PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकार स्थानीय तहको अधिकार खोस्ने दुस्प्रयासमा लागिरहेको छ : बाबुराम



सरकार स्थानीय तहको अधिकार खोस्ने दुस्प्रयासमा लागिरहेको छ : बाबुराम

लमजुङ: नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरुको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भइरहेको बताएका छन्।

पुष्पलाल लोकमार्गमा सञ्चालित एक महिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले भने, 'इतिहासको कथा सुनाएर विकास हुँदैन, कि आफूले क्षमता विकास गर्न सक्नुपर्‍यो नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्‍यो। मात्र कुर्सी ओगटेर देशलाई पछाडि नधकेलौं।'

उनले हिजो लडाईं र क्रान्तिमा अब्बल देखिएका नेताहरु विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको आरोप लगाए। भट्टराईले प्रश्न गरे 'कतै हाम्रा नेताहरुसँग विकास र समृद्धिको आधारभूत ज्ञानको समेत अभाव भएको त होइन ?'

आउँदा केही दशकहरु असाध्यै महत्वपूर्ण हुने भन्दै राजनीतिक नेतृत्वले यसलाई ध्यान दिन नसक्दा मुलुक थप पिछडिने उनको तर्क थियो।

'क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारीहरु सत्तामा पुगेपछि विचलित हुने रहेछन्,' उनले भने, 'आन्दोलनमा ज्यानै दिन तयार हुनेहरु सत्तामा पुगेपछि जनता विरुद्ध काम गर्न थाल्दा रहेछन्, सत्ताको चास्नीमा डुब्नेरहेछन्। भ्रष्टाचार र ठूला काण्डहरुमा मुछिने रहेछन्।'

हिजो कुन हैसियतमा भएका मानिस आज कुन हैसियतमा पुगे भन्ने कुरा जनताले निरन्तर खबरदारी गर्नुपर्नेमा भट्टराईको जोड थियो। भने, 'जनताको हस्तक्षेप र निगरानी बढाउने लोकतन्त्रको विकल्प छैन।' लोकतन्त्रको विकल्प निरंकुशता हुन नसक्ने उनको तर्क थियो।

'असल राजनीति अर्थात् राजनीतिलाई सफा गर्ने कुरा कुनै अलौकिक कुरा होइन, यो लोकतन्त्रलाई बलियो बनाउने कुरा हो र नागरिकको भूमिकालाई बलियो बनाउने काम हो,' संविधान निर्माणका प्रसंगहरु स्मरण गर्दै भट्टराईले भने, 'संविधानमा हामीले स्थानीय तहका २२ वटा अधिकार लेखेकै छौं। यस्तो अभ्यास संसारमा कतै पनि छैन।'

उनले वर्तमान सरकारले स्थानीय तहको अधिकार अहिले खोस्ने दुस्प्रयास गरिरहेको आरोपसमेत लगाए। 'स्थानीय जनप्रतिनिधिले आफ्नो पार्टी भनेर चुप नबस्नुस्। संविधानले दिएको अधिकार लिन यहाँहरुले भूमिका खेल्नैपर्छ,' भने,'जनतालाई कमजोर बनाउन खोज्ने नेताहरु लोकतन्त्रवादी हुन सक्दैनन्।'

जनता जति बलियो हुन्छन्, अधिकारसम्पन्न हुन्छन्, लोकतन्त्र त्यति नै बलियो हुने र राजनीति त्यति नै सफा हुने भट्टराईको भनाइ थियो। 'एक दुई जना वा केही मुट्ठीभर मानिसहरु बलियो हुने व्यवस्थाको नाम जे दिए पनि त्यो निरंकुश नै हुन्छ,' उनले भने।

भ्रष्टाचार र अलोकतन्त्र क्यान्सरको संज्ञा दिँदै डा बाबुरामले थपे,'अरुलाई लाग्दा राम्रो आफूलाई लाग्दा नराम्रो भन्ने सोच सबैले त्यागौं। मुलुकमा ठूला ठूला काण्डहरु घटिरहेका छन्। तर आफ्नो नेताले गरेको भन्नुभयोर तपाईंहरु चुप लाग्नुभयो भन्नुभयो यो देश बिगार्न नेताको मात्र होइन, तपाईंहरुको पनि भूमिका हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell