PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कम्युनिस्टहरूसँग काम गर्ने ढंग नै हुँदैन, विश्वकै राजनीति पार्टीमध्ये उत्कृष्ट विधान कांग्रेसको : पौडेल 



कम्युनिस्टहरूसँग काम गर्ने ढंग नै हुँदैन, विश्वकै राजनीति पार्टीमध्ये उत्कृष्ट विधान कांग्रेसको : पौडेल 

बनेपा: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली दुई तिहाइको सरकार हुँदा पनि सरकार सञ्चालनको मेसो नपाएर कुहिरोको काग जस्तो भएको आरोप लगाएका छन्। 

काभ्रेको बनेपामा रेडियो अरनिको ९६.३ मेगाहर्जको शुभारम्भ गर्दै नेता पौडेलले सरकार गतिहीन बन्दा मुलुकको विकास पछाडि परेको दाबीसमेत गरे। उनले भने,‘ओली सरकारलाई हेर्दा नै कम्युनिस्टहरूसँग काम गर्ने ढंग हुँदैन भन्ने स्पष्ट हुन्छ। कम्युनिस्टहरू विरोधको राजनीति र गफमात्र गर्ने सक्षम हुन्छन् भन्ने दुई तिहाइको सरकार गतिहीन बन्दा स्पष्ट भयो।’
 
वरिष्ठ नेता पौडेलले दुई तिहाइ बहुमत र रचनात्मक प्रतिपक्ष भएको अवस्थामा पनि सरकार गतिहीन बन्दा सरकार सञ्चालकहरूको क्षमता र दक्षतामाथि जनताले प्रश्न गर्ने बेला भएको बताए। दुई तिहाइको सरकार भएको अवस्थामा मुलुकमा विकासको गति फटाफट अगाडि बढ्नुपर्ने तर गर्नै पर्ने र नगरी नहुने कामसमेत सरकारले गर्न नसकेको पौडेलको भनाई थियो। 

पौडेलले महासमिति बैठकबाट विश्वकै राजनीति पार्टीमध्ये उत्कृष्ट विधान नेपाली काँग्रेसले बनाएको दाबी गरे। उनले नेपाली काँग्रेसको विधान लोकतान्त्रीकरण र समावेशीकरणको नमुना भएको दाबी गरे। 

पौडेलले नेपालमा रहेको अथाह स्रोत चिन्न नसक्दा र उपभोग गर्न नसक्दा नेपाल विकासमा पछाडि परेको बताउँदै नेपालको स्रोत र उपभोगका बारेमा सञ्चार माध्यमले नागरिकलाई जानकारी गराउन सुझाव दिए। भने,‘विश्वका धेरै मुलुकले कृत्रिम कुराहरू बेचिरहेका छन्। हामीले प्रकृतिले दिएको सुन्दरता अनि प्रकृतिले दिएको अथाह जडिबुटीलाईसमेत बेच्न सकेका छैनौ।’ उनले नेपालको स्रोत उपयोग गर्नका लागि सञ्चारमाध्यमले नागरिक सचेत बनाउने अभियानमा जुट्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell