काठमाडौँ: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पहिलो पटक पत्रकार सम्मेलनमार्फत १३ वर्षीया निर्मला पन्तको प्रकरणबारे जानकारी दिएका छन्।
सोमवार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक खनालले निर्मला प्रकरणमा हतारमा निर्णय खोज्दा प्रहरीबाट केही गल्तीसमेत भएको बताएका हुन्।
महानिरीक्षक खनालले भने, ’घटनाको निष्कर्ष त जसलाई पनि चाँडो निस्कोस् भन्ने हुन्छ। तर चाँडो गरुन् भन्दा गलत अभ्याससमेत भएको पाइएको छ। अनुसन्धानमा प्रेसर आउने वातावरण नभइदिए सही अनुसन्धान गर्दियोस् भन्ने तपाईँहरूको चाहना छ। सबैले सहयोग गर्दिनुभयो भने राम्रो हुन्छ।‘
महानिरीक्षक खनालले निर्मला प्रकरणको उच्चतम क्षमता भएका अनुसन्धान अधिकृत खटाइएको जानकारी दिएका छन्। ‘सबैको चाहना चाँडो होस् भन्ने नै छ। हामी पनि दृढ भएर लागी रहेका छौँ,‘ महानिरीक्षक खनालले भने। खनालले अपराधी जो सुकै भए पनि नछोड्ने दाबी दोहोर्याए।
निर्मला प्रकरणमा सुरुदेखि नै भिआइपीको संलग्नता रहेको आशंका गर्दै आएको छ। प्रहरी महानिरीक्षक खनालले जस्तै भिआइपी भए पनि अपराधको नजरमा अपराधी भएकाले कारबाही हुने बताए। खनालले भने, 'कोही भिआइपी वा ठुला व्यक्तिको संलग्नताको सूचना पाउनुभएको छ भने हामीलाई भन्नुस्। हामी कारबाही गर्छौँ।'
यसैगरी खनालले आफूले सोख पुरा गर्न आवश्यकता भन्दा बढी गाडी प्रयोग नगरेको बताएका छन्। महानिरीक्षक खनालले आवश्यकता अनुसार अर्थ मन्त्रालय मन्त्रालयमार्फत आएकाले प्रयोग मात्र गरेको दाबी गरेका छन्। महानिरीक्षक खनालले भने,’ गाडी मेरो सोखले चढेको होइन, मैले सोख गर्नु पनि छैन। अर्को वर्ष अर्कैले चढ्ने हो। आवश्यकताको आधारमा मन्त्रालयबाट आएको गाडी चढेको छु।‘