PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेस नेता एवं पूर्वमन्त्री केशरमानमाथि कुटपिट, नेकपाका नेता पनि कुटिए



कांग्रेस नेता एवं पूर्वमन्त्री केशरमानमाथि कुटपिट, नेकपाका नेता पनि कुटिए

रुकुम: पूर्व सहायकमन्त्री तथा काङग्रेसका नेता केशरमान रोकालगायत अन्य चार जनामाथि रुकुमकोटमा कुटपिट गरिएको छ।
 
पूर्वमन्त्री रोकालगायत काङग्रेसका ध्रुव पुन, नेकपाका सतमान पुन र पुनिराज घर्तीमाथि कुटपिट गरिएको हो। रुकुमकोटमा आन्दोलन चलिरहेका बेला बन्दको अवज्ञा गरेको भन्दै कुटपिट गरेको आन्दोलनका सहभागीले बताएका छन्। 

कुटपिटको क्रममा रोकाको घाँटीमा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार गराएपछि उनको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए। रुकुमकोटमा आफू सदरमुकामको विषयमा वार्ता गर्न भनी आएको र आउँदा आफूमाथि आक्रमण भएको पूर्वमन्त्री रोकाले बताए। 

रुकुम (पूर्व) को सदरमुकामको विवाद विचाराधीन रहे तापनि जिल्लामा भने विवाद बढ्दै गएको छ। रुकुमकोट सदरमुकामको पक्षमा आन्दोलनरतले गर्दै आएको आन्दोलन थप सशक्त बन्दै गएको छ। यसैबीच जिल्लाको रुकुमकोटमा शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारिएको छ। रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथाउत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाडामा राख्ने निर्णय गरेको थियो। सो निर्णय विरुद्ध रुकुमकोट र रुकुमकोट आसपासका नागरिक आन्दोलनमा छन्। 

देउवा नेतृत्व सरकारको सो निर्णय विरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो। उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केही शान्त भए पनि यही माघ १४ गतेबाट पुनःआन्दोलनका कार्यक्रम शुरु गरिएको छ। रिट दर्ता भएयता सर्वोच्च अदालतले सरकार र रिट निवेदकलाई पटक÷पटक पेशी र साधारण तरिकाले बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell