रो हुन सकेको छैन। कारण यस पटक इपीएलमा विदेशी खेलाडी हावी भइरहेका छन्।

ललितपुरको लागि सुरुवाती दुई खेल खेलेका नेपालका युवा स्टार सन्दीप लामिछानेले दुई खेलमा ५ विकेट लिएका थिए तर उनी बिग बास लिग खेल्न अष्ट्रेलिया गइसकेको छन्।

इपीएलमा एक सातामा ११ खेल भइसक्दा विदेशी खेलाडीको नाम चर्चाको विषय बनेको छ भने प्रदर्शनमा पनि विदेशी खेलाडीले उत्कृष्ट खेल देखाइरहेका छन्। जित्ने टोलीमा मात्र नभई पराजित टोलीका लागि समेत विदेशी खेलाडीको प्रदर्शन नेपाली खेलाडीको भन्दा अगाडी छ।

पोखरा राइनोज विरुद्ध भैरहवा ग्लाडिएटर्सले इपीएलकै कीर्तीमानी २१६ रनको लक्ष्य पछ्याउने क्रममा भारती खेलाडी रवी इन्दर सिंहले नटआउट १२५ रन प्रहार गरे। पोखराकै लागि सुरुवाती दुई खेलमा विदेशी खेलाडीद्वय रिचर्ड लेभी र कायल कोत्जलरे उत्कृष्ट प्रदर्शन गरे। लेभीले दुवै खेलमा विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे।

पहिलो खेलमा लेभी र कोत्जरले शतकिय साझेदारी गर्दा दोस्रो खेलमा ९७ रनको साझेदारी गरे।

पोखराका लेभी र कोत्जर

भैरहवाले दोस्रो खेलमा चितवन टाइगर्सलाई पराजित गर्दा डच खेलाडी रायन टेन डेसचाटेले अलरउण्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याच बने। यस्तै तेस्रो खेलमा युएइका मोहम्मद नाभीले ४ विकेट लिएका थिए। भैरहवाले उक्त खेलमा विराटनगरलाई पराजित गरेको थियो।

यस्तै पहिलो खेलमा विराटनगरसँग पराजित भएको ललितपुरलाई लगातार ती खेल जिताउन भारतीय खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रह्यो। दोस्रो खेलमा ललितपुरले चितवनलाई हराउँदा नेपालका दुई सन्दीप (लामिछाने बलिङ र जोराले ब्याटिङमा) उत्कृष्ट प्रदर्शन गरे। भारतीय खेलाडी सन्नी पटेलले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरे।

त्यसबाहेक पोखरा राइनोज विरुद्ध १६७ रनको लक्ष्य पछ्याउने क्रममा गोरव तोमर र जयकिसन कोल्सावालको ओपनिङ जोशीले उत्कृष्ट प्रदर्शन गरे।

पोखरा विरुद्ध यो जोडीले पहिलो विकेटका लागि १२९ रनको साझेदारी गर्दा तोमरले ४१ बल खेल्दै ४ चौका र ८ छ्क्काको मद्दतमा ८२ रन बनाएका थिए। कोल्सावालाले ३८ बलमा ४ चौकार ३ छक्काको मद्दतमा ५१ रन बनाए। उक्त खेलमा बलिङमा नेपालका पवन सारफले ३ विकेट लिएका थिए। पोखराका लागि लेभीले ३९ बलमा ३ चौका र ९ छक्का प्रहार गर्दै ८४ रन बनाएका थिए।

यस्तै ललितपुरको चौथो खेलमा बलिङतर्फ पवन सराफले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएपछि काठमाडौँ कंग्स ११ लाई १०९ रनमै रोकेको थियो। तर ब्याटिङमा विदेशी खेलाडीको जोडीले नै जिताए।

११० रनको लक्ष्य ११ ओभरमै पुरा गर्ने क्रममा तोरमर र कोल्सावाले ओपनिङ जोडीले शतकिय साझेदारी गर्दै जिता दिलाए। यस खेलमा यी दुईले पहिलो विकेटका लागि ११५ रन जोडे।

तोमरले ३५ बल खेल्दै ९ चौका र ५ छक्काको मद्दतमा ८० रन बनाउँदा कोल्सावाले २८ बलमा २७ रन बनाए। काठमाडौँका लागि पनि विदेशी खेलाडी केभिन ओ'ब्रयानले सर्वाधिक ४२ रन बनाएका थिए। नेपाली खेलाडी नचल्दा उनले ३३ बल खेल्दै ३ चौकार २ छक्का प्रहार गरे।

काठमाडौँले पनि पहिलो खेलमा चितवनलाई पराजित गर्दा बलिङमा भारतीय खेलाडी प्रदिप शाह र ब्याटिङमा भारतकै सुब्रनिमन्यम आनन्दले उत्कृष्ट प्रदर्शन गरेका थिए।

दोस्रो खेल हारेको काठमाडौँले तेस्रो खेलमा पोखरा राइनोजलाई पराजित गर्दा विदेशी खेलाडी नै चम्किए।

नियमित कप्तान सोमपाल कामी चोटका कारण खेल्न नसक्ने भएपछि पोखरा विरुद्ध युएईका कप्तान रोहन मुस्ताफाले काठमाडौँको कप्तानी गरेका थिए। अघिल्लो खेलमा भेकिनले नै कप्तानी गरेका थिए। रोहनको यो पहिलो खेल थियो। यस खेलमा पोखराले दिएको १६६ रनको द्यष्य पुरा गर्ने क्ररमा केभिन ओ'ब्रायनले ३५ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ५४ रन प्रहार गरे। यस्तै मुस्ताफाले पनि ओपनिङ गर्दै ४० रन बनाएका थिए। यस्तै भारतीय खेलाडी आनन्दले १८ बल खेल्दै २ छक्काको मद्दतमा २७ रन बनाए। बलिङमा केभिनले २ तथा मुस्ताफाले १ विकेट लिए।

केभिन ओ'ब्रायन

यस्तै चितवन र विराटनगरबीच शुक्रवार भएको खेलमा पनि विदेशी खेलाडीले धेरै रन बनाए। यस सिजन दोस्रो खेल खेलेका हङकङका बाबार हायतले ४२ बल खेल्दै ५ चौका र ८ छक्काको मद्दतमा ९० रन बनाए पनि विराटनगरलाई जिताउन भने सकेनन्। उनी गत सिजनको उत्कृष्ट खेलाडी समेत हुन्।

चितवनका लागि इपीएलकै दोस्रो उच्च स्कोर (१९६) बनाउने क्रममा इंग्ल्याण्डका जोन सिम्पसनले ४४ बलम खेल्दै ६ चौका र ५ छक्काको मद्दतमा ७४ रन बनाए भने जर्ज स्कटले १० बलमा नटआउट २४ रन प्रहार गरे।

अहिलेसम्म भएका खेलमध्ये आधा भन्दा बढी खेलको नतिजामा विदेशी खेलाडी नै निर्णायक भएका छन्।

के नेपाली खेलाडीमाथि घरेलु मैदानमै विदेशी खेलाडी हावी भएको हो वा नेपाली खेलाडीको प्रदर्शनमा निखारता आउन नसकेको हो?

यसपटक विदेशी खेलाडीको कोटामा टेष्ट खेलेका देखि टी-२० मा विशेषज्ञ मानिने ठूला नामका खेलाडीहरु आएका छन्। केही खेलाडीसँग आइपीएल खेलेको लामो अनुभव नै छ भने केही खेलाडीको अन्तर्राष्ट्रिय क्रिकेटमा सम्झनलायक प्रदर्शन गरिसकेका छन्।

लेभीले कुनै समय टी-२० मा छिटो शतक प्रहार गरेका थिए। एसोसिएटका उत्कृष्ट खेलाडी नेदरल्याण्ड्सका रायन टेन डेसचाटेले आइपीएद्यमा कोलकताका लागि खेलिसकेका छन्। लेभीले पनि आइपीएलमा मुम्बईका लागि खेलिसकेका छन्।

यस्तै विश्वकपमा इंग्ल्याण्ड विरुद्ध शतक प्रहार गर्दै जित दिलाएका केभिन ओ'ब्रायन अनी आयरल्याण्डका विष्फोटक ओपनर पउल स्ट्रलिङ जस्ता ठूला खेलाडी टीयूमा खेलिरहेका छन्। दक्षिण अफ्रिका र नेदरल्याण्ड्सको लागि खेलिसकेका रोलेफ भान डेर मर्वेले पनि अलराउण्ड प्रदर्शन गरिरहेका छन्।

यसबाहेक भारतमा रणजी ट्रफी खेलेका सन् पटेल गौरव तोमर कोल्सावाल रवी इन्दर सिंह अनी हङकङका बाबर हायत जो गत सिजन उत्कृष्ट खेलाडी बनेका थिए। युएईका कप्तान रोहन मुस्ताफा र मोहमद नाभिद अनी स्कटल्याण्डका कप्तान कोत्जर, नेदरल्याण्ड्सका पउल भान मिकेरेन पनि इपीएल खेलिरहेका छन्।

इंग्ल्याण्डको काउन्टी क्रिकेट खेलिरहेका जोन सिम्पसन, जर्ज स्कट, पउल कघलिन पनि पहिलो पटक नेपाल आएका छन्।

इपीएल २०१८ मा १९ मध्ये ११ खेल सकिएको छ र अहिलेसम्म धेरै रन बनाउने खेलाडीको सूचीमा शीर्ष दशमा विदेही खेलाडीकै वर्चस्व छ। यो सूचीमा नेपालबाट दीपेन्द्र सिंह ऐरी र करण केसी मात्र छन् यसले पनि विदेशी खेलाडी कति हावी रहेछन् भनेर देखाउँछ। शीर्ष १५ को सूची बनाउँदा समेत नेपाली खेलाडी ३ जना मात्र पर्छन्।

अहिलेसम्म नेपाली खेलाडीले अर्धशतक समेत प्रहार गर्न नसक्नु अर्को विडम्बना हो। विदेशी खेलाडीले एक शतक र ८ अर्धशतक प्रहार गरिसकेका छन्। सबै भन्दा धेरै छक्का र चौका पनि विदेशी खेलाडी नै प्रहार गरेका छन्।

पोखराबाट खेलेका रिचर्ड लेभीले ४ खेलमा दुई अर्धशतक सहित सर्वाधिक २०२ रन बनाएका छन्। ललितपुरका गौरव तोमरले १९६, भैरहवाका रवी इन्दर सिंहले एक शतकसहित १६२ बनाएका छन्। नेपालको तर्फबाट धेरै रन प्रहार गर्ने दिपेन्द्र १२१ रनसहित चौथो स्थानमा छन्। चार खेलमा ९३ रन बनाएका करण केसी यो सूचीको दशौँ स्थानमा छन्। १५औँ स्थानमा रहेका अर्का नेपाली खेलाडी आसिफ शेखले ६८ रन बनाएका छन्।

बलिङतर्फ भने नेपाली खेलाडी ललितसिंह भण्डारी ७ विकेटसहित सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन्। शीर्ष दशको सूचीमा ६ नेपाली खेलाडी रहँदा विदेशी खेलाडी ४ जना छन्। नेपालका पवन सराफ, सागर ढकाल, विक्रम सोब, सुशन भारी सहित डच खेलाडी रोलेफ भान डेर मर्वेल ६-६ विकेट लिएका छन्। यस्तै बिग बास खेल्न गइसकेका नेपालका स्टार खेलाडी सन्दीप लामिछाने डच खेलाडी पउन भान मिकेरेन र इंग्ल्याण्डका पउल कघलिनले समान ५ विकेट लिएङ्का छन्। युएईका मोहम्मद नाभिदले एकै खेलमा ४ विकेट लिएका थिए। उनी यो सूचीमा दशौँ स्थानमा छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell