PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिकी कार्यालयहरु १९ दिनदेखि बन्द, 'बाइ बाइ' भन्दै वार्ताबाट उठेर हिँडे ट्रम्प



अमेरिकी कार्यालयहरु १९ दिनदेखि बन्द, 'बाइ बाइ' भन्दै वार्ताबाट उठेर हिँडे ट्रम्प
फोटो: पोलिटिको

वासिङ्टन : मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउने विषयमा मतभेद हुँदा अमेरिका सरकारी कार्यालयहरु विगत १९ दिनदेखि बन्द छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्खाल बनाउन तल्लो सदन कंग्रेससँग बजेट माग गरेपनि डेमोक्रेटहरु बजेट पास गर्ने पक्षमा छैनन्।

यसैबीच कार्यालय खोल्नका लागि भनेर आज बसेको बैठकबाट ट्रम्प बाहिरिएका छन्। कंग्रेसका सभामुख न्यान्सी पेलोसी र डेमोक्रेट नेता चक सुमरले सीमामा पर्खाल लगाउन प्रस्ताव गरिएको बजेट पारित गराउन अस्वीकार गरेपछि ट्रम्प वार्ताबाट बाहिरिएका हुन्।

ट्वीट गर्दै ट्रम्पले आफू वार्ताबाट बाहिरिएको बताउँदै डेमोक्रेटहरुसँगको वार्तालाई समयको बर्बादीको संज्ञा दिएका छन्। 

अमेरिकी कार्यालयहरु बन्द हुँदा करिब ८ लाख कर्मचारीहरुले तलब भत्ता पाएका छैनन्। डेमोक्रेटहरुले कार्यालय खोल्न पहल गरिरहेका छन् ।तर ट्रम्पले भने वर्षौंसम्म कार्यालय बन्द रहन दिने तर बेजेट पारित नभएसम्म कुनै प्रक्रिया अघि नबढाउने बताउँदै आएका छन्।

ट्रम्पले लेखेका छन्, 'पर्खाल लगाउन बजेट पारित गर्ने हो भनेर मैले न्यान्सीलाई सोधे। उनले नगर्ने भनिन्। मैले बाइ बाइ भने। अरु केहीले काम हुने थिएन।'

 

ट्रम्पसँगको वार्ताका क्रममा पेलोसीले ट्रम्प यस विषयमा संवेदनशील नरहेको आरोप लगाएकी थिइन्। पर्खालका लागि बजेट नदिने भन्ने बितिकै ट्रम्प उठेर हिँडेको डेमोक्रेट नेताहरुले बताए। उनीहरुले ट्रम्पले अमेरिकी जनतालाई बन्धक बनाएको आरोप लगाएका छन्।

बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन सम्बोधन मार्फत मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउनका लागि फेरी बजेट माग गरेका थिए। उनले बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टिलको पर्खाल लगाउन ५.७ बिलियन अमेरिकी डलर बजेट माग गरेका छन्। 

तर अमेरिकाको तल्लो सदन 'कंग्रेस'मा रहेका डेमोक्रेटहरु ट्रम्पलाई बजेट दिने पक्षमा छैनन्।

कंग्रेसले बजेट पास गर्ने नदेखेपछि केही दिन अघि ट्रम्पले कंग्रेसको स्वीकृति बिना नै पर्खाल बनाउने चेतावनी दिएका थिए। अमेरिकी संसदले पर्खाल बनाउनका लागि बजेट नदिए संकटकाल लगाउने र सरकारी काम वर्षौंसम्म ठप्प पार्ने ट्रम्पको चेतावनी थियो।

अमेरिका प्रवेश गर्न खोजी रहेका हजारौं आप्रवासीहरु केही महिनदेखि अमेरिकासँग सीमा जोडिएको मेक्सिकोका शहरहरुमा छन्। तर ट्रम्प प्रशासनले भने गैर कानूनी रुपमा कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell