PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ब्रेक्जिट रोकिए राजनीतिक सुनामीको सामना गर्नुपर्ने बेलायती मन्त्रीको चेतावनी: विश्वमा आज



ब्रेक्जिट रोकिए राजनीतिक सुनामीको सामना गर्नुपर्ने बेलायती मन्त्रीको चेतावनी: विश्वमा आज

ब्रेक्जिट विवाद

बेलायतको यूरोपेली संघबाट हुने बहिर्गमन (ब्रेक्जिट) बारे सरकारले निर्णय नलिएमा देशले ‘राजनीतिक सुनामी’ को सामना गर्नुपर्ने अवस्था आउने बेलायती व्यापार मन्त्रीले बताएका छन्।

व्यापार मन्त्री लियाम फक्सले टेलिग्राफ दैनिकमा लेखेका छन्, 'ब्रेक्जिट प्रक्रिया अवरुद्ध हुनुले संसद र जनताबीचको दूरीलाई बढाइदिनेछ, जुन हाम्रो मुलुकको राजनीतिक प्रणालीमा विभाजनको कारक बन्नसक्छ र यसबाट अनपेक्षित नतिजाको सामना गर्नुपर्ने हुन्छ।'

अन्तराष्ट्रिय व्यापार मन्त्री लियाम फक्स

प्रधानमन्त्री थेरेसा मेले इयूसँग बेलायत बहिर्गमनबारे गरेको सम्झौतापछि बेलायती संसदले सम्झौतालाई अस्वीकार गरेको थियो र ब्रेक्जिट प्रक्रिया अवरूद्ध बनेको थियो। त्यसैले केही सांसदहरूले राजनीतिक नेतृत्वमा सहमति नजुट्दासम्म मार्च २९ का लागि तय भएको बहिर्गमन प्रक्रियालाई ढिलो गर्न सुझाब दिएका छन्।

यद्यपि प्रधानमन्त्री मेले आफ्नो अघिल्लो प्रस्ताव विफल भएपछि सोमबार संसदमा नयाँ योजनासाथ आउने बताइएको छ। विश्लेषकहरूले प्रधानमन्त्रीबाट व्यापक परिवर्तनसहितको नयाँ योजना आउने सम्भावना रहेको बताएका छन् ।

मालीमा आक्रमण

बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आक्रमण गर्दा आठ जना शान्ति सैनिकहरुको मृत्यु भएको मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले जनाएको छ।

मालीको किडालबाट करिब २०० किलोमिटर उत्तरी क्षेत्रमा रहेको आगुलहोक शिविरमा आक्रमण भएको हो। सन् २०१२ मा मालीको पूर्वी क्षेत्रलाई इश्लामिक लडाकूले नियन्त्रणमा लिएपछि राष्ट्रसंघको पहलमा शान्ति स्थापनार्थ करिब १३ हजार अन्तर्राष्ट्रिय सेनालाई खटाइएको छ।

 

बढ्दै मृतकको संख्या

मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्यु हुनेको संख्या ७३ पुगेको छ। घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन्। घाइते हुनेको संख्या अझै पनि ७४ रहेको छ भने तीमध्ये ५० जनाको हिडाल्गोमा रहेको अस्पतालमा र अरु २४ जनाको मेक्सिको सिटीको अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

वुमन मार्च

हजारौँ महिलाले अमेरिकाको न्यूयोर्कमा बृहत प्रदर्शन गरेका छन्। महिला अधिकार र लैङ्गिक असमानता अन्त्य लगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी हजारौँले फरक फरक पोस्टर तथा ब्यानरहरु प्रदर्शन गर्नुका साथै विभिन्न नारा लगाएका थिए। उनीहरुले व्यानर, पोष्टर र नारामा लैङ्गिकतासम्बन्धी र मुलुकमा भइरहेको अन्याय सम्बन्धी विषयलाई उठाएका थिए ।

सन् २०१७ को जनवरीमा पहिलो महिला र्‍याली आयोजना गरिएको थियो  राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोह भइरहेका बेला दबाब दिनका लागि त्यतिबेला पहिलो पटक महिलाहरुले र्‍यालीको आयोजना भएको थियो।

फोटो : CBC/AP/AFP/DAILY EXPRESS/CONVERSATION



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell