
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट (आइएस) समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताएका छन्।
टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानसँगको भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भने, 'टर्कीका राष्ट्रपतिले सिरियामा बाँकी रहेका आइएस लडाकूहरुलाई टर्कीले नै परास्त गर्न सक्षम रहेको विश्वास दिलाएका छन्।'
President @RT_Erdogan of Turkey has very strongly informed me that he will eradicate whatever is left of ISIS in Syria....and he is a man who can do it plus, Turkey is right “next door.” Our troops are coming home!
— Donald J. Trump (@realDonaldTrump) December 24, 2018
इस्लामिक स्टेट परास्त भैनसकेको र सिरियामा जारी गृहयुद्ध समाप्त समेत नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको घोषणालाई लिएर देशभित्र र बाहिर तिब्र आलोचना भइरहँदा ट्रम्पको यस्तो भनाइ आएको हो।
ट्रम्पले ट्वीटमा लेखेका छन्, 'एर्डोगान यो विषय सुल्झाउन सक्षम व्यक्ति हुन। अमेेरिकी सैनिक फिर्ता हुँदैछन्।'
दुबै नेताबीच वासिङटनमा भएको भेटवार्ता मुख्यतः सिरियामा सक्रिय आइएस समूह र अमेरिकी सेनाको फिर्तीका विषयमा केन्द्रित रहेको ह्वाइट हाउसले जनाएको छ। सिरियामा तैनाथ अमेरिकी सेनाले आइएस विरुद्ध बहुराष्ट्रिय संघर्षमा सहयोग गरेको थियो ।
सेना फिर्ताको निर्णयले गर्दा ट्रम्प प्रशासन संकटमा रहेको छ। संसदमा उक्त प्रस्ताव पारित नहुँदा सरकारी कार्यालयहरु आंशिक रुपमा बन्द भएका छन्।
यता,सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको अमेरिकी सैनिक अधिकारीहरुले बताएका छन्। अमेरिकी राष्ट्रपति र टर्कीका राष्ट्रपतिबीच सैनिक रिक्तता हुन नदिने सहमति भएसँगै उक्त आदेशमा हस्ताक्षर भएको जनाएको छ। तर अमेरिकी सैनिक फिर्तीको आदेशको विस्तृत विवरण भने दिइएको छैन। रासस/एएफपी