PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जापानको एक रेष्टुराँमा भीषण आगलागी, दर्जनौं घाइते : विश्वमा आज



जापानको एक रेष्टुराँमा भीषण आगलागी, दर्जनौं घाइते : विश्वमा आज

रेष्टुराँमा आगलागी

जापानको एक रेष्टुराँमा भीषण आगलागी भएको छ। जापानको सापपोरा क्षेत्रमा रहेको रेष्टुराँमा भएको उक्त घटनामा ४१ जना घाइते भएको जनाइएको छ। प्रहरीले ग्यास विस्फोटका कारण आगलागी भएको हुनसक्ने जनाएको छ।  प्रहरीले उद्धारकार्य जारी रहेको र थप अनुसन्धान भइरहेको जनाएको छ। 

यजिदी महिलाको सुरक्षा गरियोस् : मुराद

सन् २०१८ को नोबेल पुरस्कार विजेता पूर्व युद्धबन्दी नादीया मुरादले इस्लामिक स्टेट (आइएस) समूहका नेताहरूलाई यजिदी अल्पसंख्यक समुदायका महिलाहरू माथिको अपराधबारे अन्तराष्ट्रिय अदालतमा मुद्दा फैसला हुनुपूर्व उनीहरूको सुरक्षा गरिदिन आग्रह गरेकी छिन्। इराकी आइएस समूहलाई अन्तराष्ट्रिय अदालतमा ल्याइनुपूर्व उनीहरूको आक्रमणको निशाना बन्दै आएका याजिदी महिलाहरूको सुरक्षाका लागि अन्तराष्ट्रिय समुदायले जिम्मेवारी लिनुपर्छ मुरादले बताइन्। 

खाशोग्गी हत्या प्रकरण

संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार जमाल खशोग्गीको हत्या प्रकरणमा विश्वसनीय छानविन गरी वास्तविकतालाई बाहिर ल्याउन आग्रह गरेका छन्। साउदी दूतावासमा गएका बेला दूतावासभित्रै गत अक्टोबर २ मा हत्या भएको थियो। साउदी अरबका राजकुमार मोहम्मद विन सलमानका कट्टर आलोचक रहेका वासिङ्टन पोष्टका लागि काम गर्दै आएका पत्रकार खशोग्गीको हत्यामा संलग्न आरोपित व्यक्तिहरूलाई टर्कीलाई सुपुर्दगी गर्न गरिएको टर्कीको आग्रहलाई साउदी अरबले अस्वीकार गर्दै आएको छ। 

रसियामा आगलागी

रसियाका विभिन्न शहरका घरमा भएका आगलागीमा परेर ६ बालबालिका सहित १० जनाको मृत्यु भएको रसियन सञ्चार माध्यमहरुले जनाएका छन्। उराल पर्वतको दक्षिणी क्षेत्रमा अवस्थित बास्कोरटोस्टानमा घरमा भएको आगलागीबाट तीन बालबालिकाको मृत्यु भएको छ। दक्षिणी साराटोभ क्षेत्रको क्रास्नी कुट गाउँको घरमा आगो लाग्दा दुई बच्चाको मृत्यु भएको छ। त्यस्तै, काजानमा पनि दुई वयस्क पुरुष र एक बच्चाको घरमा भएको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ। 
फोटो : ABC/AP/TELEGRAPH/AFP



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell