काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा सशक्त रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका छन्।
आज सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यलयमा बसेको दलको बैठकमा देउवाले पछिल्लो संसद अधिवेशनमा प्रतिपक्षीको भूमिका कमजोर देखिएको बताउँदै अब सशक्त हुन निर्देशन दिए।
‘पछिल्लो पटक संसदमा हाम्रो भूमिका कमजोर थियो। आम जनताले, मिडियाले हामी कमजोर भएको कुरा उठायो।’ बैठकमा देउवाले भने,‘अब मिडियाले होस् वा आम जनताले प्रतिपक्षी कमजोर भएको भन्ने कुरा उठाउन नपाओस्।’ देउवाले यसअघि महासमितिको बैठकमा सरकारको विरोधका लागि तयारी अवस्थामा रहन कार्याकर्तालाई निर्देशन दिएका थिए।
दलको बैठकमा सभापति देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारको कुरा सशक्त रुपमा उठाउन निर्देशन दिए। देउवाले शिक्षा विधेयक, कर्मचारी समायोजन अध्यादेश लगायतका विषयमा सशक्त भएर प्रस्तुत हुन निर्देशन दिएको सांसदहरुलाई निर्देशन दिएका छन्।
आजको दलको बैठकमा पछिल्लो अधिवेशनमा प्रतिपक्षीको भूमिका र आगामी योजनाका विषयमा छलफल भएको कोषाध्यक्ष सीतादेवी यादवले पहिलोपोस्टलाई जानकारी दिइन्। सङ्घीय संसद्को दुबै सदनको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ।
सदन शुरु हुनुअघि सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बसेको हो।