काठमाडौं : विधान अनुमोदनका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ। पदाधिकारी समावेशी हुनुपर्ने माग उठेपछि बैठक स्थगित भएको कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए।
बिहान १२ बजेबाट शुरु भएको बैठक केही बेरका लागि स्थगित भएको केन्द्रीय सदस्य लामाले बताए। 'अहिले बैठक स्थगित भएको छ। केही बेरपछि पुन बस्ने भनिएको छ,' उनले भने।
शीर्ष नेताबीच पदाधिकारी बढाएर ८ जना बनाउने भनिए पनि समावेशी बनाउन नसक्नु दुखद् भएको उनको प्रतिक्रिया थियो। यसअघि ६ जना पदाधिकारी रहेकोमा उपसभापति एक र सहमहामन्त्री एक जना थप्ने गरी शीर्ष नेताहरुबीच सहमति भएको थियो।
विधान अनुमोदनका लागि महासमिति जारी रहे पनि सहमति जुटाउन नसक्दा महासमिति अवरुद्ध हुँदै आएको छ। पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा तयार पारिएको विधानलाई केन्द्रीय समितिमा अनुमोदनका लागि आज बैठक बसेको हो।
तर, पार्टीको पदाधिकारी टुंगो लगाउने काम अपुरो भएको भन्दै केन्द्रीय सदस्यहरु गगन थापा, महेन्द्र यादव, लामालगायतले आपत्ति जनाएका थिए। बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले पदाधिकारीमा महिलासमेत समेटिनुपर्ने माग गरेका थिए।
पदाधिकारी समावेशी नबने कुनै पनि हालतमा विधान पारित हुन नदिने लामाले बताए। भने, 'पदाधिकारीको टुंगो लगाउँदा समावेशी बनाइएन। त्यसैले केन्द्रीय समितिमा आवाज उठाएका हौं। समावेशी बनेन भने विधान केन्द्रीय समितिबाट अनुमोदन हुँदैन।'