![बन्द अमेरिकी कार्यालयहरु खुलाउन दुई प्रस्तावमा बिहिवार मतदान हुँदै, दुवै प्रस्ताव स्वीकृत हुने अवस्था न्यून](https://pahilopost.com/assets/upload/contentthumb/1548212353791_CnynysE000130_20190123_TPPFN1A001.jpg)
वासिङटन : अमेरिकी सरकारी कार्यालयहरु आंशिक रुपमा बन्द भएको ३३ दिन पुगेको छ।
मेक्सिकोसँग सीमा जोडिएको भागमा पर्खाल लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको तल्लो सदन समक्ष बजेट माग गरेका थिए। तर सदनमा रहेका विपक्षी डेमोक्रेटहरुले भने ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै आएका छन्।
डेमोक्रेट र ट्रम्पको अडानका कारण करिब ८ लाख सरकारी कर्मचारीहरुले यो वर्षको पहिलो तलब पाएनन्।
अमेरिकी इतिहासमा हालसम्मकै सबैभन्दा लामो 'सट डाउन' को अन्त्य गर्ने भन्दै बिहिवार अमेरिकी सदनमा मतदान हुने भएको छ।
'सट डाउन' सम्बन्धी दुई प्रस्तावहरु सिनेटमा दर्ता भएको बताइएको छ। डेमोक्रेट र रिपब्लिकहरुले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका हुन्।
यद्यपि दुवै प्रस्तावहरु सदनबाट पारित हुने अवस्था नरहेको सीएनएनले उल्लेख गरेको छ।
सिनेटका वरिष्ठ नेता मिट्ज म्याक्कोन्नेलले राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेको बजेट स्वीकृत गर्ने र सट डाउन खुलाउने प्रस्ताव दर्ता गराएका छन्।
ट्रम्पले केही दिनअघि आंशिक रुपमा बन्द रहेको सरकारी कार्यालय खोल्न नयाँ प्रस्ताव ल्याएका थिए। उनले युवा उमेरमा सुखद भविष्यका लागि भनेर गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका 'ड्रिमर्स' र टेम्पोरेरी प्रोटेक्टेड स्ट्याटस 'टीपीएस' अन्तर्गत अस्थायी रुपमा बसोवास गर्ने इजाजत प्राप्त गरेकाहरुका सम्बन्धमा सम्झौता हुन सक्ने बताएका थिए।
ट्रम्पको उक्त प्रस्तावको समर्थन गर्दै रिपब्लिकन नेता म्याक्कोन्नेलले बजेट स्वीकृत गर्ने प्रस्ताव दर्ता गराएको बताइएको छ।
यस्तै अर्को प्रस्ताव डेमोक्रेटहरुले दर्ता गराएका छन्। जसमा ट्रम्पले प्रस्ताव गरेको बजेट नदिइ आंशिक बन्द रेहका कार्यालयहरु खोल्ने रहेको छ।
उक्त प्रस्ताव पारित हुनुपूर्व नै ६० मतको आवश्यक्ता रहने भएकाले दुवै दलसँग त्यो संख्या अपुग रहेको छ। रिपब्लिकनहरुले दर्ता गरेको प्रस्ताव पारित हुन ७ जना डेमोक्रेटहरुले 'फ्लोर क्रस' गर्नुपर्ने बताइएको छ। यस्तै डेमोक्रेटहरुले दर्ता गराएको प्रस्ताव पारित हुन १३ रिपब्लिकनहरुले 'फ्लोर क्रस ' गर्नुपर्नेछ।
ट्रम्पले बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टिलको पर्खाल लगाउन आवश्यक रहेकाले कंग्रेससँग ५.७ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गर्दै आएका छन्। तर प्रतिप्रक्षी दल डेमोक्रेटले उक्त प्रस्ताव अस्वीकार गरेको छ ।
कंग्रेसले बजेट पास गर्ने नदेखेपछि ट्रम्पले कंग्रेसको स्वीकृति बिना नै पर्खाल बनाउने चेतावनी दिएका थिए। केही हप्ताअघि अमेरिकी संसदले पर्खाल बनाउनका लागि बजेट नदिए संकटकाल लगाउने र सरकारी काम वर्षौंसम्म ठप्प पार्ने ट्रम्पले चेतावनी दिएका थिए।