PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राजनीतिक संकटका बीच भेनेजुएलामा लोडसेडिङ, खानेपानीको खोजी गर्दै मानिसहरु सडकमा निस्किए

राजनीतिक संकटका बीच भेनेजुएलामा लोडसेडिङ, खानेपानीको खोजी गर्दै मानिसहरु सडकमा निस्किए


काराकस: भेनेजुएलाको राजधानी काराकस र अन्य शहरहरुमा विगत एक हप्तादेखि लोडसेडिङ भइरहेको छ। बिजुली कटौतीको समस्यासँगै भेनेजुएलियनहरु अहिले खानेपानीको खोजीमा छन्।

घरमा पानी पुर्‍याउने पम्पहरुले बिजुलीको कटौतीका कारण पानी ढुवानी गर्न छोडेका छन्।

केही स्थानमा छोटो समयका लागि बिजुली आउँदा त्यहाँका बासिन्दाहरुले थोरै भएपनि पानी जम्मा गर्न सफल रहे। तर बांकी क्षेत्रमा एक हप्तादेखि मानिसहरु खानेपानी र बिजुलीको आशमा दिन काटिरहेका छन्।

काराकसमा मानिसहरु प्लास्टिकका बोटल र भाडाहरु भर्न सडकमा निसकिएका दृश्य देख्न सकिन्छ। पार्कहरुमा रहेका सार्वजनिक धारा र सडकमा रहेका धाराहरुमा पानी भर्न मानिसको लाम छ।

मानिसहरु सडकमा जम्मा भएको पानी बाल्टिन र जारमा भरिरहेको तस्विर सार्वजनिक भएका छन्।

जनवरी २३मा भेनेजुएलाका विपक्षी नेता जुआन गुइएदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेसँगै आर्थिक संकटले गुज्रिरहेको भेनेजुएला थप संकटमा परेको हो।

राष्ट्रपति निकोलस मडुरोले बिजुली कटौती हुनुमा विपक्षी दललाई दोष दिएका छन्। उनले बिजुली स्टेसनमा विपक्षीलाई सहयोग गरिरहेको अमेरिकाले 'इलेक्ट्रोम्याग्नेटिक र साइबर अट्याक' गरेको आरोप लगाएका छन्।

यता, विपक्षी दलले बिजुली कटौतीलाई सरकारको रणनीतिका रुपमा व्याख्या गरेको छ। 

मडुरोलाई चीन, टर्की र रसियाको समर्थन रहेको छ भने जुआनलाई अमेरिका,युरोपियन युनियन, ब्राजिल,कोलम्बिय लगायतका राष्ट्रले अन्तिरम राष्ट्रपतिको मान्यता दिइसकेको छ। 

राष्ट्रपति मडुरोले जुआनलाई समर्थन गरेका राष्ट्रहरुले भेनेजुएलाको आन्तिरक मामिलामा हस्तक्षेप गरेको बताउँदै यसबाट भेनेजुएलियनहरुले दुख पाएको बताएका छन्। 

 फोटो:EPA/GETTY IMAGE/ REUTERS/AFP


ट्रेन्डिङ पोस्ट

Ncell