काठमाडौं: भारतले हवाई क्षेत्र उल्लंघन गरी भारतीय भूमि प्रवेश गर्न खोजेको एक पाकिस्तानी विमानलाई खसालेको दाबी गरेको छ। भारतीय संचार माध्यमहरुका अनुसार तीन पाकिस्तानी विमानहरुलाई भगाउन सफल भएको बताइएको छ।
काश्मिरका केही स्थानहरुमा समेत गोलीबारीका घटनाहरु भइरहेको बताएको छ।
यस्तै भारतले पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तानी भूमि प्रवेश गरेको दुई भारतीय विमानलाई खसालेको दाबी झुटो रहेको बताएको भारतीय संचारमाध्यमहरुले दाबी गरेको छ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनरल असिफ घफुरले ट्वीट गर्दै एउटा विमान आजाद जम्मू काश्मिरमा र अर्को विमान भारत नियन्त्रित जम्मू काश्मिरमा खसेको जानकारी दिएका छन्। उनले एक जना भारतीय पायलटलाई नियन्त्रणमा लिएको समेत बताएका थिए।
आज बिहान भारतको जम्मू कश्मिर भारतीय वायु सेनाको एमआइ - १७ विमान दुर्घटना भएको बताइएको थियो। दुर्घटना भएको विमान पाकिस्तानले नै खसालेको हुन सक्ने अनुमान गरिएको थियो। तर भारतीय पक्षले भने प्राविधिक त्रुटिका कारण सो विमान दुर्घटना भएको दावी गरेको छ।
दुई देशबीच भइरहेको हवाई कारवाहीका कारण भारत र पाकिस्तानका तर्फबाट हुने हवाई उडानहरु रद्द गरिएको छ।
मंगलवार भारतले फेब्रुअरी २४ मा पुलवामामा भएको आक्रमणको बदला स्वरुप पाकिस्तानमा जैश ए मोहम्मदको शिविर रहेको स्थानमा बम आक्रमण गरेको दाबी गरेको थियो।
पाकिस्तानले भने भारतले लाइन अफ कन्ट्रोल पार गरेको र आफ्नो वायु सेनाले भारतीय विमानलाई भगाउन सफल भएको बताएको थियो। भारतको सर्जिकल स्ट्राइकपछि पाकिस्तानले भारतलाई 'सप्राइज जवाफ' दिने बताइएको थियो।