![पुलवामा घटनाका 'नाइके' मसुदलाई आतंककारी घोषणा गर्न रोक्यो चीनले: मोदी सि जिनपिङसँग डराएको राहुलको आरोप, मसुदको काठमाडौं कनेक्सन यस्तो](https://pahilopost.com/assets/upload/contentthumb/maulana-masood-azhar.jpeg)
फेब्रुअरी १४ मा भारतको जम्मू काश्मिरस्थित पुलवामामा आत्मघाती आक्रमण हुँदा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भयो। भारतले त्यसको जिम्मेवारी पाकिस्तानमा सक्रिय रहेको जैश ए मोहम्मदमाथि लगाउँदै आएको छ। त्यसयता दुई देशबीचको सम्बन्ध झनै चिसियो।
भारतले आक्रमणको जिम्मेवार मानेको जैशका नाइके मसुद अजहरलाई 'अन्तर्राष्ट्रिय आतंककारी' घोषणा गर्दै प्रतिबन्ध लगाउने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा लगेको थियो। तर चीनले भारतको उक्त प्रस्ताव अस्वीकृत गरिदियो र भारतको योजनामा ब्रेक लाग्यो।
चीनले मसुदमाथि प्रतिबन्ध लगाउने खोजेको यो चौथोपटक थियो। चीनले चारैपटक भारतको प्रस्ताव अस्वीकृत गरेको हो।
चीनले भारतको उक्त प्रस्तावको थप अध्ययन गर्न समय लाग्ने भन्दै भिटो प्रयोग गर्दै प्रस्ताव स्थगित गराउन आग्रह गरेको थियो।
भारतले भने चीनको उक्त कदमको विरोध गरेको छ। पाकिस्तानको निकट सहयोगी मानिने चीनले मसुदलाई यसरी नै बचाउदै आए भारतले 'वैकल्पिक बाटो' अपनाउन आफूहरु विवश हुने प्रष्ट पारेको छ।
चीनले प्रस्ताव स्थगित गरेसँगै भारतभर चीनको विरोध भएको छ। भारतीयहरुले सामाजिक संजालमा चिनियाँ सामाग्रीहरु बहिस्कार गर्न आह्वा समेत गरेको बुझिएको छ।
यसबाट चीनलाई दबाब पर्ने भारतीयहरुको सोचाइ रहेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। तर चीन भारतको व्यापारिक साझेदार रहेको भन्दै विश्लेषकहरुले भने यस किसिमको कार्य गरे भारतलाई नै घाटा हुने र अर्थतन्त्रमा नकरात्मक असर पर्ने उल्लेख गरेको छ।
यता, निर्वाचनको संघारमा रहेको भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि मसुदलाई 'अन्तर्राष्ट्रिय आतंकवादी' घोषणा गर्न चीनसँग पहल नगरेको भन्दै आलोचना भएको छ।
भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले ट्वीट गर्दै 'कमजोर मोदी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग डराएको' भन्ने तर्क गरेका छन्।
Weak Modi is scared of Xi. Not a word comes out of his mouth when China acts against India.
— Rahul Gandhi (@RahulGandhi) March 14, 2019
NoMo’s China Diplomacy:
1. Swing with Xi in Gujarat
2. Hug Xi in Delhi
3. Bow to Xi in China https://t.co/7QBjY4e0z3
चीनले भारतविरुद्ध गरेका कार्यहरुमा मोदीले एक शब्द नबोलेको भन्दै राहुलले मोदीको चीनसँगको कुटनीति गुजरातमा सीसँग पिङ खेल्नु, सीसँग दिल्लीमा अंकमाल गर्नु र चीनमा सी सामु निहुरिनुमा सीमित रहेको आरोप लगाएका छन्।
भारत सरकारले भने पाकिस्तानले आतंकवादी संस्थाहरुविरुद्ध कारवाही नगरेसम्म कुनै वार्ता नहुने बताएको छ। भारतका विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई 'स्टेटम्यान' भन्ने गरेको सुनेको भन्दै मुसदलाई भारतलाई हस्तानतरण गरेर 'स्टेटम्यानसिप' देखाउने चुनौती दिएकी छिन्।
#WATCH EAM Sushma Swaraj in Delhi: We are ready to engage with Pakistan in atmosphere free from terror. Some people say Imran Khan is a statesman, if he is so generous then he should hand over JeM chief Masood Azhar to India. Let's see how generous he is. (13.03) pic.twitter.com/kgnDfv8gOY
— ANI (@ANI) March 14, 2019
मसुद अजहरसँग काठमाडौंको कनेक्सन
५० वर्षे मसुद सन् १९९४ मा भारतमा नक्कली कागजात बनाइ प्रवेश गरेका थिए। उनलाई त्यही सालको फेब्रुअरीमा पक्राउ गरी आतंकवादी गतिविधि गरेको आरोपमा जेल सजाय सुनाइएको थियो।
सन् १९९९ मा काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण गरी मसुद अजहरलाई रिहा गर्न माग गरिएको थियो।
विमानलाई अपहरण गरी अफगानिस्तानको कानदहर शहर पुर्याइएको थियो। त्यसबेला सो क्षेत्रमा तालिबानी शासन रहेको थियो। बन्धकहरुको बदलामा मसुदसँगै तीन आतंकवादीलाई रिहा गर्न माग भएको थियो।
आतंकीको माग बमोजिम त्यसबेला मसुद लगायत अन्य आतंकीलाई रिहा गरिएको थियो। विमान अपहरणकर्तालाई मसुद हस्तानतरण गरेपछि उनी पाकिस्तान गएको र जैश ए मोहम्मद गठन गरेको बताइन्छ।
रिहा भएको केही समयपछि कराँचीमा आयोजित सभालाई सम्बोधन गर्दै 'भारतलाई धवस्त नबनाएसम्म मुस्लिमहरु शान्तिसँग बस्न नसक्ने' भनेर सम्बोधन गरेको भारतको दाबी छ।
उनले आजाद काश्मिरलाई आधार बनाइ आतंकवादी संगठन संचालन गर्दै आएको बताइन्छ।
सन् २००१ मा भारतको संसदमा गरिएको आक्रमण, २००८ मा मुम्बइको ताज होटलमा भएको आक्रमण र २०१६ मा पठानकोटमा भएको आक्रमणमा समेत जैश ए मोहम्मदको संलग्नता रहेको भारतीय दाबी छ।
त्यसैले, भारतले पहिलादेखि नै मसुदलाई आतंकवादी सूचीमा राख्दै आएको छ र सुरक्षा परिषदबाट उनलाई आतंकवादी घोषणा गर्न प्रस्ताव गर्दै आएको छ। तर चीनले भारतको प्रस्तावविरुद्ध भिटो प्रयोग गर्दै आएको छ।
भारतले पुलवामा घटनापछि पाकिस्तानमा जैशको लडाकू शिविरमा आक्रमण गरेको बताएको थियो। भारतले आक्रमणको क्रममा शिविरमा रहेको जैशका कमान्डर र लडाकूहरु मारिएको दाबी गरेको थियो। तर भारतले त्यसको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।