PahiloPost

Apr 23, 2019 | १० बैशाख २०७६

भीमसेन लिङ्गलाई बोक्ने मान्छे भेट्नै धौ-धौ, यसरी जेनतेन जोगियो यस वर्ष भक्तपुरको मौलिक फागु


भीमसेन लिङ्गलाई बोक्ने मान्छे भेट्नै धौ-धौ, यसरी जेनतेन जोगियो यस वर्ष भक्तपुरको मौलिक फागु

  • सहयोग रञ्जित/राजन श्रेष्ठ-

बुधबार बेलुकी करिब ६ बजे।

भक्तपुरको तचपालमा रहेको दत्तात्रय स्क्वायरको माहौलपहिलाजस्तै सामान्य थियो। फागुमा रंगिएका केही अनुहारहरु त्यहाँ देखिन्थे। तर तिनीहरुलाई त्यहीँ रहेको भीमसेन मन्दिरको इतिहासले तान्न सकिरहेको थिएन। उनीहरु अनभिज्ञ थिए भक्तपुरको मौलिक फागु बारे।

हामीले केही स्थानीयलाई सोध्यौँ कति बजे हुन्छ त जात्रा? केही स्थानीयहरुले जवाफ फर्काए- कुन जात्रा? यहाँ जात्रा हुँदैन।

उनीहरुलाई थाहा नहुनु स्वभाविक पनि हो। भीमसेन र द्रौपदीको कथा उनीहरुले सुनेका थिएनन्। थाहा भएकाले केहीले 'लाजको घुम्टो' जो ओढेका थिए।

त्यही लाजले जगतप्रकाश मल्लका पालामा सुरु भएको यो परम्परा जेनतेन चलिरहेको छ, लोप हुने संघारमा पुगिसकेको छ।

केही वर्ष अघिसम्म दत्तात्रय मन्दिर र भीमसेन मन्दिर रहेको तचपालमा फागु खेल्नेको घुँइचो लाग्थ्यो। फाल्गुन शुक्ल अष्टमीका दिन भीमसेन मन्दिरको पाटीमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकका रुपमा काठले बनेको लिङ्ग र योनी आकृति बनाई प्वाल बनाइएको रातो कपडाको पूजा गरिन्थ्यो।

यौन सम्बन्धी जानकारी दिने हेतुले अष्टमीदेखि एक सातासम्म भीमसेन मन्दिरको पाटीमा बसेर गायजुहरुले भीमसेन र द्रौपदीको यौन समागमका गीत गाउँथे।

सम्बन्धित समाचार : भीमसेन र द्रौपदीको के देखाइयो यस्तो ! भक्तपुरमा मनाइने फागुको फरक स्वरुप जसबारे धेरैलाई थाहै छैन

तर हाल मल्लकालीन संस्कृतिमा व्यापक परिवर्तन आएको छ। पाटीमा समागमका गीत सुनिँदैनन्।

स्थानीयहरु त्यसलाई मानिसको जीवनशैलीमा आएको परिवर्तन,व्यस्तता र गुठीहरुको असक्रियताको उपज ठान्छन्।

यस्तै, फागु पूर्णिमाका दिन भने मन्दिरमा झुण्डाइएको लिङ्गलाई ब्रह्मायणी नदी लगी स्नान गराएर मन्दिरमा पुन: ल्याउने परम्परा रहेको छ।

तर, विगत केही वर्षदेखि लिङ्गलाई अष्टमीमा निकालेर पूर्णिमामा स्नान गराएर ल्याउनसमेत हम्मेहम्मे पर्दै आएको थियो।

बुधबार बेलुकीको दृश्यले पनि संस्कृति संचालनमा आएको समस्या प्रस्ट हुन्थ्यो।

बेलुकी करिब पौने ६ बजे सुनसान बन्दै गरेकोदत्तात्रय स्क्वायरमा केही चहलपहल बढ्यो।

स्थानीय १० जना युवकदत्तात्रय मन्दिर अगाडि रहेको भीमसेन मन्दिर प्रवेश गरे। पहिलो तल्लामा झुण्डयाइ राखेको प्रतिकात्मक रुपमा निर्मित काठको भीमसेनलिङ्ग निकाले।

तचपालकै ३४ वर्षीय रविन्द्र लाछिमस्युले भीमसेन मन्दिरको माथिल्लो तल्लाबाट काठले बनेको भीमसेनको प्रतिकात्मक लिङ्ग बोकेर ओर्लिए। पहिला भने मन्दिरको पाटीमा सार्वजनिक रुपमा नै योनी र लिङ्गको समागम प्रदर्शन गरिन्थ्यो।

त्यसपछि एकाएक दत्तात्रय परिसरको माहौलमा उमंग छायो। मानिसहरुको आँखा लाछिमस्युले बोकेको लिङ्ग मै जान्थ्यो।

लाछिमस्युले आफ्नो बायाँ काँधमा लिङ्ग बोकी तचपाल, च्यामासिंह हुँदै ब्रह्मायणीतिर अघि बढे। उनलाई साथ दिइरहेका केहीले यस वर्षका लागि अन्तिम पटक फागुको गीत गुनगुनाए:

‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः मा:,

व ल्यासे मदयकं जा हे मनया,

अबिरया होली तंचाया ला ल्यासे,

अबिरं छगुं ख्वा: हिसि दयेका बी’

(झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ,अबिरको होली, रिसायौ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि)

१० जनाको समूहसँगै हामी पनि ब्रह्मायणी पुग्यौं।

लाछिमस्युले भीमसेनको प्रतिकात्मक लिङ्गलाई खोलामा स्नान गराए। लिङ्गमा रहेको अबिरका रंग सफा गरे। कसैले नदेख्ने गरी लिङ्गलाई खास्टोले बेर्दै बायाँ काँधमा बोके र ब्रह्मायणी मन्दिर परिक्रमा गराए। मन्दिर परिक्रमा गर्दै गर्दा लाछिमस्यु र अन्य केहीले बिस्का: सम्बन्धी भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लले लेखेको गीतको दुई लाइन गुन्गुनाए:

'थथिं जा:गु रसबस तोलताव

राम हं जि गन वने' हस्टे हाइस्टे….

(यस्तो रसबस छोडेर हे राम म कहाँ जाउ..)

लिङ्गलाई स्नान गराएपछि फागुका गीत बन्द हुन्छन्। भक्तपुरका दाफाहरुमा गुञ्जिन्छ बिस्का: सम्बन्धी रसबसका घातु लगायतका गीतहरु।

खास्टोले छोपेको लिङ्ग बोकीपुन: सोही बाटो हुँदै उनी भीमसेन मन्दिर पुगे। मन्दिरको रेखदेख गर्दै आएकी केशरी कपालीलाई काठको लिङ्ग हस्तान्तरण गरे। यस मन्दिरमाआफ्नो अन्तिम वर्ष हुन सक्ने बताउने कपालीले लिङ्गलाई काठले पुरानो बाकसमा राखिन्। सबै जना मन्दिरबाट विदा भए।

यसपटक पनि लिङ्गलाई ब्रह्मायणीसम्म लग्न पहिला झैँ गाह्रो परेको थियो।

३४ वर्षीय रविन्द्र लाछिमस्यु दिउँसो काठमाडौंमा फागु मनाउन आएका थिए। दिनभरी वसन्तपुरमा साथीभाइसँग फागु मनाएका उनी साँझ आफ्नो घर फर्किए भक्तपुरको तचपालमा।

आज फागु पूर्णिमाका दिन,  लिङ्गलाई ब्रह्रमायणी लग्नुपर्ने थियो।

मन्दिरको रेखदेख गर्दे आएको कपाली परिवार लिङ्गलाई कसरी ब्रह्मायणी लग्ने भन्ने दुविधा मै थियो। उनीहरुले केही उपाय नदेखेपछि दत्तात्रय मन्दिर नजिकै रहेको धारामा लगेर लिङ्ग स्नान गराउने सोचे। तर, लाछिमस्यु लगायत केही स्थानीययुवाले त्यसमा विरोध जनाए।

गत वर्ष पनि लाछिमस्यु लगायतकै सक्रियतामा जात्रा सम्पन्न भएको थियो। यसपटक भने उनी आफैले लिङ्ग बोकेर स्नान गराई फिर्ता ल्याए।

लाछिमस्यु यो परम्परा वर्षौ पुरानो रहेको र करिब १२ वर्ष अघिबाट मन्दिरको पाटीमा गीत बज्न छाडेको सुनाउँछन्। फागुमा गीत गाउने लगायत भीमसेन मन्दिरमा विभिन्न पूजाहरु गर्ने गुठीका गुठीयारहरुले गुठीको नामको जग्गा सबै व्यक्तिगत नाममा कायम गरेपछि मल्लकालबाट सुरु भएको भक्तपुरको मौलिक फागु संकटमा परेको बताउँछन्।

नेपालमै कतै पनि नभएको भिन्न फागुको परम्परालाई जीवन्त बनाउन र भावी पुस्तालाई यसबारे जानकारी दिन आफूहरु मिलेर केही वर्ष यता लिङ्गलाई स्नान गराई जात्रा समापन गर्ने परम्परालाई निरन्तरता दिएको लाछिमस्युको तर्क छ।

पछिल्ला वर्षहरुमा उनी अरुलाई लिङ्ग बोक्न आग्रह गर्थे। यसपटक पालाहरुले लिङ्गलाई धारामा पखाल्ने बताएपछि भने आफैंले यो संस्कृतिलाई निरन्तरता दिएको उनी बताउँछन्।

संस्कृतिविद् ओम धौभडेलका अनुसार पहिला लिङ्गलाई स्नान गराउन लैजानका लागि मानिसहरुको लाम लाग्थ्यो। अहिले भने विरलै परम्परा धान्न सक्रिय भइरहेका छन्।

'मानिसहरुको आस्थाको कुरा हो। पहिला लिङ्ग बोकी खोलामा लगेर स्नान गरेर ल्याउने व्यक्तिलाई सुख अनुभूति हुने र छोरा प्राप्त हुने कथन थियो। अहिले हामी भने जात्रा नरोकियोस् भन्ने हेतुले यो पर्व जोगाउने प्रयासमा छौं'लाछिमस्यु भन्छन्।

भीमसेनको लिङ्गलाई बाकसमा बन्द गरी मन्दिरमा राखिएपछि भक्तपुरमा अब बिस्का: का गीत संगीत गुञ्जिनेछन्। वसन्त ऋतुको सन्ध्यामा चैतको मसान्तको दिन भक्तपुरको भेलुखेलमा लिङ्गो ठ्डयाएपछि भक्तपुरमा बिस्का: जात्रा विधिवत् रुपमा सुरु हुन्छ।

थप फोटो समाचारः काठको भिमसेन लिङ्ग काँधमा बोक्दै घुमाउँदै ब्रह्मायणीमा पखालेपछि सकियो भक्तपुरको होली



भीमसेन लिङ्गलाई बोक्ने मान्छे भेट्नै धौ-धौ, यसरी जेनतेन जोगियो यस वर्ष भक्तपुरको मौलिक फागु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट