PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

अमेरिकी राष्ट्रपति सुटुक्क इराक आएकोमा इराकी सांसदको आपत्ति, अमेरिकी सेना फिर्ता गर्न माग



अमेरिकी राष्ट्रपति सुटुक्क इराक आएकोमा इराकी सांसदको आपत्ति, अमेरिकी सेना फिर्ता गर्न माग
फोटो:एपी

बग्दाद : इराकी सांसदहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुटुक्क इराक आएकोमा आपत्ती जनाउँदै इराकमा तैनाथ अमेरिकी सैनिक फिर्ता हुनुपर्ने माग राखेका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको अवसरमा इराकमा कार्यरत अमेरिकी सैनिकलाई भेटेको समाचार बाहिरिएसँगै इराकी सांसदहरुको यस्तो प्रतिक्रिया आएको हो।  

क्रिसमसको साँझ इराकमा रहेको अल-असद एयर बेसमा कार्यरत अमेरिकी सैनिकले गरेको सेवा, सफलता र बलिदानको लागि धन्यबाद दिन ट्रम्प इराक पुगेको ह्वाइट हाउसले जनाएको थियो।सैनिकहरुसँग करिब ३ घण्टा बिताएका ट्रम्पले उनीहरुसँग सेल्फी र सामूहिक फोटो खिचाएका थिए। सिरियाबाट सेना हटाउने विषयमा मतभेद भएपछि केही दिन अघि रक्षामन्त्री जेम्स म्याटिसले राजीनामा दिए लगत्तै राष्ट्रपति ट्रम्प इराक पुगेका थिए।

पूर्व निर्धारित कार्यक्रम विना इराक पुगेका ट्रम्पको भ्रमणलाई इराकी सांसदहरुले राष्ट्रिय सार्वभौमसत्ताको उल्लङ्घन भन्दै उनीहरुले ट्रम्पको आकस्मिक भ्रमणको बिरोध गरेका हुन्।

यद्यपि, अमेरिकी राष्ट्रपतिबाट युद्धग्रस्त क्षेत्रमा हुने भ्रमणलाई गोप्य राखिने प्रचलन रहेको एबीसी न्यूजले जनाएको छ। 

इराकी सांसद सबाह अल-सैदीले ट्रम्प सुटुक्क इराक आएकोमा विरोध गर्दै भने,' इराक अमेरिकाकै एउटा राज्य हो भने जस्तै भयो। ट्रम्पले आफ्ना सीमाको विचार गर्नुपर्छ। इराकमाथि अमेरिकी अतिक्रमण अब सकिएको छ।' 

भ्रमणका क्रममा ट्रम्प र इराकका प्रधानमन्त्री अडेल अब्दुल महदीबीच भेट हुने कार्यक्रम तय भएको थियो। तर दुई नेताबीच कसरी वार्ता गर्ने भन्ने विषयमा मतभेद भएपछि उनीहरुबीचको भेट रद्द भएको थियो। पछि ट्रम्प र महदीबीच टेलिफोनमा वार्ता भएको ह्वाइट हाउसले जनाएको थियो।

इराकको संसदले इराकबाट अमेरिकी सैनिक फिर्ता गर्ने प्रस्ताव पारित गर्ने बारेमा पटकपटक छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन‍।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell