PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कतिपय आइएनजिओहरु नेपालका लागि खतरनाक रहेछन् : झलनाथ खनाल



कतिपय आइएनजिओहरु नेपालका लागि खतरनाक रहेछन् : झलनाथ खनाल

काठमाडौं: पूर्वप्रधामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कतिपय आइएनजिओहरु नेपालका लागि खतरनाक रहेको देखिएको बताएका छन्।

आज प्रा डा युवराज संग्रौला लिखित 'साउथ एसिया चाइना जियो इकोनोमिक्स' पुस्तक विमोचनमा खनालले उक्त भनाइ राखेका हुन्।

धेरै एनजिओ/आइएनजिओ रहेकोमा तिनले देशको विकास गर्छ भनेर हामीले सोच्दै आएकोमा किताबले फरक ढंगले प्रस्तुत गरेको खनालको निष्कर्ष रहेको छ।

कार्यक्रममा खनालले भने, 'हामीहरुसँग विभिन्न एनजिओ आइएनजिओ छन्। अनेकन एजेन्सी छन्। ती एजेन्सीहरु के गरिरहेका छन्। हामी कतिलाई लाग्छ फलानो संस्थाहरुले नेपालकै विकास गरिरहेको छ। राम्रो मद्दत गरिरहेका छन् भनेर बुझ्छौ। तर यो किताबले यस्तो भन्दैन। कतिपय संस्थाहरु नेपालको लागि खतरनाक रहेछन्। हाम्रो देशको स्वाभिमानको विरुद्धमा काम गर्ने संस्थाहरु रहेछन्। हामी सतर्क हुन सकिरहेका रहेनछन् भन्ने कुरा किताबमा खोतलिएका छ।'

नेपाली पाठकहरुका लागिमात्र नभई धेरै ठुलो दायराको लागि महत्त्वपूर्ण उपहार भएको उल्लेख गर्दै उनले किताब दुरगामी महत्त्वको भएको दाबी गरे।

भने, 'नेपालको बारेमा राम्रो ढंगले चिन्तनमनन गरी लेखिएको किताब हो। नेपाल कस्तो अवस्थामा छ कस्तो हामी कस्तो चुनौतिमा छौ भन्ने कुरा किताबमा संष्लेषण गरिएको छ। मलाइ जति पढ्दै गए उति नै आनन्द महसुस दिलायो।'

विश्वको शक्ति अब एसिया बन्ने दाबी गर्दै पूर्वप्रधानमन्त्री खनालले अहिलेको विश्व राजनीतिलाई गहन ढंगले अध्ययन गर्नसमेत आग्रह गरे। 'पन्ध्र सय शताब्दीसम्म संसारलाई एसियाले लिड गरिरहेको थियो। अहिले टेक्नोलोजीले पाँच सय शताब्दी यता युरोप वा अमेरिकाले लिड गरिरहेको छ। तर अमेरिकामा पनि अहिले संकट शुरु भएको छ,' खनालले भने,'अब पूर्वीकरण बढेको छ। अब चाइन र इन्डिया राइज भइरहेको छ। एसिया राइज भइरहेको छ। एसियाले संसारलाई लिड गर्ने अवस्था आएको छ। हामी यसका नाभीस्थलमा छौ। एसियाका दुई महानायकहरु अहिले हाम्रो उत्तर र दक्षिणमा छन्। यी दुइको वीचमा रहनु स्ट्रटिजेकल्ली धेरै महत्वपूर्ण कुरा हो जस्तो लाग्छ।'

विश्व राजनीतिमा आइरहेको विषयमा गहन अध्यन गरेमामात्र मुलुकको स्वतन्त्रता र अखण्डालाइ कायम राख्न सकिने उनको भनाई थियो।

त्यसैगरी खनालले मुलुकले विभिन्न समस्याको सामना गरिररहेको उल्लेख गर्दै सामना पर्याप्त नभएको तर्क गरे। भने,'समयले खडा गरेका चुनौति हामी विभिन्न ढंगले सामना गर्दै आएका छौ। तर पर्याप्त छैन। हामीले पर्याप्त सामना गर्दै मुलुकलाई अगाडि बढाउन धेरै कुरामा सजग हुनुपर्छ। मौलिक किसिमको महत्वपूर्ण छ।'

किताबबारे चर्चा गर्दै वरिष्ठ पत्रकार धुर्वहरि अधिकारीले नेपालमा स्थिरता आए चीन र भारत दुबैलाई फाइदा हुने किताबको निचोड भएको बताए।

त्यसैगरी अर्का वरिष्ठ पत्रकार युवराज घिमिरेले बाहिरका शक्तिले चलखेल नगरोस् भन्ने कुरा किताबमा भएको उल्लेख गरे।

पूर्व महान्यायाधिवक्ता लक्ष्मीबहादुर निरालाले विदेशी चलखेलबाट जोगिनका लागि सचेत बनाउन किताब अग्रसर रहेको बताए। भने,'हाम्रो ओर्जिनालिटी ध्वस्त पार्न खोज्दैछन्। चलखेबाट जोगिन हामी सचेत हुनुपर्छ। यो किताब यसको उद्देश्यतिर अग्रसर छ।'

त्यसैगरी वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले भक्त प्रल्हादको उदाहरण दिँदै लेखक आफै देशभक्तिको भावले प्रखर भएको प्रशंसा गरे। किताबबारे मैनालीले भने, 'यो देशप्रतिकै चिन्ताको किताब हो।  वर्तमान लोकतन्त्रमा डिबेट जनतामै जानुपर्छ। डिबेट स्थानीय सरकारबाटै शुरु गर्नुपर्छ। कलेज लेभलमा पनि लैजानुपर्छ।'

लेखक संग्रौलाले आफूले ज्यान हत्केलामा राखेर किताब लेखेको उल्लेख गरे। उनले भने, 'देश गम्भीर अवस्थामा गुज्रेको छ। यसबारे किताबमा खुलाइएको छ। कतिले सुरक्षाका कारण देखाउँदै किताब प्रकाशित नगर्न भनेका थिए। मैलै तीनवटै सुरक्षा निकायसँग सल्लाह गरेर किताब प्रकाशन गरेको हुँ।'

लेक्स एन्ड जुरिस पब्लिकेशन प्रालिले प्रकाशन गरेको किताब अंग्रेजी संस्करणको मुल्य १२५० रुपैयाँ तोकिएको छ। नेपाली संस्करण भने केही महिनामा प्रकाशन हुने प्रकाशकले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell