ग्वाटेमाला सिटीः ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राति भएको सडक दुर्घटनामा परी कम्तीमा ३० ग्वाटेमाली नागरिकको मृत्यु भएको छ।
यात्रुबाहक बस अर्को एक सानो ट्रकसँग ठोक्किंदा सो दुर्घटना भएको उद्धारकर्मीहरुले जानकारी दिएका छन्। उक्त दुर्घटना पश्चिमी शहर नहुआला शहरको प्रवेशद्वारमा भएको थियो।
उक्त शहरमा केही हजार मात्र व्यक्तिको बसोवास रहेको छ। यस दुर्घटानामा परी मृत्यु हुनेमा अधिकांश त्यहाँका आदिवासी समुदायका नागरिक रहेका छन्।
त्यस दुर्घटनामा करिब ३० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। घाइतेहरुलाई स्थानीय अस्पताल पु¥याइएको बताइएको छ।
दुर्घटनापछि ट्रक चालक फरार रहेको जनाइएको छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उनका कारण नै सो दुर्घटना हुन पुगेको बताएको छ।
मध्यअमेरिकी देश ग्वाटेमालामा यस्ता दुर्घटनाहरु सामान्यजस्तै भएका छन्। सवारी चालकहरुले ट्राफिक नियमको उल्लङ्घन गर्ने गरेका छन्।
यहाँका सार्वजनिक सवारी चालकहरुले पनि ट्राफिक नियम उल्लङ्घन गरी दुर्घटना गराउने र भाग्ने गरेका हुन्छन्। पछिल्ला समयमा उक्त देशमा सडक दुर्घटनाहरु यही कारणले पनि बढ्ने गरेको बताइन्छ। रासस/एएफपी