PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेसको विरोधकाबिच चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा

कांग्रेसको विरोधकाबिच चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा


काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बिच आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक टेबुल भएको थियो। तेस्रो बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले टेबल गरेको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिलसिनाले सर्वसम्मत रुपमा पारित भएको घोषणा गरे।

अब राष्ट्रिय सभामा यो विधेयकबारे छलफल हुनेछ। विधेयकको विषय र त्यसमा निहित सिद्धान्तमा सामान्य छलफल गर्नमात्र राष्ट्रिय सभाको नियमावलीमा व्यवस्था गरिएको छ। नियमावलीमा भनिएको छ- त्यस्तो छलफलमा विधेयकका सिद्धान्तलाई स्पष्ट गर्न आवश्यक भएमा बाहेक दफाहरुमाथि छलफल गरिने छैन।‘

  यस्तो विधेयक राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट आएको दुई महिनाभित्र राष्ट्रिय सभाले कि पारित गर्नुपर्नेछ, कि संशोधनसहित प्रतिनिधि सभामा फिर्ता पठाउन सक्नेछ।

राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ टेबुल गरेका थिए।

आजको पहिलो बैठकमा कांग्रेसले दुईवटा अस्पताललाई केन्द्रमा नराखेको, संबैधानिक आयोगका अध्यक्षहरुको सिफारिस र प्रतिनिधि सभामा बल प्रयोग भएको भन्दै विरोध जनाएको थियो।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

दोस्रो बैठक सुरु हुना साथ पुनः कांग्रेसका सांसदहरुले बैठक अवरुद्ध गरेका थिए। तर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिलसिनाले बैठकको कारवाही अगाडि बढाए पछि कांग्रेसका सांसदहरुले नारावाजी गर्दै बेल घेराउ गरेका थिए।

तर व्यापक रुपमा मर्यादा पालक परिचालन गरेपछि कांग्रेस सांसदहरु नाराबाजी मै सिमित भए । करिब ६० भन्दा बढी मर्यादा पालक परिचालन गरिएका थिए।

दोस्रो बैठकको कार्यसूचीबाट २ देखि ५ सम्मको बुँदा हटाइएको थियो।

चिकित्सा विधेयक टेबुल भएपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो। विधेयकमा संशोधन राख्न चाहनेले राष्ट्रिय सभाको विधेयक शाखामा संशोधन प्रस्ताव राख्न सकिने राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले जनाए। बैठक १७ गतेसम्मका लागि स्थगित गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell