उपन्यासकार फ्रान्ज काफ्कालाई अनिद्राले सतायो। कुरा सन् १९१० ताकाको हो। राति निद्रा पर्न छाडेको एक वर्षपछि उनले आफ्नो अनिँदो रातबारे अनुभव लेखे- 'म विश्वस्त छु मेरो लेख्ने बानीका कारण नै म राति सुत्न नसकेको हुँ। थोरै वा खराब जस्तो लेखे पनि मलाई स-साना कुराले अत्यन्त संवेदनशील बनाउँछन्।'
अमेरिकन कवि लिंडा पास्टनले त उनको किताबको नाम नै 'इम्सोनीया' राखिन्। उनी अनिँदो रातहरु बारे अनुभव सुनाउँछिन्, ‘मेरो बुझाइमा 'इन्सोम्निया' शब्दले संघर्षका विभिन्न आयामलाई एकत्रित गर्छ - चेतनाविरुद्धको संघर्ष र त्यहीँ झ्याल बाहिर बढ्दै गरेको अँध्यारोले ममा बढाउँदै लगेको डरविरुद्धको संघर्ष।’
सायद, लेख्ने धेरैले अनिद्रालाई बाँधेर नै राख्छन्।
लेखक नि:शब्दशमशेर राणा पनि अनिद्रामा छन्, काफ्काकै अवस्थामा झै। अनिद्रा छ र त राणाको रचना छ। अनिद्रा नै उनको 'टाइपिस्ट' हो जसलाई उनले कैद गरेरै राखेका छन्।
अनिद्राले निद्रा दान गरेकी हुन्, प्रेमीका लागि। उसको प्रेमी पनि लेखक थियो। उ फ्रान्ज काफ्का, लिंडा पास्टन, नि:शब्द जबरा, कुमार नगरकोटीजस्तै लाग्छ। जसको निद्रा हराएको थियो।
नि:शब्दशम्शेर जबरा (निर शाह)ले आफ्नो नयाँ कथा टाइप गर्नका लागि मात्र अनिद्रा (भुषिता वशिष्ठ) को हातखुट्टा खोलिदिन्छन्। नत्र, अनिद्रा बाँधिएकी हुन्छे, त्यो पनि चिहानमा। बाँधिदा मानिसको स्वतन्त्रता सकिन्छ। चिहानमा पुग्दा मानिसको केही बाँकी नरहने अवस्था हुन्छ। मतलब, अनिद्रा स्वतन्त्र छैन। अनिद्राको केही छैन।
नाटकको सुरुवातमा नेपथ्यमा आवाज सुनिन्छ- ‘टाइपराइटरमा सधैं अरुको कथा लेख्नुपर्दा तिमीलाई दिक्क लाग्दो हो। कहिले काही तिमीलाई पनि आफ्नो कथा लेखुँ लेखुँजस्तो लाग्दो हो।‘
आवाज स्वयंले जवाफ दिन्छ- जिन्दगीले तिम्रो कथा लेखेन। मृत्युले तिम्रो कथा लेख्न सक्दैन।
समाजमा थुप्रै महिला अनिद्राजस्तै छन् जो जन्मदेखि चिहानमा पुग्दासम्म बाँधिएका हुन्छन्। कहिले जिम्मेवारीले बाँधिन्छन्, कहिले बाँध्यताले। उनीहरु दबिएका छन्। आफ्नो कथा लेख्न स्वतन्त्र छैनन्।
स्वतन्त्र त को पो छ र?
लेखक नि:शब्द पनि बाँधिएका छन्, मृत्युको भयमा। नेपथ्यबाट आउने आवाजले उनलाई आफ्नो जीवन अन्त्य हुने आभाष हुन्छ। केही दिन थप बाँच्न 'एक्सपेरिपमेन्टल कथा' लेख्न पर्ने हुन्छ। तर, स्वतन्त्र रहेर आफ्नो अन्तिम कथा लेख्न असमर्थ छन्। त्यसैले नियतिप्रति नि:शब्द हुँदै नि:शब्द मूलधारको कथाभन्दा साइकोलोजिकल थ्रिलर अगाडि बढाउन खोज्छन्। त्यति बेलासम्म उनको शोषक चरित्र पनि समयको अधिनमा कैद भइसकेको हुन्छ। जीवनको अन्तिम कथा बुन्न सुरु गर्छन् उनी अनिन्द्रको साथमा। लाग्छ, उनी अनिन्द्रा बिना अपुरो छन्, असक्षम छन्।
साइकोलोजिकल थ्रिलरमा नायकको भूमिका गौण हुन्छ। त्यसैले उनी खलपात्रको जगमा नयाँ कथालाई स्थापित गर्ने प्रयत्न गर्छन्। उनी पनि खलपात्रजस्तै लाग्छन्। चाहुरिएको स्वरुप स्वीकार्न असमर्थ। आफ्नो मुहारमाथि विश्वास गर्न नसकेपछि हजामको ऐना फुटाउँछन्। पैसा तिर्छन्।
धन हुने धेरैको रवाफ यस्तै छ समाजमा। पैसाको भरमा हरेक चिज आफू अनुकूल बनाउन खोज्छन्। ठीक त्यही बेला अनिद्राले बोल्छिन्, ’ऐना चेन्ज गर्दैमा यथार्थ चेन्ज हुँदैन।‘
लेखक आफ्नो कथा ‘बाथटब’को पात्रमा सिरियल किलर (ब्रजेश खनाल) जन्माउँछन्। सिरियल किलरको सोच उनको शोषक चरित्रको उपज झै लाग्छ। मृत्युसँग लड्ने क्रममा सायद राणा आफूलाई बलिया देखाउन चाहन्छन्।
सिरियल किलर पनि लेखकले निर्धारण गरेको नियतीमा बाँधिएका छन्। उनी आफूले चाहेजस्तो चरित्र निभाउन पाउँदैनन्। लेखकको मानशपुत्र किलर स्वतन्त्र छैन यद्यपि ऊ बिद्रोही बन्छ। सिरियल किलर आफ्नो चरित्र फेर्दै जोगी बन्न चाहन्छ।
तर, मृत्युको संघारमा अन्तिम कथा बुनिरहेका राणालाई त्यो मञ्जुर हुँदैन।
पात्रकै विद्रोहले नाटकमा द्वन्द्व सिर्जना हुन्छ। उनीहरुको द्वन्द्वले दर्शकलाई सोच्न बाध्य बनाउँछ - म को हुँ? मैले चाहे जसरी बाच्न पाइरहेको छु या छैन? मेरो इच्छा अनुरुप गर्न पाइरहेको छु या छैन? सिरियल किलरको आगमन, उसको संवादहरुले पहिचानको खोजीको संकेत गर्छ। जिम्मेवारी वा बाध्यताले बनाएको सिरियल किलर हुनुमा चित्त बुझाउने या क्रान्ति गर्ने? क्रान्ति गरेर जोगी बन्ने या समाजले थमाइदिएको रिभल्बर बोकी हिँड्ने?
पहिचानको खोजी गर्ने धेरै जोगी भएका छन्। पहिचानको खोजी गर्ने धेरैले ज्यान गुमाएका छन्।
तर, रिभल्बर नदेखाइ न्याय पाउने आशा पनि त छैन। पात्रहरु एक अर्कालाई रिभल्बर र चक्कुको धारमा नियन्त्रण गर्न खोज्छन्। यहाँ शक्ति संघर्षको कुरा आउँछ। लेखक आफू सार्वभौम भएको ठान्छ। पात्र आफैँ आफ्नो भूमिका तय गर्न चाहन्छ।
क्रान्ति सजिलो विषय होइन। किनकि ठूलाको विरुद्ध बोल्न मनाही छ, प्रश्न गर्न निषेध। लेखकसँग पात्रले आफ्नो भूमिका परिवर्तनको माग गर्न पाउँदैन।
त्यसैले त पात्रलाई प्रतिप्रश्न गरिन्छ 'तँ जाबोको यत्रो हिम्मत?'
यहाँ लेखकले आफू लेखक त्यही पात्रको कारणले भएको बिर्सन्छ। लेखकले आफ्नै पात्रको रिभल्भर खोस्छ। तर, उ आफ्नै पात्रको हत्या गर्न भने सक्दैन। मानसपुत्रको हत्यारा नबन्न अनिद्राले झक्झक्याउँछे।
यहाँ लेखक र पात्रको अस्तित्वको लडाइको बीचमा फस्छे, टाइपिस्ट अनिन्द्रा। न उनी आफैलाई कैद गर्ने राणाको शब्द परिवर्तन गर्न सक्छे न सिरियल किलरलाई जोगी बनाउन नै।
कथामा मनको आवाजले मानिसहरुमा कति परिवर्तन ल्याउँछ भनेर देखाउन खोजिएको छ। त्यसले त लेखक, सिरियल किलर र अनिन्द्रा तिनै जनालाई बाह्य आवाजले जीवनसँग साक्षात्कार गराउँछ।
अनिन्द्रा आफ्नो निन्द्रामा हराएको प्रेमीलाई सम्झिन्छे। पात्रलाई खुला नछोड्ने राणाको कठोरतालाई बुझ्छे। आफूलाई बन्धनमा पारेर लेखकले नाम कमाइरहेको महसुस गर्छे।
त्यसैले अनिद्राले पनि क्रान्ति गर्छे। उसको सहनशीलताले सीमा नाघ्छ। उ नि:शब्द शम्शेर जबराको क्रुरता र शासक व्यवहारविरुद्ध बोल्छे। यो सब तब हुन्छ जब उसले आफ्नो निद्रमा हराएको प्रेमी निद्राबाट पनि पर चिर निद्रामा हराएको खबर पाउँछिन्, ग्रेभडिगरबाट।
प्रेमीको मृत्युपछि सिरियल किलरले पनि उसलाई सिकाएको हुन्छ- ‘तिमी पनि आफ्नो नियती आफै बनाउनु पर्छ। आफ्नो कथा आफै लेख्नु पर्छ।’
केही दिनमा मृत्युसँग साक्षात्कार गर्ने संघारमा रहेका राणालाई आफैले खनेको चिहानमा पुर्याउँछे अनिन्द्रा। आफ्नो स्वार्थको लागि अनिद्रालाई बाँध्ने उ अनिद्रासँग जिन्दगीको भिख माग्छ।
आत्मविश्वासका साथ आफ्नै बलवुतामा उभिने कति महिला छन् जसले आफ्नो नियती आफै लेखे। आफ्नो कथा आफै लेखे। कोसिस नै नगर्नेहरुको हिसाब धेरै होला। तर, गर्नेहरु पनि उत्तिकै देखिएका छन्।
नाटकको अन्त्यमा दर्शकलाई स्वेरकल्पनाको दुनियाँमा लगेर छोडिन्छ। कुमार नगरकोटीले नाटकको बिट मार्दैनन्, दर्शकको बुझाइका लागि ठाउँ राख्छन्।
जबराको हत्या हुन्छ। उसको अन्तिम कथा पूरा हुँदैन। ऊ समय अगावै बित्छ। विरोधाभाषको अन्त्य हुन्छ। सायद त्यसपछि स्वतन्त्र हुन्छे अनिद्रा। जोगी बन्छ सिरियल किलर, सायद। शासकको अन्त्यले न बन्धन मुक्त बन्छ मान्छे।
नाटक र यथार्थ दुवैमा 'द डेथ अफ द अथर'। यहाँ रोला बार्थको सिद्धान्तले काम गर्छ, नाटकको परिभाषा दर्शककै जिम्मामा छाड्छन् निर्देशक घिमिरे युवराज।
लेखक कुमार नगरकोटीको सर्रियलिजम शैलीमा नाटक तयार गरेका छन् जसले जीवन र मरणबीच भोग्न पर्ने विविध परिस्थितिहरुको चर्चा गर्छ। पात्रहरु भन्छन् ‘जीवन र मृत्यु खराब लेखक हुन्।’ त्यसैले होला सबैको जिन्दगीको स्क्रिप्ट उस्तै हुँदैन, उत्रै हुँदैन।
आफू प्रतिकूल केही सुन्न नसक्ने समाजलाई मौनताको चिहानका रुपमा व्याख्या गर्छ नाटकले।
नाटकले हाम्रो सामाजिक दृष्टिकोणमाथि प्रश्न गर्छ। मञ्चमा जे जति देखिन्छन्, त्यो भन्दा परसम्म सोच्न वाध्य पार्छ। भन्छ, ‘मानिस सपना र विपनाको दशगजामा उभिएको छ।’ यसले सोचाइ र देखाइभन्दा परको सीमा संकेत गर्छ।
कुमार नगरकोटीको प्रयोगात्मक नाटकलाई बलियो रुपमा उभ्याएको छ, निर्देशन र अभिनयले। रङ्गमञ्चमा निर शाहको ३५ वर्षपछिको कमब्याक। शाह सशक्त प्रस्तुत भएका छन्। डायलग डेलिभरीमा उनको स्पष्टता र कमान्ड प्रशंसनीय लाग्छ। भूषिता वशिष्ठको पहिलो नाटक, उनको प्रस्तुति दर्शकको संवेदनासँग जोडिन्छ। बहुआयामिक देखिन्छिन् उनी। पत्रकार, लेखक, कविमात्र होइन, अभिनयमा पनि उनी छाएकी छिन्। ब्रजेश खनाल बेजोड लाग्न सक्ने अझै ठाउँ थियो।
घिमिरे युवराजले नगरकोटीको कथा मञ्चमा भन्न बलियो शैली अपनाएका छन्। उनले सेटमा गरेको प्रयोगात्मक प्रयासहरु फरक र सशक्त लाग्छ।
दाना टेबुलमा झार्दा आउने आवाजबाट टाइपराइटरको धुन कम्पोज गर्नु एउटा उदाहरण हो प्रयोगको। प्लास्टिकका दाना अनिद्राको हातबाट खसेर टेबलभरी असरल्ल छरिए, त्यसरी नै कथा छरियो। छरिएरै पूर्णविराम लागेन। त्यहाँबाट निर्देशकले दर्शककै जिम्मामा छाडे - नाटकलाई जताबाट जसरी बुझ्छौ, बुझ।
‘ट्रान्जिस्नल म्युजिक’हरुको प्रयोगले नाटकलाई थप सशक्त बनाएको छ। अनिद्राको प्रेमीको खबरपछि बज्ने त्यो शून्यताको धुन। टाइपराइटरको खिटखिट। जात, वर्ग, आस्था, विश्वास, चेतना र मस्तिष्कको चिहान संकेत गर्ने त्यो भयावह संगीत। यी पार्श्व धुनहरुले पात्र र दर्शक दुवैको मनोदशामा छाप पार्छ।
यो अति यथार्थवादी नाटक नेपाली रङ्गमञ्चको लागि देन हो। प्रयोगात्मक नाटकको थोरै मात्र प्रयास हुने ठाउँमा उठाइएको रिस्क।