केरला : भारतको केरलामा रहेको प्रसिद्ध सबरीमाला मन्दिरमा बुधवार दुई महिला प्रवेश गरेपछि हिन्दुवादी संगठनहरुले विरोध प्रदर्शन गरेका छन्।
ब्रहमाचार्य देवताका रुपमा रहेका भगवान अयप्पाको पुजाका लागि महिनावारी हुने समूहका महिलाहरुलाई मन्दिर प्रवेशमा रोक लगाइँदै आइएको थियो। तर सेप्टेम्बरमा भारतको सर्वोच्च अदालतले महिलाहरुलाई मन्दिर प्रवेश गर्न दिने निर्णय गरेको थियो। अदातलको उक्त फैसलाको विरोध गर्दै हिन्दुवादी संगठनहरुले मन्दिर प्रवेशमा महिलाहरुलाई रोक्दै आएको थियो।
विरोधकाबीच बुधवार बिहानै सुरक्षाकर्मीको घेरामा ४० वर्षीय बिन्दु अममिनी र ३९ वर्षीया कनक दूर्गा मन्दिर प्रवेश गर्न सफल भएका थिए। ५० वर्षभन्दा कम उमेरका महिलाहरु मन्दिर परिसरमा प्रवेश गरेको समाचार सार्वजनिक भएपछि बुधवार केही समयका लागि 'शुद्धीकरण' गर्न भन्दै मन्दिर बन्द गरिएको थियो।
#WATCH Two women devotees Bindu and Kanakdurga entered & offered prayers at Kerala's #SabarimalaTemple at 3.45am today pic.twitter.com/hXDWcUTVXA
— ANI (@ANI) January 2, 2019
बुधवारको विरोध प्रदर्शनमा प्रहरीसँग झडप हुँदा एक व्यक्तिको मृत्यु भएपछि बिहिवार केरलाका शिक्षण संस्था बन्द गरिएको छ भने यातायात सेवा ठप्प पारिएको छ। केन्द्र सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीका भातृ संस्थाले केरला राज्य बन्दको आह्वान गरेका हुन्।
राज्यका विभिन्न जिल्लाहरुमा हिन्दुवादी संगठनहरुले विरोध प्रदर्शन गरिरहेका छन्। प्रहरीसँग झडप हुँदा १५ जनाभन्दा धेरै घाइते भएको जनाइएको छ। प्रदर्शनका क्रममा संचारकर्मीमाथि पनि आक्रमण भएको बताइएको छ।
मन्दिर प्रवेश गरेका महिलाको समर्थनमा बुधवार महिलाहरुले मानव साङ्लो बनाएका थिए। यद्यपि, हिन्दुवादी संगठनसँग आबद्ध महिलाहरुले भने मन्दिरमा महिला प्रवेश गरेकोमा विरोध गरेका छन्। राज्यमा विरोध बढ्दै गएपछि बिन्दु र दूर्गा हाल सम्पर्कविहीन रहेको बताइएको छ।
केरला सरकारले भने सर्वोच्चको आदेश बमोजिम मन्दिर प्रवेश गर्न चाहने सबैलाई सुरक्षा प्रदान गर्ने बताएको छ।