PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओलीमाथि देउवाको प्रहार : अरुले गरेको काम आफूले गरेको भन्ने? हद हुन्छ नि! प्रधानमन्त्री भएर ठग्ने?



ओलीमाथि देउवाको प्रहार : अरुले गरेको काम आफूले गरेको भन्ने? हद हुन्छ नि! प्रधानमन्त्री भएर ठग्ने?

काठमाडौं: नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान सरकारको काम कारवाहीबाट जनता असन्तुष्ट रहेको बताएका छन्।

हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले कञ्चनपुरकी निर्मला पन्त प्रकरणलाई प्राथमिकताकासाथ उठाए। उनले निर्दोष व्यक्तिहरुलाई पक्राउ गरी जबरजस्ती अपराध कबुल गर्न लगाएको घटनाबाट सरकार आफै दोषी बचाउन लागि परेको आरोप लगाए। देउवाले भने, 'चौधरीलाई, रावललाई पक्रेको छ। जबरजस्ती अपराध कबुल गर्न लगाएको छ। यसबाट सरकारले नै निर्मलाको हत्यारालाई बचाउन खोजेको स्पष्ट हुन्छ।'

सभापति देउवाले सरकारसँग निर्मलाको हत्यारा पत्ता लगाउन जोडदार माग गरे।

त्यसैगरी देउवाले धर्मप्रचार गर्ने संस्थाको कार्यक्रम सरकार नै आयोजक बनेकोमा आपत्ति प्रकट गरे। राज्यको कुनै धर्म नहुने उल्लेख गर्दै उनले सबै धर्मको कार्यक्रम सरकारले आयोजना गर्नै नसक्ने तर्क गरे। 'कतिवटा धर्म छ नेपालमा? सबैको आयोजक सरकार बन्ने? सबैको आयोजक सहआयोजक बने के हुन्छ देश? धर्मनिरपेक्षता देश। कता जाँदैछ सत्त पक्ष?' देउवाको प्रश्न थियो।

त्यसैगरी देउवाले आफ्नो नेतृत्वको सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले पोलपोलमा पोस्टर टाँसेर आफूले ल्याएको भनी प्रचार गरेकोमा व्यङ्ग्य गरे। भने, 'मेरो नेतृत्वमा संसदबाट पारित भएको सामाजिक सुरक्षा कार्यक्रम आफ्नै कार्यक्रम भनेर भड्किलो प्रचार गरे। ठाउँठाउँमा पोस्टर टाँसेर। प्रधानमन्त्रीले। आफैले गर्नु नि। अर्काले गरेको पनि मैले गर्‍या किन भन्ने। हद हुन्छ नि।' 

प्रधानमन्त्री नै जनतालाई भ्रमित पार्ने काममा लागेको आरोप लगाउँदै थपे, 'के भएको हो? अर्काले गर्‍या काम आफैले गरेको देख्ने। यसलाई के भन्ने? देशको प्रधानमन्त्री जनतालाई भ्रममा राख्ने के हुन्छ देशको हालत। त्यो पनि प्रधानमन्त्रीले लौ। प्रधानमन्त्रीले यसरी ठग्न पाइन्छ? अरुले गर्‍या पनि आफै गरेको भन्ने। लौ सबै तपाईले गरेको हो मान्छौ। काम गर्नुस न।'

मिलिनियम च्यालेन्ज कर्पोरेसनको पाँच सय मिलियन अमेरिकी डलर सहयोग पनि आफ्नै सरकारका अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको पालामा हस्ताक्षर गरेको उल्लेख गर्दै अहिलेको सरकारले आफैले गरेको भन्दै जग हसाएको देउवाको आरोप थियो। उक्त रकम उर्जा विकासका क्षेत्रमा लगानी गर्ने गरी सम्झौता भएको हो। एसियाबाट यस्तो सहयोग पाउने नेपाल पहिलो राष्ट्र हो। तत्कालीन अर्थसचिव शान्तराज सुवेदीले न्युयोर्कमा यस सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।

त्यसैगरी देउवाले हालै कर्मचारीले गरेको आन्दोलनको विषयलाई पनि उठाए। उनले कर्मचारी स्थायी सरकार भएको उल्लेख गर्दै वर्तमान सरकारले कर्मचारीलाई दुख दिने काम गरेको आरोप लगाए।

देउवाले वाइडबडी प्रकरणबारेसमेत आफ्नो दलले नछाड्ने चेतावनी दिए। भने,'वाइडबडीबारे कुरा बाझिएको छ। सत्य तथ्य बाहिर आओस। नआए हाम्रो पार्टीले छाड्ने छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell