PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चार युवा क्रिकेटरलाई एकै पटक तीन अवसर, शरदले युएई विरुद्धको सिरिज नखेल्ने



गोविन्दराज नेपाल

चार युवा क्रिकेटरलाई एकै पटक तीन अवसर, शरदले युएई विरुद्धको सिरिज नखेल्ने

काठमाडौँ : युएई विरुद्ध हुने 'डबल सिरिज'का लागि आइतवार घोषणा भएको १६ सदस्यीय नेपाली टोली चार नयाँ अनुहारले स्थान बनाएका छन्।

पहिलो पटक बन्द प्रशिक्षणका लागि छनोट भएका भिम शार्की, पवन सर्राफ, सन्दिप जोरा र अभिशान बोहराले पहिलो प्रयासमै सिनियर टिममै स्थान बनाए।

३ खेलको ओडिआई र ३ खेलको टी २० आई सिरिज भएकोले नेपालले यसपटक १६ खेलाडीको टोली घोषणा गरेको हो। चार नयाँ खेलाडीले पहिलो पटक टिममा स्थान बनाउँदा राष्ट्रिय टिमका नियमित दुई खेलाडी शरद भेषावकर र ललित सिंह भण्डारी भने युएई टुरमा हुने छैनन्।

नेपाली टिमका भर पर्दा ब्याट्सम्यान मानिने शरदले बिरामी भएका कारण नाम फिर्ता लिएको राष्ट्रिय टोलीमा म्यानजेर रमन शिवाकोटीले जनाएका छन्।

फास्ट बलर अभिनाश टिममा परेपछि अर्का फास्ट बलर ललित भने टिममा अटाएनन्।

यी दुई खेलाडी नहुनु र एकै पटक चार नयाँ खेलाडीले टिममा स्थान बनाउनुले युएई विरुद्ध नेपालको टिम योङ हुने पक्का छ भने टिम संरचना समेत फरक हुन सक्नेछ।

चोटका कारण यसअघि अलराउण्डर सागर पुन टिममा पर्न सकेनन्। अन्तिम १६ मा रहेका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र स्पिनर बसन्त रेग्मी बाहेक बाँकी सबै खेलाडी युवा नै छन्।

नयाँ चार खेलाडीका लागि एकै पटक तीन अवसर छ। नेपाली टिमको भविष्यका लागि भन्दै यी युवा खेलाडीलाई अवसर दिएको राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाको भनाई छ।

'हामीले भविष्यको लागि टिम तयार पार्नुपर्छ भनेर युवा खेलाडीहरुलाई तयार पार्नुपर्छ भनेर उनीहरुलाई राखेका हौँ। उनीहरुले अन फिल्ड र अफ फिल्ड पनि राम्रो गरिरहेका छन्।' प्रशिक्षक जगत टमाटाले अन्तिम सूचीमा आउनु केही समयअघि भनेका थिए।

'हामीलाई यो सिरिजको लागि भन्दा पनि टिममा लामो समयको लागि खेलाडी चाहिएको छ। पवन, भिम, सन्दिप, अभिनाश सबै राम्रो खेलाडी हुन्। उनीहरुको आफ्नै स्टाइल छ।'

'सन्दीप जोरा राम्रो खेलाडी हो। उसले टी २० मा राम्रो खेल देखाएको छ। फिल्डिङ एकदमै राम्रो छ।'

अब यी खेलाडीको लागि चुनौती भने प्लेइङ ११ मा पर्ने नै हो। साथै नेपालको लागि डेब्यु गर्दा नै यी खेलाडीको लागि थप अवसर समेत छ। यी खेलाडीले युएई विरुद्ध खेल्दै नेपालको लागि डेब्यु गर्दा एकै पटक ओडिआई र टी २०आई मा समेत डेब्यु गर्नेछन्। त्यसका लागि भने नियमित टिममा रहेका खेलाडीसँग यी युवा खेलाडीको परिक्षा हुनेछ।

नेपालको लागि युएई विरुद्ध दुवै फर्म्याटमा खेल्न पाए नयाँ खेलाडीको लागि एकै पटक तीन उपलब्धि हासिल हुनेछ। राष्ट्रिय टिमको लागि डेब्यु, ओडिआईमा डेब्यु र टि २०आई मा डेब्यु।

पछिल्लो पटक नेपालमा भएको टी२० लिगहरुमा उत्कृष्ट प्रदर्शन गरेका कारण यी खेलाडी क्याम्पमा पर्न सफल भएका थिए। र एकै पटक दुई सिरिज भएकाले राष्ट्रिय टिममा पर्न पनि धेरै कुर्नुपरेन।

'हामी आगामी टी-२० वर्ल्डकप क्वालिफायरको लागि तयारी हुन र युवा खेलाडीहरुलाई ग्रुम गर्न पनि चाहन्छौँ। अबको तीन/चार वर्षमा धेरै क्रिकेट हुँदैछ। त्यसैले पनि १६ खेलाडीको स्क्वाएड लिएर युएई जाँदैछौँ।' पारस खड्काले भनेका छन्।

'हामीले एक वर्षअघि देखि नै नेपाली क्रिकेटमा युवा खेलाडीहरुलाई अवसर दिइरहेका छौँ। युवा खेलाडीहरुले पनि राम्रो गरिरहेका छन्।'

'हामी युवा खेलाडीलाई अवसर दिन चाहन्छौँ। राष्ट्रिय टिममा परेपछि नखेलेपनि अन्तर्राष्ट्रिय क्रिकेट कस्तो हुन्छ कसरी खेल्छ बुझन पाउँछन्।'

अहिले टिममा रहेका मध्ये रोहित कुमार पौडेल र ललित नारायण राजवंशीले गत वर्ष डेब्यु गरेका थिए। त्यसअघि दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले वर्ल्ड क्रिकेट लिगमा नेपालको लागि डेब्यु गरेका थिए। यी खेलाडीले डेब्यु पछि नेपालको लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

यी चारमध्ये ललित राजवंशीले पनि ओडिआईमा डेब्यु गर्न बाँकी छ। यस्तै १६ सदस्यी टोलीमा रहेका विनोद भण्डारी र प्रदिप ऐरीलाई पनि ओडिआईमा डेब्यु गर्ने मौका छ।

विनोद यसअघि नेपालले खेलेको एसिया कप छनोटमा टिममा रहेपनि युएई विरुद्धको खेलमा पहिलो रोजाईँमा नपरेका कारण ओडिआई डेब्यु गर्नबाट बन्चित भएका थिए। छनोटमा एसोसिएट राष्ट्रले खेलेपनि नेपाल र युएई ओडिआई नेशन भएकाले उक्त खेलले आइसीसीको ओडिआई मान्यता पाएको थियो।

बाँकी ९ खेलाडीले भने नेदरल्याण्ड्स विरुद्धको पहिलो ऐतिहासिक ओडिआई सिरिजमा नेपालको लागि खेलिसकेका छन्।

नेदरल्याण्ड्स भ्रमणमा गएका १५ मध्ये अनिल कुमार शाह, ललित भण्डारी, शक्ति गौचन, शरद भेषावकर र सुवास खकुरेल अहिले टिममा छैनन्। ललित, शरद र शक्तिले नेपालका लागि १-१ ओडिआई खेलेका छन् अनिल शाह र सुवास खकुरलले २-२ ओडिआई खेलेका छन्। शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसके। सुवास र अनिल भने यस पटक प्रारम्भिक सूचीमा परेनन्।

नेपालले युएई विरुद्ध पहिलो ओडिआई सिरिज खेल्न लागेको हो भने समग्रमा नेपालको यो दोस्रो ओडिआई सिरिज हो। गत मार्चमा जिम्वावेमा भएको वर्ल्डकप क्वालिफायरमा उत्कृष्ट तीन एसोसिएट राष्ट्र भित्र पर्दै पहिलो पटक चार वर्षको लागि ओडिआई मान्यता पाएको नेपालले गत अगष्टमा नेदरल्याण्ड्स विरुद्ध पहिलो सिरिज खेलेको थियो। दुई खेलको उक्त सिरिज १-१ को बराबरीमा सकिएको थियो।

पहिलो सिरिज बराबरी खेलेको नेपाल यस पटक सिरिज जित्ने लक्ष्यका साथ युएई जाँदैछ।

पछिल्लो पटक एसिया कप छनोटअन्तर्गत युएई विरुद्धको ओडिआई खेलमा नेपाल पराजित भएको थियो। सुवास खकुरेलको ५० रन र सन्दीप लामिछानेको ४ विकेट लिएपछि नेपाल युएईसँग ७८ रनले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell