काठमाडौं: चितवनको देवघाटमा तीस फिट अग्लो अष्ठ धातुको शिवको मूर्ति बन्ने भएको छ। त्यसका लागि देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले काठमाडौंको पशुपतिमा महोत्सव गर्ने भएको छ।
अष्टधातुको मूर्तिसहित देवघाटमा बन्ने धार्मिक संग्रहालयका लागि रकम संकलन गर्न वैशाख १ गते देखि पशुपति महोत्सव तथा अष्टधातु संकलन श्रीमद्भागवत विराट ज्ञान महायज्ञ हुन लागेको हो।
तीस फिट अग्लो तामा, पित्तल, चरेस, ढलोट, सुन, चाँदी र सिसा मिश्रित अष्ट धातुको मूर्तिसहित बगैंचा निर्माणका लागि पशुपति क्षेत्रको सुमार्गी भवन प्राँगणमा आयोजना हुने महायज्ञ ११ गतेसम्म चल्ने छ। महायज्ञमा पंडित ईश्वर कृष्णजी महाराजले कथा प्रवचन गर्ने महायज्ञ आयोजक समितिका संयोजक भरत पाण्डेले जानकारी दिए।
महायज्ञबाट ८ करोड बराबरको रकम, अष्टधातु संकलन गर्ने उनले जानकारी दिए।
महायज्ञका क्रममा सामूहिक ब्रतबन्ध, तुला दान, १ करोड दीप प्रज्ज्वलन, ग्रह शान्ति र तीन करोड वेलपत्र अर्पण गरिने छ। बेलपत्र अर्पणबाट मात्र तीन करोड रुपैयाँ संकलन गरिने लक्ष्य राखिएको संयोजक पाण्डेले जानकारी दिए।
कस्तो हुने छ शिव मूर्ति?
महायज्ञबाट सकंलित रकमले शिव मूर्तिसँगै शिव मूर्तिको अन्डरग्राउन्डमा पूजा घर र धार्मिक संग्रहालय पनि स्थापना गर्ने उद्देश्य प्रतिष्ठानले लिएको प्रतिष्ठानका महासचिव मदनराज मिश्रले जानकारी दिए।
यसका अलावा नारायणी नदीको पानीलाई पम्पिङ गरी भगवान शिवको मूर्तिको जटाबाट पैतला हुँदै उक्त पानीलाई कुण्डमा संकलन गरिने छ। सो पानीलाई ११ वटा गौमुखी धारा बनाइ स्नान गृह बनाइने छ।
मूर्तिमा सबै धातु प्रष्ट चिनिने गरी देखिने छन्। मूर्ति निर्माण गर्न ३३ लाखमा माटोको नमुना र डाइ तयार भएको छ। सो काम ३३ लाख रुपैयाँमा सम्पन्न भएको हो। त्यस्तै तयार भएको डाइमा धातु पगाली भर्न एक करोड ७० लाख लाग्ने अनुमान गरिएको छ। त्यस्तै मूर्तिलाई पूर्ण आकारमा तयार गर्न ८० लाख लाग्ने अनुमान गरिएको छ।
शिवमूर्ति तल रहने पूजा घर र संग्रहालय निर्माणका लागि १ करोड ५० लाख, यात्रु विश्राम गृहका लागि २ करोड २५ लाख तथा रमणीय पार्कका लागि १ करोड २५ लाखको लागत अनुमान गरिएको महासचिव मिश्रले जानकारी दिए। यसका लागि प्रदेश नं ३ बाट चालु आर्थिक वर्षमा ५० लाख रकम विनियोजन भएको छ।
मूर्तिसँगै बाँदर पार्कदेखि धार्मिक वनसम्मको परिकल्पना
शिवको मूर्तिको चारैतिर रमणीय पार्क र बालमैत्री पार्क पनि बन्ने छ। त्यस्तै नि: शूल्क र सशुल्क र अत्याधुनिक १०० शैय्या क्षमताको यात्रु विश्राम गृह कटेज आकारमा तयार गरिने छ।
सोही स्थान नजिकै नारायणी नदी किनारमा पैदल मार्ग र नजिकै रमणीय बाँदर पार्कसमेत निर्माण हुने छ। देवघाट क्षेत्रमा पशुपति, गुहेश्वरी र स्वयम्भुनाथबाट बाँदर नियन्त्रणमा लिई छाड्ने गरिएको छ। यी बाँदरले स्थानीयबासी, देवघाटमा रहेका आश्रममा बस्ने वृद्धवृद्धालाई दुख दिने गरेका छन्। यी बाँदर नियन्त्रणका लागि पार्क बनाउन लागिएको प्रतिष्ठानले जनाएको छ।
देवघाट क्षेत्रभित्र रहेको १.४७ हेक्टर वन क्षेत्रमा यी संरचना बन्ने छन्। यी संरचना बनाउँदा कुनै पनि रुख नकाटिने प्रष्तिष्ठानका महासचिव मिश्रले जानकारी दिए। वन क्षेत्रलाई धार्मिक वनको रुपमा भोगचलन गर्नका लागि स्विकृतिका लागि मन्त्रिपरिषद्मा वन मन्त्रालयले प्रस्ताव लगिसकेको छ।
त्यस्तै बाँदर पार्कका लागि प्रदेश ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आगामी वर्षमा रकम विनियोजन गर्ने गरी प्रस्ताव तयार भएको छ।