PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विश्वको ध्यान तानेका २०१८ का १८ घटना : ट्रम्प किम वार्तादेखि रोयटर्स पत्रकारलाई जेलसम्म



विश्वको ध्यान तानेका २०१८ का १८ घटना : ट्रम्प किम वार्तादेखि रोयटर्स पत्रकारलाई जेलसम्म

विश्वले ग्रेगोरियन क्यालेण्डर र इस्वी सम्बत्को पात्रो अनुसार वर्ष २०१८ लाई विदा गर्दै वर्ष २०१९ लाई स्वागत गरेको छ। यसबीच सन् २०१८ मा विश्वलाई फर्केर हेर्दा अनेक यस्ता घटना घटे जसले विश्वको ध्यान आफूतिर तान्न सफल भए। 

यी हुन वर्ष २०१८ का १८ घटना जसले विश्वको ध्यान ताने :

डोनाल्ड ट्रम्प र किम जोङ उन वार्ता


२०१८ मा अप्रत्याशित रुपमा एक ऐतिहासिक वार्ता सम्पन्न भयो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच। जुन ११ मा सिंगापुरमा दुई नेताबीच सम्पन्न भएको वार्तामा कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने सहमति भएको थियो। यद्यपी वार्तापछि भने दुई देशबीचको सम्बन्ध सामान्य भएन। उत्तर कोरियाले अमेरिकाले आफ्नो राष्ट्रमाथि लगाएको प्रतिबन्ध फुकुवा नगरेको बताउँदै आएको छ। यस्तै अमेरिकाले भने उत्तर कोरियाला निशस्त्रीकरणको विषयमा प्रतिवद्ध नरहेको बताउँदै आएको छ। ट्रम्प र किमबीच फेरि वार्ताका प्रयासहरु पनि भए। तर दोस्रो वार्ता हुने सम्भावना २०१८ मै सम्भव भएन। ट्रम्प आफैले भने २०१९ को सुरुवतामा किमसँग वार्ता हुन सक्ने बताएका छन्। 

यो पनि पढ्नुस :

ट्रम्प–किमबीच चार बुँदे बृहत् सम्झौताः यी हुन् सहमति बुँदा

अमेरिका चीन व्यापार युद्ध


अमेरिका र चीनबीच २०१८ मा राम्रो सम्बन्ध स्थापित हुन सकेन। अमेरिकाले उत्तर कोरियसँग हुने भएको वार्तामा अवरोध पुर्याउन खोजेको आरोप चीनमाथि लगायो। फलस्वरुप अमेरिकी राष्ट्रपति ट्रम्पले दुई सय अर्ब बराबरको चिनियाँ सामाग्रीमा कर लगाउने निर्णय गरे। चीनसँगको वार्ता सफल नभए थप २ सय ६७ अर्ब बराबरको सामानमा कर लगाउने ट्रम्पले घोषणा गरे।

अमेरिकाकी कदमको विरोधमा चीनले पनि अमेरिकाबाट आयात हुने लाखौं अर्ब बाराबरको सामाग्रीमा कर लगाउने घोषणा गर्योम। यद्यपी केही समयअघि अर्जेन्टिनामा भएको जी २० सम्मेलनका क्रममा दुई नेताबीच ९० दिनका लागि कर लगाउने कार्य स्थगित गर्ने सहमति भयो। तर सहमति पछि पनि दुई देशबीच आर्थिक असमझदारी रहेको थियो। ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच केही दुई दिन अघि आर्थिक असमझदारी हटाउने विषयमा कुरा भएको थियो। यद्यपी यो सहमति पछिल्लो समय संकटमा पर्दै गएको छ।


खशोग्गी हत्या 


अक्टोबर २ मा इस्तानबुल स्थित साउदीको वाणिज्य दूतावास भित्रै पत्रकार जमाल खशोग्गीको हत्या भयो। पहिला साउदीले खशोग्गीको मृत्यु आफ्नो वाणिज्य दूतावासभित्रै भएको समाचारहरु गलत रहेको बताएको थियो। तर पछि खशोग्गीको मृत्यु दूतावास भित्रै भएको साउदीले स्वीकार गरेको थियो। 

साउदीले वाणिज्य दूतावासभित्र खशोग्गी र केही मानिसहरु बीच झगडा भएको र त्यही क्रममा उनको मृत्यु भएको जनाइएको थियो। तर चौतर्फी आलोचना भएपछि साउदीले गुप्तचरहरुको कमजोरीका कारण दूतावास भित्रै खशोग्गीको हत्या भएको बतायो।

साउदीका राजकुमार मोहम्मद बिन सलमानको कटु आलोचक रहेका खशोग्गीको हत्या मोहम्मदकै निर्देशनमा भएको  अनुमान गरिएको जनाएको छ। खशोग्गी हत्यालाई लिएर २०१८ मा साउदीमाथि चर्को अन्तर्राष्ट्रिय दबाब परेको थियो। टर्कीले उनको हत्या राजकुमार सलमानले नै गरेको दाबी गर्दै आएको छ।

 
मि टू वर्ष


२०१८ मि टूको वर्ष रह्यो। विश्वभर महिलाहरुले आफूहरुमाथि भएको यौन उत्पिडनविरुद्ध खुलेर बोल्न थाले। फलस्वरुप पीडकहरुको कर्तुत समाजसामु आयो। विश्व राजनीति, हलिउड, बलिउड, खेल, पत्रकारितामा मात्र नभइ सबै क्षेत्रमा मि टू अभियानले तहल्का मच्चायो।

बिली कस्बी, हार्बे विनस्टेन, क्रिस्टियानो रोनाल्डो, नाना पाटेकर,प्रशान्त झा अनु मलिक लगायत विरुद्ध बलात्कार र यौन दुर्व्यवहारको आरोप लाग्यो। नेपालमा पनि केशव स्थापित विरुद्ध केही महिलाहरुले यौन दुर्व्यवहारको आरोप लगाए। मि टूबाट अघि आएका कतिपय घटनाहरु प्रहरी र अदालतसम्म पुगे। भारतका विदेश राज्य मन्त्री एम जे अक्बरले यौन दुर्व्यवहार गरेको आरोप लागेपछि राजीनामा दिए। 


पाकिस्तानमा इमरानको उदय 


पाकिस्तानका पूर्व क्रिकेटर इमरान खानले पुराना राजनीतिक शक्तिहरुलाई पराजित गर्दै पाकिस्तानका प्रधानमन्त्री बने। पाकिस्तान तेहरिक-ए-इनसाफ का अध्यक्ष रहेका खान पाकिस्तानको २२औँ प्रधानमन्त्री बनेका हुन्।

६५ वर्षिय खानले पाकिस्तानलाई नयाँ पाकिस्तान बनाउने बताउँदै आएका छन्। सरकारी कार्यालयहरुमा सर्वसाधारणको पहुँच बढाउने अभियान स्वरुप इमरान सरकारले पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुल्ला गराए। इमरानले प्रधानमन्त्री कार्यालयलाई पनि विश्वविद्यालय बनाउने बताउँदै आएका छन्।  

नवाज शरिफलाई जेल


२०१८ पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका लागि सुखद् रहेन। भ्रष्टाचार मुद्दामा हाल शरिफ जेलमा छन्। गत हप्ता मात्रै इस्लामावाद स्थित अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा हेर्ने अदालतले शरिफलाई घोषणा गरिएको सम्पत्तिभन्दा बढी लगानी गरेको अभियोगमा ७ वर्षको जेल सजाय सुनाएको थियो। उनलाई अदालतबाटै पक्राउ गरी पुन: जेल चलान गरिन लागिएको थियो।

अदालतले शरिफले साउदीमा उनको स्वामित्वमा रहेको अल-अजिजा स्टिल मिलको आयबारे प्रमाण दिन नसकेको फैसलामा उल्लेख गरेको छ। पाकिस्तानमा गत जुलाईमा भएको आम निर्वाचनका लागि लन्डनबाट पाकिस्तान फर्केका शरिफसहित उनकी छोरीलाई भ्रष्टाचारको अभियोगमा पक्राउ गरी जेल चलान गरिएको थियो।  शरिफलाई अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो।

तर सेप्टेम्बरमा भने इस्लामावादको उच्च अदालतले उनलाई जमानतमा रिहा भएका थिए। शरिफले उनीविरुद्ध लगाइएका आरोपहरु झुटा र राजनीतिक प्रेरित भएको बताएका छन्। 


मर्केलको विदाई


१८ वर्षदेखि जर्मनीको सत्तारुढ दल क्रिश्चियन डेमोक्रेटिक युनियनमा एकछत्र नेतृत्व गरेकी जर्मनीकी चान्सलर एन्जेला मर्केलले सन् २०१८ मा पार्टी नेतृत्वबाट बिदा लिइन्।

केही साताअघि पार्टी नेतृत्वका लागि भएको निर्वाचनमा मर्केलको समर्थनमा रहेकी एनाग्रेट करेनबावर सत्तारुढ दलकी नयाँ प्रमुख छानिइन्। सन् २००० मा जर्मनीकी पहिलो महिला गृहमन्त्री बनेकी करेनबावर साल्यान्ड प्रान्तकी पूर्व प्रधानमन्त्री समेत हुन्। एन्जेला मार्केल सन् २०२१ सम्म जर्मनीको चान्सलरका रुपमा रहनेछिन्। पार्टी प्रमुख भएपछि मर्केलको कार्याकाल सकेपछि करेनबावर जर्मनीको चान्सलरका बन्ने पक्का भएको छ।


अस्थिर श्रीलंका राजनीति 


सन् २०१८ अक्टोबर २६ मा श्रीलंकाली राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई अपदस्त गर्दै पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरे पछि त्यहाँ राजनीतिक सकंट उत्पन्न भएको थियो। संसद र अदालतले भने राजापाक्षेलाई प्रधानमन्त्रीका रुपमा मान्यता दिएन। संसद्ले दुईपटक राजापाक्षेविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्योि। सर्वोच्च अदालतले राजापाक्षे नेतृत्वको सरकारलाई काम नगर्न आदेश दियो। 

यद्यपी, राजापाक्षे र सिरिसेनाले अदालत र संसद्को निर्णयलाई चुनौती दिए। यसैबीच राजापाक्षेले आम निर्वाचनबिना आफूलाई प्रधानमन्त्रीका रुपमा बस्ने कुनै इच्छा नरहेको बताउँदै विद्यमान राजनीतिक संकट समाधान गर्न भन्दै केही साताअघि राजीनामा दिए। त्यसपछि राष्ट्रपति सिरिसेनाले आफैले अपदस्त गरेका प्रधानमन्त्री विक्रमासिङ्गेलाई पुन प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। 


ब्रेजिक्टको टुंगो


युरोपेली संघसँग बाहिरिने निर्णय गरेको बेलायतले त्यसको प्रक्रियालाई टुंगोमा पुर्याआउन सकेको छैन। बेलायती प्रधानमन्त्री थेरेसा मेले नयाँ अन्तर्राष्ट्रिय सम्बन्धहरुमा मात्र ध्यान दिँदा उनको क्याबिनेटमा रहेका ब्रेक्जिट मामिलामा दुई जना विदेश मन्त्रीले राजीनामा दिए। पार्टीमा उनले विश्वासको मत लिनु पर्योत। सन् २०१६ को जुनमा भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत अर्थात् १ करोड ७४ लाख मतदाताले ब्रेक्जिटको पक्षमा मतदान गरेका थिए । ४८ प्रतिशत अर्थात् १ करोड ६१ लाख मतदाताले भने बेलायत (युरोपियन युनियन) इयूकै सदस्य हुनुपर्छ भन्ने मत दिएका थिए। साढे दुई बर्ष बितिसक्दा पनि इयू छाड्ने प्रक्रिया टुङ्गिन्छ भन्ने विश्वासमा नै अझै पनि अनिश्चितामा बेलायत छ।


मंगल ग्रहमा 'इन्साइट' यान 


नासाले करिब आठ महिना पहिले प्रक्षेपण गरेको मानव रहित अन्तरिक्ष यान 'इन्साइट'  नोभेम्बर २७ मा मंगलग्रहमा अवतरण गर्योप। करिब एक अर्ब अमेरिकी डलरमा बनेको ३६५ किलोग्रामको 'इन्साइट' २० हजार किलोमिटर प्रतिघन्टाको गतिमा अघि बढ्दै रातो ग्रहका रुपमा परिचित मंगलग्रहमा अवतरण गरेको थियो। उक्त यानले अब मंगलग्रहको भित्री तहको रहस्य खोतल्नुका साथै अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बनेको छ भनेर अध्ययन गर्नेछ। यो रोबोटको सहयोगमा २०३० को दशकमा मानवलाई मंगलग्रहमा पठाउने मार्गप्रशस्त गर्ने नासाका वैज्ञानिकहरुको अपेक्षा छ।


फ्रान्समा माँक्रोनलाई संकट


फ्रान्समा इन्धनको मूल्य वृद्धि गरिएको घटनाले राष्ट्रपति इम्यानुल माँक्रोनमाथि राजनीतिक संकट उत्पन्न भयो। पेरिस लगायतका शहरमा सरकारविरुद्ध व्यापक प्रदर्शन भयो। प्रहरीसँगको झडपमा केही व्यक्तिको  मृत्यु भयो भने सयौं घाइते भए। बाध्य भएर सरकारले मूल्यवृद्धि गर्ने निर्णय फिर्ता लियो। तर राष्ट्रपति माँक्रोनको नीतिको विरोध गर्दै देशका विभिन्न भागमा हिंसात्मक प्रदर्शनमा बढ्दै गयो। माँक्रोन विरुद्ध उत्रेका 'एल्लो भेष्ट' आन्दोलनकारीहरुको मुख्य नारा नै 'माँक्रोनको राजीनामा' भएको छ।


इन्डोनेसियामा प्राकृतिक कहर 


२०१८ मा इन्डोनेसिया गएको प्राकृतिक प्रकोपका कारण करिब तीन हजार जनाको मृत्यु भयो। सेप्टेम्बर २८ तारिखका दिन आएको ७.४ म्याग्नीच्युडको भूकम्पले दुई हजार भन्दा बढीको ज्यान लिएको थियो।यस्तै, इन्डोनेसियामा आएको सुनामी र ज्वालामुखी विस्फोटबाट हजारौंको मृत्यु भएको थियो र सयौं वेपत्ता भए। केही हप्ता अघि भएको ज्वालामुखी विस्फोट पछि आएको सुनामी फेरि आउने डर रहेको छ।

अमेरिकी सेनाको फिर्ती 


डिसेम्बर १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सैनिकलाई फिर्ता बोलाउने निर्णय गरे। उनले इस्लामिक स्टेट विरुद्धको युद्ध समाप्त भएको र अब टर्कीले उनीहरुलाई पराजित गर्ने बताएका थिए। तर ट्रम्पको उक्त निर्णय संसदबाट अनुमोदन नभएपछि अमेरिकी सरकारी कार्यालयहरु बजेट अभावका कारण बन्द हुने अवस्थामा पुग्यो। मध्यपूर्व क्षेत्र बारे ट्रम्पसँग कुरा नमिलेपछि अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले राजीनामा दिएका थिए। 

विश्वकप २०१८ 


रसियामा सम्पन्न विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियालाई पराजित गर्दै फ्रान्स दोस्रो पटक विश्वजविजेता बन्यो। ३२ टोली सहभागि विश्वकप २०१८ मा क्रोएसियाले पहिलो पटक फाइनल पुग्दै इतिहास बनायो। क्रोएसियाका कप्तान लुका मोड्रिक फिफा विश्वकप २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भए। अहिले कतारमा २०२२ मा हुने विश्वकपको तयारी भइरहेको छ।


 नोबेल शान्ति पुरस्कार


युद्धका बेला हुने बलात्कारविरुद्ध अभियान चलाएका दुई मानव अधिकारवादी नादिया मुराद र डेनिस मक्वेगलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कार प्रदान गरियो। इराकी यजिदी महिला मुरादलाई इस्लामिक स्टेटका लडाकुहरुले अपहरण गरेर यौनदासी बनाएको थियो। पछि उनी लडाकुहरुबाट भाग्न सफल भएकी थिइन्। हाल उनी यजिदी महिलाहरुको उत्थानका लागि काम गर्दै छिन्। यस्तै, कंगोका मक्वेग स्त्रीरोग विशेषज्ञ हुन्। उनले युद्धमा बलात्कृत भएका हजारौं महिलाहरुको नि शुल्क उपचार गरेका थिए।  


अमेरिका आप्रवासी संकट


मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न खोजिरहेका हजारौं मानिस हाल मेक्सिको र अमेरिकाको सिमा क्षेत्रमा शरण लिएर बसिरहेका छन्। होन्डुरस लगायतका राष्ट्रबाट आएका आप्रवासीहरु सुरक्षित भविष्यको खोजीमा अमेरिका प्रवेश चाहिरहेको बताउँदै आएका छन्।

तर ट्रम्प प्रशासनले भने गैर कानुनी रुपमा अमेरिका प्रवेश गर्नेलाई रोक्ने भन्दै सिमा क्षेत्रमा हजारौं सेना तैनाथ गरेको छ। केही व्यक्तिहरुले सिमा नाघ्न खोज्दा उनीहरु पक्राउ परेका छन्। अमेरिकी नियन्त्रणमा रहेका दुई ८ वर्षे आप्रवासी बालकहरुको मृत्यु भएपछि अमेरिकी नीतिको चर्को आलोचना भएको छ।  

बंगलादेशमा हसिनाको हयाटट्रिक

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले संसदीय आमनिर्वाचनमा विजय हासिल गरिन्। यससँगै उनी चौँथो पटक बंगलादेशको प्रधानमन्त्री हुने निश्चित भएको छ। उनले सन् २००८, २०१४ र २०१८ मा सम्पन्न निर्वाचनमा लगातार विजयी हुँदै प्रधानमन्त्रीको रुपमा ह्याट्रिक गरिन्। उनी यस अघि सन् १९९६ मा पनि प्रधानमन्त्री भएकी थिइन्।

वर्षपछि तर हिंसात्मक घटनाबीच भएको बंगलादेशको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै विपक्षी दलले पुनः चुनाव हुनुपर्ने माग गरेको थियो। यद्यपी निर्वाचन आयोगले उक्त माग खारेज गरेको छ। प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टी र यसको गठबन्धनले ३०० सदस्यीय संसदमा २८८ स्थान जितेको छ। मुख्य विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी ६ स्थानमा मात्र विजयी भएको छ। 


रोयटर्सका पत्रकारलाई जेल


म्यान्मारको अदालतले रोहिंग्या मुस्लिम समुदायको नरसंहारसम्बन्धी समाचार संकलन गर्ने रोयटर्स समाचार संस्थासँग आबद्ध दुईजना पत्रकारलाई गोपनीयता कानुन उल्लंघनको आरोपमा दोषी ठहर गर्दै ७ वर्ष जेल सजाय सुनायो।

२०१७ डिसेम्बरदेखि म्यान्मारमा कुख्यात इन्सेन जेलमा रहेका ३२ वर्षीय वा लोन र २८ वर्षीय क्या सो ओउलाई अदालतले ७ वर्षको जेल सजाय सुनाएको हो। रोयटर्सले आफ्ना दुई पत्रकारलाई जेल सजाय सुनाइएकोप्रति आपत्ति जनाउँदै उनीहरुमाथि झुटो अभियोग लगाएको जनाएको छ। दुबै पत्रकारले सेप्टेम्बर २०१७ मा द्वन्द्व प्रभावित रखाइन राज्यमा मारिएका १० जना रोहिंग्या मुस्लिमका बारेमा अनुसन्धान गरिरहेका थिए। प्रहरीले नै प्रदान गरेको दस्तावेजहरु बोकेर हिड्डै गर्दा उनीहरुलाई पक्राउ गरिएको थियो। उनीहरुले आफूहरुलार्इ फसाउन प्रहरीले नै षड्यन्त्र गरेको बताउँदै आएका छन्।

फोटो: Dawn , Pakistan Tribune, Indian Express, Reuters, Ap, Afp, Guardian, Telegraphm India Today, BBC, Nasa, CNN,ABC 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell